सुन्दरहरैचामा सुकुम्बासीमाथि डोजर नचलाउन स्थानीय सरकारलाई सभापति तामाङको आग्रह

सुन्दरहरैचा (मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको संवेदनशील समयमा भूमिहीन तथा सुकुम्बासी परिवारहरूको घरटहरा भत्काउने कार्य तत्काल रोक्न सरकार तथा स्थानीय तहसँग आग्रह गरेका छन्।

उनले मानवीय संवेदनशीलता, सामाजिक उत्तरदायित्व र दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना बिना गरिने कुनै पनि बल प्रयोगले विपन्न नागरिकलाई थप पीडामा धकेल्ने बताएका छन् ।

सभापति तामाङले सरकारको निर्देशन वा दबाबमा सुन्दरहरैंचा नगरपालिकाले कुनै स्पष्ट नीति, उचित विकल्प तथा पुनर्स्थापनाको योजना नबनाई भूमिहीन तथा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने तयारी गर्नु गैरजिम्मेवार, अव्यावहारिक र जनभावनाविपरीत कदम भएको टिप्पणी गरेका छन्।

उनले वर्षायामको समयमा घरबारविहीन बनाइएका परिवारले खुला आकाशमुनि कष्टकर जीवन बिताउन बाध्य हुने अवस्था सिर्जना हुन सक्ने भन्दै सम्बन्धित निकायलाई समयमै गम्भीर बन्न आग्रह गरेका छन्।

तामाङले भूमिहीन र सुकुम्बासी समस्या केवल डोजर लगाएर समाधान नहुने उल्लेख गर्दै वास्तविक पीडितहरूको पहिचान, उनीहरूको सामाजिक तथा आर्थिक अवस्थाको अध्ययन, उचित व्यवस्थापन र सुरक्षित पुनर्स्थापनाको स्पष्ट खाका तयार गरेर मात्र अगाडि बढ्नुपर्ने धारणा राखेका छन्। “समस्या समाधानको नाममा गरिने अमानवीय व्यवहारले सामाजिक असन्तोष बढाउँछ, त्यसैले संवेदनशील र व्यावहारिक निर्णय आवश्यक छ,” उनले बताएका छन्।

उनले प्रभावित परिवारहरूको अवस्था नजिकबाट बुझ्न, उनीहरूसँग संवाद गर्न र दीर्घकालीन समाधानको बाटो खोज्न सरकार, स्थानीय तह तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्। साथै, विपन्न नागरिकको आश्रय खोस्ने होइन, उनीहरूको जीवन सुरक्षित र सम्मानजनक बनाउने दिशामा राज्य अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सभापति तामाङको यस अभिव्यक्तिसँगै सुन्दरहरैंचामा भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनको विषय फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा आएको छ। स्थानीयस्तरमा समेत यस विषयमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ भने प्रभावित समुदायले आफ्नो बसोबासको सुनिश्चितता र न्यायपूर्ण व्यवस्थापनको माग गर्दै आएका छन्। अहिले सबैको चासो सरकार र स्थानीय तहले यस विषयलाई कसरी सम्बोधन गर्छन् भन्नेमा केन्द्रित बनेको छ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

बिनाविकल्प हटाइए प्रतिकार: पोखराका सुकुमबासी