ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ ।
नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा उक्त सेवा सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएकामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन् । घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताए । उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको छ । यद्यपि धेरै सेवाग्राहीले छिटो र सहज रूपमा राहदानी प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेका छन् ।
जिल्ला हुलाक कार्यालय ललितपुरले राहदानी घरमै प्राप्त गरेपछि सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ ।
जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तले घरमै राहदानी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेका छन् भने दुर्गम गाउँपालिकाबाट सेवाग्राहीको सहभागिता अपेक्षाअनुसार कम रहेको छ ।
स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको उनले बताए । सरकारी तथा बैंकिङसम्बन्धी कागजात आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको प्रमुख पन्तको भनाइ छ ।
सम्बन्धित समाचार
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन






