अन्धकारमै बझाङ !

आफ्नै आँगनमा हाइड्रो, घरभित्र अन्धकार
राष्ट्रिय प्रसारण लाइन जोडिए पनि किन हटेन विद्युत् संकट ?
पानी प¥यो कि अन्धकार : बझाङमा विद्युत् सेवा कि मजाक ?

बझाङ । अधिकांश समय बझाङ सदरमुकाम चैनपुर अन्धकारमा डुब्ने गर्छ । मोबाइलको ब्याट्री सकिन्छ, इन्टरनेट बन्द हुन्छ, खानेपानी रोकिन्छ, अस्पतालका सेवा प्रभावित हुन्छन् । होटलका फ्रिज बन्द हुन्छन्, डेरीका दूध कुहिन थाल्छन्, मासु पसलमा राखिएको मासु बिग्रिन्छ । विद्युत् सेवा अवरुद्ध हुँदा बझाङमा बत्तीमात्रै निभ्दैन, यहाँको जनजीवन नै ठप्प हुने गरेको छ ।

राष्ट्रिय प्रसारण लाइन पुगेपछि बझाङ उज्यालो हुने आशा गरिएको थियो । तर, वास्तविकता उल्टो देखिएको छ । सामान्य वर्षा, हावाहुरी वा हिमपातले समेत जिल्लालाई पटकपटक अन्धकारमा धकेलिरहेको छ । राज्यले ‘लोडसेडिङ अन्त्य’ घोषणा गरे पनि बझाङका नागरिक अझै मध्ययुगीन अन्धकार झेल्न बाध्य छन् ।

डडेल्धुरा र बैतडीका विभिन्न जंगल क्षेत्रमा वर्षासँगै रुख ढल्दा राष्ट्रिय प्रसारण लाइनका पोल र तारमा क्षति पुग्ने गरेको छ । कतै पोल ढल्छन्, कतै तार च्यातिन्छन्, कतै पहिरोले लाइन बगाउँछ । फलस्वरूप बझाङ बारम्बार विद्युत्विहीन बन्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बझाङका अनुसार दुर्गम भूगोल, निरन्तर वर्षा र पहिरोका कारण मर्मतमा खटिएका प्राविधिकले ज्यान जोखिममा राखेर काम गर्नुपर्छ । जंगलबीच ढलेका रुख हटाउने, पोल ठड्याउने र तार जोड्ने काम घण्टौंदेखि दिनौंसम्म लम्बिने गरेको छ । अझ ‘विद्युत् कहाँ बिग्रिएको हो ?’ भन्ने ‘फल्ट’ पत्ता लगाउनै धेरै समय लाग्ने गरेको प्राविधिकको भनाइ छ ।

वितरण केन्द्रका प्राविधिक विनोद बोहराका अनुसार जंगलबीच ठूला–ठूला रुख ढल्छन्, पानी निरन्तर परिरहन्छ । पोल व्यवस्थापन गरेर तार जोड्नै समय लाग्छ ।‘रातदिन, बिहान–बेलुका केही भन्न पाउँदैनौं, न राम्रोसँग सुत्न पाइन्छ, न त खान नै, कहिले यता बिग्रिन्छ, कहिले उता,’ उनी भन्छन्, ‘एकपटक आराम गर्ने समय पनि हुँदैन । कहिलेकाहीँ परिवारसँग बस्नसमेत पाइँदैन । फोनको घण्टी बजिहाल्छ अनि जतिसुकै रात भए पनि कुद्नुपर्छ । यही हाम्रो दैनिकी हो । तर, नागरिकले धन्यवाद दिनुको सट्टा सामाजिक सञ्जालदेखि विभिन्न व्यक्तिबाट गाली खानुपरेको छ ।’

अन्धकारले रोकिएको जनजीवन
विद्युत् सेवा बन्द भएपछि बझाङमा सबैभन्दा पहिले सञ्चार सेवा ठप्प हुन्छ । रेडियो प्रसारण प्रभावित हुन्छ, मोबाइल चार्ज नहुँदा मानिसहरू आफन्तसँग सम्पर्कविहीन हुन बाध्य हुन्छन् ।

स्थानीय पुष्कर दौल्यालका अनुसार बत्ती बन्द भएपछि इन्टरनेट सेवासमेत अवरुद्ध हुन्छ । ‘सरकारी तथा गैरसरकारी कार्यालयदेखि बैंकसम्मका काम रोकिन्छन् र जनजीवन अस्तव्यस्त बन्छ, बत्ती नभएपछि कार्यालय, पसल र व्यवसाय नै बन्दजस्तै हुन्छ,’ उनले भने, ‘कम्प्युटर, प्रिन्टर, इन्टरनेट केही चल्दैन । पसल बन्द गरेर बस्नुको विकल्प हुँदैन ।’

