गण्डकी मिडिया समिटमा अग्रज पत्रकार सम्मानित

पोखरा । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा शनिबार पोखरामा ‘गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोह’ भएको छ । सो अवसरमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई जनही ५० हजारसहित सम्मान गरियो ।

सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । ३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । सम्मानित व्यक्तित्वका ’boutमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।

९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी स्वतन्त्रता सेनानी पनि हुन् । अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो । २०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् ।

मुख्यमन्त्री पाण्डेले संघीयताको जडको विवेचना नगर्ने हो भने ढिलोचाँडो मुलुक द्वन्द्वमा फस्ने दाबी गरे । ३५ वर्षमा केही नभएको भन्नु गलत हो भन्दै उनले देशले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको बताए । सामाजिक सञ्जाल र मेनस्ट्रिम पत्रकारिताबीच जनतालाई फरक हो भन्ने बुझाउन सक्नुपर्नेमा उनले जोड दिए ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले इतिहास अभिलेखीकरणबाट मात्र बाँच्दछ भन्दै अग्रज पत्रकारको सम्मानको थालनी गरिएको प्रस्ट पारिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अहिलेको मिडिया संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने सरकारको नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको बताए । ‘स्वच्छ प्रेस ः समुन्नत गण्डकी प्रदेश’ नाराका साथ आयोजित कार्यक्रमको संचालन पत्रकार अमृत सुवेदीले गरे । सोही अवसरमा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआई विषयमा छुट्टाछुट्टै सेसनमा संवाद भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै