सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचामा भूमिहीन तथा सुकुम्बासी बस्तीमाथि डोजर चलाएर हटाउने चर्चा चुलिरहेका बेला नगरप्रमुख केदारप्रसाद गुरागाईले सुकुम्बासीको पक्षमा उभिने स्पष्ट संकेत दिएका छन्। उनले “यदि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने त्यसविरुद्ध उठ्ने आन्दोलनको नेतृत्व म स्वयं गर्छु” भन्दै सार्वजनिक रूपमै प्रतिबद्धता जनाएका हुन्।
आज नगरपालिकामा पुगेका भूमिहीन तथा सुकुम्बासी समुदायका प्रतिनिधि तथा आन्दोलनरत स्थानीयलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईले बस्ती हटाउने विषयलाई केवल प्रशासनिक निर्णयको रूपमा नभई मानवीय संवेदनशीलतासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताए। उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकको वैकल्पिक व्यवस्थापनबिनै जबर्जस्ती हटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
नगरप्रमुख गुरागाईका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङबाट सुकुम्बासी बस्ती हटाउने सम्बन्धमा पत्र आएको छ। सोही विषयमा थप स्पष्ट बुझ्न र समाधानमुखी छलफल गर्न मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई सुन्दरहरैंचा नै ल्याएर सरोकारवालाबीच विस्तृत संवाद गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
उनले समस्याको समाधान बल प्रयोग वा डोजरको माध्यमबाट नभई संवाद, समन्वय र न्यायोचित व्यवस्थापनमार्फत खोजिनुपर्नेमा जोड दिए। “जनताको आवास, बसोबास र आधारभूत जीवनसँग गाँसिएको विषयमा एकपक्षीय निर्णय हुन सक्दैन,” उनले भने, “स्थानीय सरकार नागरिकको अभिभावक हो, पीडामाथि थप पीडा थोपर्ने पक्षमा हामी छैनौं।”
नगरप्रमुखको यो अभिव्यक्तिसँगै आन्दोलनरत भूमिहीन तथा सुकुम्बासी समुदायमा केही आशा पलाएको देखिएको छ। उनीहरूले पनि आफूहरूलाई वैकल्पिक बसोबासको सुनिश्चितता नगरी विस्थापित गर्ने प्रयास भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिँदै आएका छन्।
सुन्दरहरैंचामा पछिल्लो समय सुकुम्बासी बस्ती व्यवस्थापनको विषय राजनीतिक, सामाजिक र मानवीय बहसको केन्द्र बनेको छ। अब जिल्ला प्रशासन, स्थानीय सरकार र प्रभावित समुदायबीच हुने छलफलले यो विषय कुन मोडमा पुग्छ भन्ने चासो बढेको छ।
सम्बन्धित समाचार
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली
मलेसियामा नेपाली श्रमिकको हत्या, सहकर्मीले नै लिए ज्यान
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम
काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौंका सुकुम्वासी बस्तीमा शनिबारबाट डोजर
निर्जीवन बिमा व्यवसाय उत्साहजनक
सरकारको सम्पर्कमा पुगे काठमाडौंका १८१६ सुकुमबासी परिवार






