विकास बैंकको नाफामा उल्लेख्य सुधार, मुक्तिनाथ अग्रस्थानमा



काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘राष्ट्रिय स्तर’ को इजाजत प्राप्त ८ वटा विकास बैंकहरूले संयुक्तरूपमा ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्ममा विकास बैंकहरुले यो नाफा आर्जन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिमा आर्जित ३ अर्ब ६९ करोड रुपैयाँको तुलनामा करिब ४९ दशमलव ०४ प्रतिशतले बढी हो ।

बैंकहरूको नाफामा देखिएको यो उछालले विकास बैंकहरू अब वाणिज्य बैंकहरूभन्दा कम नरहेको देखिएको छ । ब्याज आम्दानीमा सामान्य सुधार, इम्पेयरमेन्ट चार्जमा उल्लेख्य गिरावट, सञ्चालन खर्चमा नियन्त्रण तथा नियामकीय सहुलियतका कारण बैंकहरूको समग्र नाफामा सुधार देखिएको विश्लेषण गरिएको छ ।

खुद नाफाका आधारमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत वृद्धि गर्दै मुक्तिनाथले आफ्नो वर्चस्व कायम राखेको हो ।

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाउँदै बलियो प्रतिस्पर्धा प्रस्तुत गरेको छ । गरिमाको नाफा पनि अघिल्लो वर्षको तुलनामा ४२ दशमलव ९१ प्रतिशतले बढेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले करिब ७८ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ भने कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ज्योति विकास बैंकको नाफा ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गर्दा लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफा वृद्धिदरका आधारमा लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको नाफा १ हजार २८ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ, जुन समग्र बैंकिङ क्षेत्रमा नै असाधारण वृद्धि हो । अघिल्लो वर्ष अत्यन्त न्यून नाफा आर्जन गरेको लुम्बिनीले यस वर्ष प्रावधान खर्च घटाएर र ब्याज आम्दानी बढाएर उल्लेखनीय सुधार गरेको हो ।

लुम्बिनीले अघिल्लो वर्ष करिब ९५ करोड रुपैयाँ प्रावधानमा राखेको थियो भने चालु वर्षमा यस्तो प्रावधान घटाएर करिब २४ करोड रुपैयाँमा सीमित गरेको छ । यसले नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिएको छ ।

तेस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरूको कुल खुद ब्याज आम्दानी १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव २४ प्रतिशतले बढी हो ।

सबै बैंकहरूको ब्याज आम्दानी वृद्धि भएको देखिए पनि वृद्धिदर अत्यधिक नभएको विश्लेषकहरू बताउँछन् । यद्यपि, कर्जा विस्तार र ब्याजदर व्यवस्थापनले आम्दानीमा सकारात्मक योगदान दिएको छ ।

विकास बैंकहरूको नाफा वृद्धिमा सबैभन्दा ठूलो भूमिका इम्पेयरमेन्ट चार्ज घट्नुले खेलेको देखिएको छ । गत आर्थिक वर्षको तुलनामा सबै बैंकले कर्जाको सम्भावित जोखिमका लागि छुट्याउने रकम घटाएका छन् ।

महालक्ष्मी विकास बैंकको इम्पेयरमेन्ट चार्ज सबैभन्दा धेरै ८७ दशमलव २२ प्रतिशतले घटेको छ । त्यसैगरी ज्योति विकास बैंकको ७७ दशमलव २८ प्रतिशत, लुम्बिनी विकास बैंकको ७४ दशमलव ४३ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ दशमलव १९ प्रतिशत र गरिमा विकास बैंकको ४५ दशमलव ४७ प्रतिशतले यस्तो चार्ज घटेको छ ।

यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको २६ दशमलव ८४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको २४ दशमलव ९७ प्रतिशत र कामना सेवा विकास बैंकको ९ दशमलव ७५ प्रतिशतले इम्पेयरमेन्ट चार्ज घटेको छ ।

नाफा वृद्धि भए पनि विकास बैंकहरूको खराब कर्जा (एनपीएल)मा अपेक्षित सुधार भने देखिएको छैन । नेपाल राष्ट्र बैंकका अनुसार ५ प्रतिशतभन्दा माथिको एनपीएललाई जोखिमपूर्ण मानिन्छ ।

समीक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल सबैभन्दा बढी ७ दशमलव ८७ प्रतिशत पुगेको छ । ज्योति विकास बैंकको एनपीएल ७ दशमलव ८३ प्रतिशत रहेको छ भने महालक्ष्मी विकास बैंकको ६ दशमलव ५९ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास बैंकको एनपीएल ६ दशमलव ४९ प्रतिशतमा झरेको छ भने शाइन रेसुंगाको ४ दशमलव ९२ प्रतिशत पुगेको छ । मुक्तिनाथ विकास बैंकको एनपीएल ४ दशमलव ८८ प्रतिशत, गरिमा विकास बैंकको ४ दशमलव ७७ प्रतिशत र कामना सेवा विकास बैंकको सबैभन्दा कम ४ दशमलव ४० प्रतिशत रहेको छ ।

विशेषगरी सांग्रिला र ज्योति विकास बैंकको एनपीएल उच्च रहेकोले ती बैंकहरूको कर्जा गुणस्तरमा चुनौती देखिएको विश्लेषण गरिएको छ ।

बैंकहरूको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि सुधार आएको छ । गरिमा विकास बैंकको ईपीएस सबैभन्दा बढी २३ दशमलव २१ रुपैयाँ पुगेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ईपीएस २० रुपैयाँ ९३ पैसा रहेको छ भने लुम्बिनी विकास बैंकको २० रुपैयाँ ६७ पैसा पुगेको छ । कामना सेवा विकास बैंकको ईपीएस २० रुपैयाँ०५ पैसा रहेको छ भने ज्योति विकास बैंकको १९ रुपैयाँ ०९ पैसा पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ईपीएस १७ रुपैयाँ ३० पैसा रहेको छ भने मुक्तिनाथ विकास बैंकको १५ रुपैयाँ ७१ पैसा र महालक्ष्मी विकास बैंकको १३ रुपैयाँ ५९ पैसा रहेको छ ।
विकास बैंकहरूको लाभांश वितरण क्षमतामा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा लुम्बिनी विकास बैंकको लाभांश क्षमता सबैभन्दा बढी १७ दशमलव ४० प्रतिशत रहेको छ ।
कामना सेवा विकास बैंकको १४ दशमलव १५ प्रतिशत, गरिमा विकास बैंकको १३ दशमलव ८९ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १२ दशमलव ५० प्रतिशत लाभांश क्षमता रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ७ दशमलव ०४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको ७ दशमलव ०२ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३ दशमलव २५ प्रतिशत लाभांश क्षमता रहेको छ ।
तर ज्योति विकास बैंकको लाभांश क्षमता भने ९ दशमलव ८९ प्रतिशत ऋणात्मक देखिएको छ ।

वित्तीय सूचकहरू हेर्दा राष्ट्रिय स्तरका विकास बैंकहरूले केही वाणिज्य बैंकहरूलाई समेत उछिनेको छ । खुद नाफा, वितरणयोग्य नाफा, एनपीएल, लाभांश क्षमता र पुँजी पर्याप्तता जस्ता सूचकहरूमा विकास बैंकहरू सबल देखिएका हुन् ।

यसैंगरी प्राथमिक पुँजीकोष अनुपात पनि सन्तोषजनक रहेको छ । औसत अनुपात १० दशमलव ७६ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम ८ दशमलव ५ प्रतिशतभन्दा माथि हो ।

महालक्ष्मी विकास बैंकको पुँजी पर्याप्तता सबैभन्दा बलियो १३ दशमलव ६४ प्रतिशत रहेको छ भने ज्योति विकास बैंकको ८ दशमलव ५३ प्रतिशत मात्र रहेकोले दबाबमा देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना