रसुवा । यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको छ ।
हिमाली गाउँमा कृषि तथा पर्यटनलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले स्थानीय व्यवसायीले माछापालन सुरु गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटल परिसरमै ट्राउट माछापालन सुरु गरिएको हो । होटल सञ्चालक तथा माछापालक सुजन तामाङका अनुसार पाहुनाको रूचिअनुसार ताजा माछाका परिकार ख्वाउन थालेपछि पर्यटक आकर्षित भएका छन् ।
समुद्र सतहदेखि करिब २६०० मिटर उचाइमा रहेको चिसोपानीमा पालिएको रेन्बो ट्राउट माछा अन्य स्थानको भन्दा स्वादिलो भएको माछाका पारखी मार लामा तामाङ बताउँछन् ।
काठमाडौंबाट दैनिक बस सेवा सञ्चालनमा आएकाले ज्येष्ठ नागरिक, विद्यार्थी तथा प्रकृति अध्ययनमा रुचि राख्ने युवाका लागि गतलाङ पुग्न सहज बनेको छ । मिश्रित वनस्पति, जैविक विविधता र हिमाली वातावरणको अवलोकन गर्न युवापुस्ता बढी आकर्षित हुन थालेको स्थानीयवासीले बताएका छन् । गतलाङमा होमस्टेसमेत सञ्चालन हुन थालेका छन् ।
तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने गतलाङ हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ उत्पादित सिमीको दाल, सिस्नुको तरकारी, मकै र फापरको ढिँडोजस्ता स्थानीय परिकारसँगै ताजा ट्राउट माछाले पर्यटकलाई विशेष स्वाद दिलाउन थालेको छ । स्थानीय फुर्पु तामाङका अनुसार गतलाङ पुग्ने अधिकांश पर्यटक खुसी र सन्तुष्ट भएर फर्कने गरेका छन् ।
सम्बन्धित समाचार
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
पर्सा महासंघ पनि आन्दोलित, सरकारी निर्णय फिर्ताको माग
रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
जथाभाबी पार्किङ गर्ने सवारी साङ्लोमा बाँधिएपछि…
फोटोबाट गुल्मी चिनाउँदै दिनेश
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले






