वीरगन्जमा ‘रोजगार मेला २०८३’

वीरगन्ज । ‘नेपाली कामदारले स्वदेशी उद्योग प्रतिष्ठानमा’ रोजगार पाउन् भन्ने लक्ष्य सहित वीरगन्जमा आईतबार ‘रोजगार मेला २०८३’ लागेको छ । देशको पुरानो औद्योगिक कोरिडोर ‘वीरगन्ज–पथलैया’ का उद्योगहरुले नेपाली कामदारलाई काम दिदैनन् भन्ने भाष्य चिर्न पनि यो मेला फलदायी हुने अपेक्षा गरिएको छ । रोजगार मेला २०८३ मा यहाँका २६ वटा उद्योग प्रतिष्ठानले आफ्नो स्टल राखेका छन् ।

मेलाको महत्वपूर्ण उद्देश्य परनिर्भरतालाई कम गर्दै स्वदेशमा नै आत्म निर्भर बढाउने भन्ने पनि लक्ष्य रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमको दावी छ । यो मेला मधेश प्रदेशकै आकर्षकका रुपमा सुरुवात गरिएको उनले बताए । खासगरी अन्य प्रदेशको तुलनामा मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने जनशक्ति बढी भएकोले पनि आफ्नै प्रदेश भित्रका उद्योगमा उनीहरुले रोजगार पाउन भन्ने लक्ष्य सहित रोजगारदाता र रोजगारी खोजी गर्ने जनशक्तिलाई एकै ठाउँमा भेला गराइएको मेलाको संयोजन गरिरहेका वीरगन्ज उद्योग बाणिज्य संघका सह सचिव अनुप अग्रवालले बताए ।

अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयको रोजगार सेवा केन्द्रको सवलीकरण परियोजनाको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ), नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेश र वीरगन्ज उद्योग बाणिज्य संघको संयुक्त आयोजना यो मेला लगाइएको उनको भनाइ छ । यसमा वीरगन्ज महानगरपालिका, लिडरसिप डेभलपमेन्ट इन्टिच्युट वीरगन्ज तथा एचआर सोसाइटी नेपाल–मधेस च्याप्टरको पनि सहयोग रहेको अग्रवालले बताए । परम्परागत रूपमा गरिने रोजगार मेलाभन्दा यो मेला सीप आवश्यकता मूल्याङ्कन तथा श्रम बजारको अवस्थामा आधारित रहेको पनि उनको दावी छ ।

रोजगारदाताहरूलाई वास्तविक जनशक्ति आवश्यकता र रोजगार खोज्ने व्यक्तिहरूको सीप तथा क्षमता बीच समन्वय स्थापित गरिदिने गरी मधेश प्रदेशबाट यस्तो मेलाको आयोजना सुरु गरिएको एफएनसिसिआईका रोजगारदाता परिषद् प्रमुख हरि पौडेलले पनि बताए । मधेश प्रदेशमा उद्योग, व्यापार, सेवा, यातायात तथा प्राविधिक क्षेत्रहरूमा दक्ष तथा अर्धदक्ष जनशक्तिको उल्लेखनीय माग रहेको अनुसन्धानबाट निक्र्योल भएपछि सात प्रदेशमध्ये पहिलो पटक यो प्रदेशको औद्योगिक नगरी वीरगन्जमा रोजगार मेला लगाइएको पनि उनको भनाइ छ ।

‘मेला’ चुनौति चिर्ने अवसर
आफ्नै घर नजिकको श्रम बजारमा चाहिएको जनशक्तिका ’bout विश्वसनीय सूचना, करियर परामर्श तथा रोजगारीका अवसरमा पहुँच प्राप्त गर्न नसकेका युवाहरुका लागि लक्षित रोजगार मेला गरिएको वीरगन्ज उद्योग बाणिज्य संघको दावी छ । रोजगारदाता, रोजगार सेवा केन्द्र, तालिम प्रदायक संस्था, स्थानीय तह तथा रोजगार खोज्ने व्यक्तिहरू बीच प्रभावकारी रोजगार सेवा प्रणाली विस्तार गर्न सुरुवात गरिएको आयोजक संस्थाहरुको दावी छ । रोजगारदाताहरूले रोजगार सेवा केन्द्रको सट्टा व्यक्तिगत सञ्जाल वा प्रत्यक्ष सम्पर्कमार्फत कर्मचारी प्राप्त गर्न सक्ने अवसर र रिक्त पदहरू पूर्तिका लागि खुल्ला बजारबाट स्तरीय कामदार पाउने पूर्व–छनोट प्रणाली रोजगार खोज्ने र दिने दुबैका लागि रोजगार मेला प्रभावकारी हुने आयोजकको अपेक्षा रहेको जनाइएको छ ।

मेलामा दक्षभन्दा फ्रेसर जनशक्तिको सम्लग्नता
रोगजारदाता, र रोजगार खोज्ने दुबै पक्षलाई एकै ठाउँमा सहभागी गराइएको रोजगार मेलामा सहभागी उद्योग प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिले दक्ष जनशक्ति चाही खासै नपाइएको जनाएका छन् । कामको अनुभव नभएका (फ्रेसर) व्यक्ति मेलामा ९० प्रतिशतसम्म पुगेको उनीहरुको अनुभव छ । यता काम गर्न इच्छुक जनशक्तिले पनि कामको अवसर नै नपाई एकै पटक अनुभव कसैको पनि नहुने तर्क गरेका छन् । रोजगार पाइए पो कामको पनि अनुभव बढ्दै जान्छ उनीहरुले तर्क गरे । हामीले आर्जन गरेको शिक्षाको योग्यताका आधारमा नै कामको अपेक्षा गर्ने हो उनीहरुले भने ।

उद्योग प्रतिष्ठानका संचालक तथा प्रतिनिधिहरुले भने उद्योग प्रतिष्ठानलाई चाहिने जस्तो शिक्षा नै नेपालमा दिने चलन नभएको गुनासो गरे । उद्योग प्रतिष्ठानका संचालक तथा प्रतिनिधिहरुले भने मेकानिकल इन्जिनियर, इलेक्ट्रिसियन वा कारखानाहरुका लागि मेशिनमेन जस्ता प्राविधिक पदमा जनशक्ति चाहिए पनि त्यो सीप वा ज्ञान भएका व्यक्ति नभेटिएको उदाहरण नै दिए ।

त्रिवेणी स्पिनिङ्ग मिल्स लि.का जेनेरल मेनेजर एनके सिंहले पनि आफूहरुलाई झण्डै २ सय जति प्राविधिक अर्थात सीप जानेको जनशक्ति चाहिए पनि खासै त्यस्तो जनशक्ति मेलामा नपाइएको संकेत गरे । दक्ष कामदार नपाएपछि बाध्य भएर बाहिरी कामदार राख्न पर्ने परिस्थिति बन्ने गरेको पनि केही उद्योगी व्यवसायीको तर्क छ । नेपाली युवायुवतीलाई रोगजार दिने इच्छा भएर पनि आफूहरुले त्यस्तो जनशक्ति नपाउने गरेको उनीहरुले दावी गरे ।

आवश्यकताभन्दा कम जनशक्ति पाइने संकेत
समावेशी तथा दिगो रोजगार प्रवद्र्धन गर्ने लक्ष्य सहित वीरगन्जमा पहिलो पटक भएको मेलामा आवश्यकताको आधारमा कमै जनशक्ति पाइने रोजगार दाता कम्पनीले खुलासा गरे । वीरगन्जको होटल भिस्वामा लागेको रोजगार मेलामा वीरगन्ज पथलैया औद्योगिक क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानका कुल २६ वटा स्टल छन् । संख्यागत रुपमा कति व्यक्तिले रोजगारी पाउँछन् भन्दा पनि दुवै पक्षलाई आगामी दिनका लागि जनशक्ति र रोजगार खोज्न सहज बाटो भएको मेलाको संयोजन गरिरहेका वीरगन्ज उद्योग बाणिज्य संघका सह सचिव अनुप अग्रवालले बताए ।

रोजगारदाता र रोजगार खोज्ने दुबै पक्षलाई समन्वय गर्ने केन्द्रको रुपमा मेला फलदायी भएको उनको भनाइ छ । करिब ५–६ सय वेरोजगारहरुले अवलोकन गरेको मेलामा आवश्यकता र योग्यताका आधारमा दुवै पक्षले अवसर पाएको पनि सह सचिव अग्रवालले बताए । नयाँ कामको सुरुवात गर्दा पहिले अपेक्षाकृत नभए पनि आगामी दिनका लागि यस्तो मेला फलदायी हुने पनि उनको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्जमा ‘रोजगार मेला २०८३’