सरकारी कार्यालयका कर्मचारी कम्प्युटर नचल्दा फाइल थन्क्यााएर बस्न बाध्य हुन्छन् । सेवाग्राही दिनभर लाइन बसेर खाली हात फर्किनुपर्ने अवस्था छ । त्यसमाथि झ्याप्प–झ्याप्प बत्ती जाने–आउने समस्याले लाखौं मूल्यका विद्युतीय उपकरण नष्ट भइरहेका छन् ।
दौल्याल आफ्नो कम्प्युटर र फोटोकपी मेसिन पटकपटक बिग्रिएको बताउ“छन् । इन्टरनेट उपकरण, फ्रिज तथा उद्योगका मेसिन पनि जलेर बिग्रिने गरेको उनको गुनासो छ । समाजसेवी तथा व्यापारी शिवराज शर्मा भन्छन्, ‘एकपटक भोल्टेज बढ्दा मेरा फोटोकपी मेसिन, ल्यापटप र कम्प्युटर जलेर कामै नलाग्ने भएका छन् । कमाउनभन्दा मर्मतमै बढी खर्च हुन्छ । यो विद्युत् सेवाले व्यापारीलाई ठूलो घाटा दिएको छ ।’

अस्पतालमा उपचार संकट
जिल्ला अस्पताल बझाङमा विद्युत् अवरुद्ध हुँदा स्वास्थ्य सेवा नै संकटमा पर्ने गरेको छ । लामो समय बत्ती नहुँदा एक्स–रे, भिडियो एक्स–रे, अक्सिजन, नेबुलाइजर तथा आकस्मिक सेवासमेत प्रभावित हुने गरेको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख सन्दीप ओखेडा बताउ“छन् । ‘विद्युत् नहुँदा शल्यक्रिया गर्नदेखि अक्सिजन चलाउनसम्म समस्या हुन्छ,’ उनले भने, ‘यसको प्रत्यक्ष असर बिरामीमाथि पर्छ ।’ विद्युत् अनियमितताले स्वास्थ्य संस्था समेत असुरक्षित बन्नु राज्यको गम्भीर विफलता भएको स्थानीय आरोप छ ।

उद्योग व्यवसाय धराशायी
बझाङमा विद्युत् अनियमितताले साना तथा मझौला उद्योग सबैभन्दा बढी मारमा परेका छन् । ग्रिल उद्योग, कुटानी–पिसानी मिल, फर्निचर उद्योग, बेकरी तथा डेरी व्यवसाय बारम्बार ठप्प हुने गरेका छन् । ‘उद्योग खोल्ने कि बन्द गर्ने भन्ने अन्योल हुन्छ । कामको चाप भए पनि हात बाँधेर बस्नुपर्छ, होटल व्यवसायी फ्रिज चलाउन नसक्दा खाद्य सामग्री बिग्रिने समस्याबाट पीडित छन्,’ फर्निचर उद्योग व्यवसायी राजेशबहादुर बोहरा भन्छन् ।

डेरी सञ्चालक दूध र दही भण्डारण गर्न नसकेर घाटा बेहोरिरहेका छन् । मासु पसलले बिक्री नभएको मासु फाल्नुपरेको गुनासो गरेका छन् । विद्युत् नियमित नहुँदा लगानी डुब्ने डर बढेको छ ।

विडम्बना : विद्युत् उत्पादन जिल्लामै अन्धकार
बझाङकै बुंगल नगरपालिकामा तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । अपर कालंगा जलविद्युत् आयोजना
(३८.४६ मेगावाट), अपर सानीगाड जलविद्युत् आयोजना (१०.७० मेगावाट) र कालंगा जलविद्युत् आयोजना (१५.३३ मेगावाट) गरी कुल
६४.४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तर, त्यही पालिकाका नागरिक भने अन्धकारमा बस्न बाध्य छन् ।
अपर कालंगा, अपर सानीगाड र कालंगा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । तर, स्थानीयले त्यसको प्रत्यक्ष लाभ पाउन नसकेको स्थानीय बासिन्दा सुरेश धामी बताउ“छन् ।
समाजसेवी तथा पत्रकार सुरेश धामी आफ्नै घरआँगनमा बिजुली उत्पादन हुने तर त्यही हाइड्रोको अगाडिको घरमा अन्धकार हुने सुनाउ“छन् । ‘योभन्दा ठूलो विडम्बना के होला ? हाम्रो जिल्लाबाट देशलाई बिजुली जान्छ, तर हामीले बत्ती पाउँदैनौं,’ उनी भन्छन्, ‘यो राज्यको चरम बेवास्ता हो ।’

आशा अझै बाँकी छ ?
राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै बझाङमा सबस्टेसन निर्माण, वितरण केन्द्र स्थापना र लाइन विस्तारका काम भने निरन्तर भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कालंगामा निर्माणाधीन सबस्टेसनको काम करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालय प्रमुख दिनेश पौडेलले जानकारी दिए । ‘सबस्टेसन बनेपछि लामो दूरीको समस्या घट्ने छ,’ उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा कहाँ फल्ट भएको हो भन्ने कुरा छिटो पत्ता लगाउन सकिनेछ । त्यसपछि नागरिकले सहजरूपमा विद्युत् सेवा पाउने छन् ।’

यता, स्थानीय भने आश्वासन सुन्दै थाकिसकेका छन् । समाजसेवी तथा सेती क्याम्पसका प्राध्यापक लक्ष्मण गरीले भने, ‘हामीलाई अब भाषण होइन, नियमित बिजुली चाहिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत