एमाले उपाध्यक्ष विष्णु पौडेल र दीपक भट्टबीच व्यावसायिक साझेदारी !

काठमाडौं । विशेष अदालतले आठपटक मन्त्री भइसकेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मंगलबार विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । विभागले अनुसन्धानका लागि २० दिन थुनामा राख्न अनुमति माग्दै पौडेललाई अदालत पेस गरेको थियो ।

हिरासतमा राख्न अनुमति दिने कि नदिने भन्ने बहसलाई अदालतले प्रत्यक्ष प्रसारण गरेको थियो । अदालतले दिएको अनुमतिअनुसार अब विभागले पौडेलमाथि लगाइएको अभियोगमा अनुसन्धान सुरु गर्नेछ । पौडेललार्ई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।

पौडेललाई करेन्ट चाउचाउका मालिक र कांग्रेस रुपन्देहीका स्थानीय नेतासमेत रहेका व्यवसायीको बयानका आधारमा पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालिएको पाइएको छ ।

मंगलबार विशेष अदालतमा हिरासतमा राख्नका लागि अनुमति माग्ने क्रममा भएको बहसमा सरकारी वकिलहरूले करेन्ट चाउचाउका मालिक कमलप्रसाद मालपानी र कांग्रेस नेता चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ गर्नुपरेको बताएका छन् । मालपानी र शर्मा व्यावसायिक साझेदार हुन् भने शर्मा र पौडेल दुवै रुपन्देही–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

व्यवसायीद्वयले श्रीराम टोबाकोको शेयर सस्तो मूल्यमा बिचौलिया व्यवसायी दीपक भट्टलाई बिक्री गर्न विष्णु पौडेलले सहजीकरण गरेको बयान दिएकाले पूरक अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको सरकारी वकिलको भनाइ छ । तर पौडेल पक्षका कानुनव्यवसायीले भने कसैले पोलेकै आधारमा प्रमाण बिना पक्राउ गरेर अनुसन्धान गर्न नमिल्ने भन्दै हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने जिकिर गरेका छन् ।

विशेष अदालतमा बहसका क्रममा उपन्यायाधिवक्ता भीमसेन काफ्लेले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयमा अनुसन्धानको सिलसिलामा पौडेल पक्राउ परेको दाबी गरे । हिमालयन एसेस्टमा भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत शेयर लगानी छ ।

दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता गर्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालय एसेस्ट म्यानेजमेन्ट प्रालिको संलग्नता उल्लेख गरेको छ ।

मालपानी र शर्माको व्यावसायिक साझेदारीमा चाउचाउ, खैनी, गुट्खालगायत उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । दुवैले सरकारी साक्षीका रूपमा एमाले नेता पौडेलको शेयर कारोबारमा शंकास्पद संलग्नता भएको बताएपछि पौडेल अनुसन्धानमा तानिएका हुन् ।

पौडेल पछिल्ला दिन महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर आफैँ अध्यक्ष बन्ने योजनामा थिए । पार्टी महासचिव माधवकुमार नेपाल हुँदा नेपालका विश्वासपात्र, नेकपा कालमा प्रचण्ड र ओलीका विश्वासपात्र तथा एमाले विभाजनपछि अध्यक्ष ओलीका खास मानिएका पौडेल जेनजी आन्दोलनपछि ओलीको विरुद्धमा समेत बोल्दै आएका थिए ।

गएको २१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नेतृत्वको विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिँदै आएका पौडेल भित्रभित्रै आफैं अध्यक्ष बन्ने दौडमा समेत थिए । पौडेल बालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 556 times, 1 visits today)

epaper

ताजा समाचार

२५ अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारीसाधन आयात