पार्टीसत्ता र शक्तिमोहले नेकपाभित्र ‘उकुसमुकुस’

काठमाडौं । विभिन्न २५ भन्दा बढी कम्युनिस्ट घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा नेतृत्वको उकुसमुकुसले विवाद बढ्दै गएको छ । ‘सत्ता र शक्ति’को मोहले पुराना नेताहरू सर्वोच्च पद (अध्यक्ष–संयोजक) गुम्ने भयले एक आपसमा दोषारोपणमा उत्रिने गरेका छन् ।

गत २१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने बहस सुरु भएको छ । यही बहस अहिले नेकपामा पनि जारी छ । पुनर्गठित नेकपाभित्र शीर्ष नेताहरूको असीमित शक्तिमोह र पदको तानातानका कारण आन्तरिक उकुसमुकुस चरम उत्कर्षमा पुगेको छ ।

पार्टीका तीन शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालबीचको शक्ति संघर्षले पार्टी विभाजन र कार्यकर्ता पलायनको नयाँ खतरासमेत निम्त्याएको छ । प्रचण्ड अहिले नेकपाको संयोजक, नेपाल सहसंयोजक तथा खनाल वरिष्ठ नेता छन् ।

पछिल्लो समय वरिष्ठ नेता खनालले संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै ३६ बुँदे असन्तुष्टि पत्र बुझाएपछि पार्टीभित्रको यो आन्तरिक कलह औपचारिकरूपमै सतहमा आएको छ । खनालले पत्रमार्फत दुवै नेताको राजीनामासमेत माग गरेका छन् ।

पुराना नेताहरूका लागि नेतृत्वमा रहनु केवल पदको विषय नभई आफ्नो राजनीतिक अस्तित्व जोगाउने अन्तिम रक्षाकवच बनेको छ । विगत साढे तीन दशकदेखि पार्टीको मियो बन्दै आएका प्रचण्ड नेतृत्वबाट बाहिरिँदा आफ्नो राजनीतिक अवसान हुने भय र त्रासमा छन् । अर्कोतर्फ, एमालेमा १५ वर्ष पार्टीको नेतृत्व गर्दै एकछत्र राज गरेका र हालै आफ्नो पार्टी विलय गराएर नेकपामा सहसंयोजक भएका माधव नेपाल पनि आफ्नो गुट र बार्गेनिङ शक्ति गुम्ने डरले शीर्ष स्थान छोड्न तयार छैनन् ।

कम्युनिस्ट आन्दोलनमा नीति र सिद्धान्तभन्दा ‘वरीयता’ ठूलो बन्ने रोग नेकपामा फेरि दोहोरिएको छ । प्रचण्ड र माधव नेपालको आपसी ‘सेटिङ’ का कारण आफू तेस्रो वरीयतामा खुम्चिनुपरेको भन्दै वरिष्ठ नेता खनालले सार्वजनिकरूपमै ‘आफू खोरमा थुनिएको जस्तो महसुस भएको’ आक्रोश पोखेका छन् । कम्युनिस्ट लिगेसीको सिनियर नेता हुनुको अहम् र वरीयताको यही टकराबले पार्टीलाई गतिहीन बनाएको छ ।

हाल एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीलाई बुटवल महाधिवेशनबाट पराजित गर्दै खनाल एमाले अध्यक्षमा निर्वाचित भएका थिए । प्रचण्ड, नेपाल, खनाल तीनै जना नेता पार्टीको प्रमुख नेतृत्वसहित पूर्वप्रधानमन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसकेका नेता हुन् ।

पार्टीको सर्वोच्च पदमा रहँदा राज्यसंयन्त्र र कानुनी निकायहरूमाथि राजनीतिक दबाब सिर्जना गर्न सजिलो हुने भएकाले पनि नेताहरू नेतृत्व हस्तान्तरण गर्न मानिरहेका छैनन् । खनालले आफ्नो असन्तुष्टि पत्रमा भ्रष्टाचार र गम्भीर कानुनी विवादको भारी बोकेका माधव नेपाललाई कुन नैतिकताका आधारमा सह–संयोजक बनाइयो भनी प्रश्न उठाउनुले नेतृत्वको संरक्षणमा हुने कानुनी प्रतिरक्षाको खेललाई प्रस्ट पार्छ ।

तीनै जना नेतामा आफू नै कम्युनिस्ट आन्दोलनको एकमात्र संवाहक भएको ‘मेसियोनिक कम्प्लेक्स’ (मसिहा भ्रम) हाबी देखिन्छ । प्रचण्ड आफूलाई गणतन्त्रको जन्मदाता र माधव–झलनाथले आफूलाई परिपक्व संसद्वादी नेता ठान्छन् । नयाँ पुस्ता वैचारिकरूपमा अपरिपक्व छ र आफूले छोड्ने बित्तिकै आन्दोलन नै समाप्त हुन्छ भन्ने आत्मकेन्द्रित सोचका कारण दोस्रो तहका नेताहरूले अवसर पाउन सकेका छैनन् ।

यी नेताहरूले दशकौँदेखि आफ्नो फेरो समात्ने गुट निर्माण गरेका छन् । तर आफ्नो विकल्प बन्न सक्ने सक्षम उत्तराधिकारी कहिल्यै जन्मन दिएनन् । जब–जब युवा पुस्ताले नेतृत्वको दाबी गर्छ, तब–तब पुराना नेताहरू एकापसमा मिल्ने वा पार्टी नै फुटाइदिने रणनीति अख्तियार गर्दै आएका छन् । जसले गर्दा नेकपाभित्र युवा पुस्ताको नेतृत्व विकासमा पूर्णविराम लागेको छ ।

वरिष्ठ नेता खनालको ३६ बुँदे पत्रले औँल्याए जस्तै शीर्ष नेताहरूको यही प्रवृत्तिका कारण नेकपाका आम कार्यकर्तामा ‘तीव्र निराशा र दिशाहीनता’ छाएको छ । आगामी महाधिवेशन र स्थानीय निर्वाचनको मुखमा पार्टीभित्र चुलिएको यो आन्तरिक उकुसमुकुसले कम्युनिस्ट आन्दोलनलाई फेरि अर्को शर्मनाक पराजय र विभाजनको मोडमा पु¥याउने खतरा बढेको छ ।

एमाले र नेकपाबीच पार्टी एकताका लागि संवाद र छलफल पनि चलिरहेको छ । एकता प्रक्रियाले अझै मूर्तरूप लिइसकेको छैन । तर एमाले अध्यक्ष ओली, नेकपा संयोजक प्रचण्ड, सहसंयोजक नेपालसहितका नेताहरूले छिट्टै पार्टी एकता गर्नुपर्नेमा जोड गरेका छन् ।

पार्टी एकताको गृहकार्यसँगै नेकपा संयोजक प्रचण्डले एकताको महाधिवेशनलाई सफल बनाउन लागेका छन् । नेकपाले आगामी ११ देखि १५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यसैले आगामी स्थानीय तहको निर्वाचन तथा पार्टीका आन्तरिक महाधिवेशनहरू अगाडि नै ठोस सहमति जुटाउने र पार्टी एकतालाई निष्कर्षमा पु¥याउने गरी नेताहरू संवादमा छन् ।

प्रचण्ड र माधवलाई राजीनामा दिन झलनाथको सुझाव
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललाई राजीनामा गर्न सुझाव दिएका छन् । नेतृत्व छोडेर नयाँपुस्तालाई जिम्मेवारी दिनुपर्नेमा खनालले जोड गरेका छन् ।

संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवासमेत गरेका छन् । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने ठोकुवासमेत गरेका छन् । आफूलाई नेकपाको सदस्य भन्दै खनालले अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएको जनाएका छन् । उनले यसलाई वैचारिकरूपमा असंगत र दिशाहीन दस्ताबेज भएको टिप्पणी गरेका छन् ।

उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोपसमेत लगाएका छन् ।

नेता खनालले आफू गत कात्तिकमै एकताको पक्षमा नभएको बताएका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँगको एकतामा आफू तयार नभएको उनले उल्लेख गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १९ कात्तिक २०८२ मा एकता घोषणा भएको थियो ।

‘तपाईं (प्रचण्ड) लगायत धेरै नेता कमरेडहरूको आग्रहका आधारमा म एकताबद्ध भएको हुँ,’ खनालले भनेका छन्, ‘म सधैँ बाम एकताको पक्षमा, एउटा एकीकृत पार्टी निर्माणको पक्षमा वकालत गर्दै आएको नेता हुँ । तर म त्यो कात्तिकमा नै एकताका पक्षमा थिइनँ । त्यो भन्दा चार वर्षअघि माधवजीले एमाले पार्टी विभाजन गरेर बनेको नेकपा (एस)को चार वर्षको समीक्षा गरौं भन्ने पक्षमा थिएँ ।’

जिल्ला जिल्लाका नेता र कार्यकर्ताले वैचारिक–सैद्धान्तिकरूपले सुदृढ पार्टी बनाउन विशेष योगदान गर्नुपर्छ भनिरहे पनि कुनै भूमिकै नपाउँदा आफूलाई बेचैनी भएको खनालले बताएका छन् ।

‘औपचारिकरूपले नेतृत्वमा बसेकाले जिम्मेवारीसम्म पनि दिन नसकेपछि मैले ती हजारौँ कार्यकर्ताहरूको भावनालाई कसरी सम्बोधन गर्ने ? यी सब कुराले यतिबेला मेरा दिमागमा असंख्य प्रश्न उठिरहेका छन्,’ खनालले पत्रमा लेखेका छन्, ‘यही अवस्थामा एउटा नेता लामो समय कसरी बस्न सक्छ ? त्यसैले आज म तपाईंलाई र तपाईंमार्फत यो पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई सूचना पुगोस् भनेर यो पत्र लेखिरहेको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

इग्ल्यान्डको आक्रमक सुरुवात, क्रोसिया ४–२ ले पराजीत