अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को अवमूल्यन गरेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन्।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले संसद्कै अवमूल्यन हुने गरी सांसदहरूलाई धम्क्याएको आरोप पुनले लगाएका हुन् ।

संसद्मा बोल्दै नेता पुनले अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेको कुरा संसद्मै स्विकारेर आर्थिक अपराध र संसद्को मानहानि गरेको जिकिर गरे। उनले ‘पुराना र नयाँ’ भन्ने भाष्य खडा गरेर विषयान्तर गर्दैमा अर्थमन्त्रीले गरेको अपराध लुक्न नसक्ने बताए । अघिल्लो वर्ष पनि करको दर हेरफेर भएको भन्ने अर्थमन्त्री वाग्लेको भनाइलाई उद्धृत गर्दै पुनले विगत र वर्तमान सबैको पालामा भएका यस्ता घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे।

‘अर्थमन्त्रीजीलाई हामीले शंकाको लाभ दिएका थियौँ। संसद्मा पनि शून्य समय र विशेष समयमा विभिन्न कुराहरू उठेका थिए,’ पुनले भने, ‘सार्वजनिक लेखा समिति र आर्थिक विधेयकमाथिको छलफलमा अर्थमन्त्रीले जसरी जवाफ दिए, त्यसले सार्वभौम संसद् र समितिको अवमूल्यन भएको छ। सांसदहरूलाई धम्क्याउने कोसिस भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ।’

कार्यपालिका र त्यसका सदस्यहरू संसद् तथा संसदीय समितिहरूप्रति जबाफदेही हुनुपर्नेमा जोड दिँदै पुनले सांसदहरूले उठाएका जिज्ञासा र स्पष्टीकरणका कुरालाई आरोपका रूपमा मात्र लिएर पन्छिन नमिल्ने बताए । ‘अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरेँ भनेर खुलमखुला स्विकारेका छन्, यो आर्थिक अपराध हो,’ उनले थपे, ‘हामीले अपराध गर्‍यौँ भनेका थिएनौँ, जिज्ञासा मात्र राखेका थियौँ। तर, उनले धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ ? भने । यो संसद्को मानहानि हो।’

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

अग्निपीडित परिवारलाई रु दुई लाख सहयोग