काठमाडौं । यति बेला नेपालका चलचित्र घरहरूमा नेपाली चलचित्र छैनन् । देशभरका १७५ चलचित्र घरमा नेपाली चलचित्र नहुनु आफैँमा विडम्बना हो । तर हाल जारी वल्र्डकप फुटबल र असारको निरन्तर झरीले चलचित्र घरमा दर्शकको उपस्थिति शून्य जस्तै भएपछि केही हप्ता अघि रिलिज भएका नेपाली चलचित्र समेत चलचित्र घरबाट हटाइएको छ ।
६०दिन अघि रिलिज भएको नेपाली चलचित्र ‘लालीबजार’ पनि चलचित्र घरबाट यो शुक्रवारदेखि हटेको छ । बलिउडका दुई ठुला चलचित्र ‘अल्फा’ र ‘बेबी डु डाई डु’ रिलिज भएपछि यस अघि प्रदर्शन हुँदै आएका सबै नेपाली चलचित्रलाई चलचित्र घरबाट हटाइएको हो । तर प्रदर्शनको दोस्रो दिन शनिवारबाटै ‘अल्फा’ र ‘बेबी डु डाई डु’को व्यापारिक अवस्था नाजुक छ ।
साउनको पहिलो हप्तासम्म वल्डकप फुटबल जारी छ । मध्यरात देखि विहानपखसम्म वल्र्डकप फुटबल प्रसारण हुँदै आएको छ । अर्को तर्फ केही दिन यताबाट देशभर असारको झरी जारी छ । सोही कारण पनि चलचित्र घरमा दर्शकको उपस्थित अत्यन्त कम रहेको चलचित्र घर सञ्चालकहरू बताउँछन् ।
काठमाडौंको हात्तीसारमा गत महिना मात्र खुलेको जय नेपाल सिनेमाका सञ्चालक एवम् नेपाल चलचित्र संघका वरिष्ठ उपाध्यक्ष अहिले चलचित्रको व्यापार नाजुक छ भन्छन् । असारमा खेतीको व्यस्तता, निरन्तर झरी र हाल जारी वल्र्डकप फुटबलका कारण पनि केही हप्ता यताबाट राम्रा नेपाली चलचित्र रिलिज नभएको उनले बताए । रिलिज गरिएका राम्रा विदेशी चलचित्रको पनि यही कारण व्यापार नभएको उनले स्पष्ट पारे ।
यता वितरकहरूले पनि अहिले चलचित्र रिलिजको लागि उपयुक्त समय नभएको सल्लाह निर्माताहरूलाई दिएका कारण यति बेला नयाँ चलचित्र रिलिज नगरिएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाको कथन छ । वल्र्डकप फुटबलको खेल सकिएसँगै साउनको दोस्रो हप्ताबाट लगातार नेपाली चलचित्र रिलिज हुने जनाउँदै उदयले भने,‘असारमा वल्र्डकप भएकै कारण यो महिनाका केही चलचित्रको रिलिज भदौ र असोजमा सारियो । यस पटक भदौ र असोजमा हरेक हप्ता दुई देखि तीन वटासम्म नयाँ चलचित्र रिलिज हुँदै छन् ।’
हुन पनि यो शुक्रवार नयाँ नेपाली चलचित्र रिलिज भएन । ५ असारमा कलाकार जितु नेपालको चलचित्र ‘आई एम जितबहादुर’ रिलिज भएको थियो । एक करोड भन्दा माथिको लागतमा निर्माण भएको यो चलचित्रले रिलिजको १० दिनमा देशभरबाट जम्मा ३१ लाख ७ हजार रुपैयाँको व्यापार ग¥यो । दोस्रो हप्ता जेनतेन प्रदर्शन भएको यो चलचित्र तेस्रो हप्ता यो शुक्रवारबाट सबै चलचित्र घरदेखि उत्रिएको छ । यो चलचित्र व्यापारिक रूपमा असफल भयो ।
यस्तै राजु शाह निर्देशित चलचित्र ‘जाँड’ गत १२ असारमा मुलुकका करिब दुई दर्जन चलचित्र घरमा रिलिज भएको थियो । यो चलचित्र पनि एक हप्ता नपुग्दै सबै चलचित्र घरबाट उत्रियो । गत वैशाखमा रिलिज भएको ‘लालीबजार’ले १० वटा हलमा सफल प्रदर्शनको ५१ मनाएर ६० औँ दिनमा यो शुक्रबार चलचित्र घरबाट उत्रिएको हो । अब चलचित्र घरमा नयाँ चलचित्र १ साउनमा रिलिज हुनेछ । डा. कपिल रिजालद्धारा निर्देशित चलचित्र ‘गौँथली’ रिलिज हुँदै छ भने २२ साउनमा चलचित्र ‘हली’ रिलिज हुँदै छ । यो असारमा भने राम्रा नेपाली चलचित्र रिलिज भएका छैनन् ।
सम्बन्धित समाचार
एनपीएलको अक्सन मिति घोषणा
पीएल सिंह टी–२० क्रिकेटः पोखरा र वीरगञ्ज विजयी
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
विश्वकप फुटबलः अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
चौथो सिद्ध कप पुरुष भलिबल प्रतियोगिता ‘बेनिकोटमा’
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
युनिगाइडले भण्डारी र खानलाई ब्रान्ड एम्बेस्डर नियुक्त
टिपरमा च्यापिँदा युवकको मृत्यु






