रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा ३ जना पक्राउ

जलेश्वर । जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका–११ बस्ने शत्रुधन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटना घटेकै दिनदेखि फरार रहेका उनीहरुमध्ये तीन जनालाई पक्राउ गरेका छन् भने नन्द र नन्दका पति अझै फरार रहेको तथा उनीहरुको खोजतलास भइरहेका प्रहरी प्रवक्ता गोलेले बताए ।

२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति ८ बजेको समयमा आफ्नै दुईतले पक्की घरको आफू सुत्ने कोठामा पङ्खा झुण्ड्यिाउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइती पक्षले उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए ।

मृतक रिङ्कुका बुबा शत्रुधनले छोरीका पति शशिले अर्को बिहे गरेपछि घरमा विवाद सुरु भएको पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको र छोरीलाई लामो समयदेखि पटक पटक कुटपिट, गालीगलौज, शारीरिक यातनाका साथै घर निकाला गरिदिने धम्की दिँदै आएको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा ३ जना पक्राउ