डडेल्धुरा । महाभारत पर्वतको पश्चिमी श्रृङ्खलादेखि नेपाल–भारत सीमाको महाकाली नदीसम्म फैलिएको भागेश्वर गाउँपालिका पछिल्ला केही वर्षयता विकासका दृष्टिले उल्लेखनीय परिवर्तनको यात्रामा अघि बढिरहेको छ । एक समय सडकको अभाव, दुर्गम भूगोल र सीमित सरकारी सेवाका कारण पछाडि परेको यो पालिका अहिले सडक सञ्जाल, पक्की पुल, कृषि, स्वास्थ्य पूर्वाधारको विस्तारसँगै नयाँ परिचय बनाउँदै छ ।
खोलामा पक्की मोटरेवल पुल निर्माणले यातायातमा सहज
जिल्ला सदरमुकाम बागबजारबाट करिब १४ किलोमिटरको दूरीमा रहेको गाउँपालिकाको अस्थाई केन्द्र बगरकोट आज प्रमुख सेवा केन्द्रका रूपमा विकसित हुँदै गएको छ । केही वर्षअघिसम्म वर्षायाममा यातायात अवरुद्ध हुने, खोलानालाले गाउँ–बस्ती छुट्याउने र सेवासुविधा प्राप्त गर्न कठिन हुने अवस्था थियो । अहिले भने सडक र पुलको पहुँचले स्थानीयको दैनिकी सजह हुनुकासाथै विकासको गति पनि फेरिएको छ ।
विकासको पहिलो आधार सडकलाई मानिन्छ । भागेश्वरमा पनि त्यही परिवर्तन स्पष्ट देख्न सकिन्छ । बागबजार–बगकोट सडक कालोपत्रे भइसकेको छ । यसले गाउँपालिकाको केन्द्रलाई जिल्लाको सदरमुकामसँग सहज रूपमा जोडेको छ । बगरकोट–सिराड–रुपाल सडक कालोपत्रेको चरणमा छ ।
यस सडक खण्डको खुल्लाखेत, बोगटा जोड्ने पर्छेटा, अजयमेरु गाउँपालिकाको देवलदिव्यपुर जोड्ने शेरागाड र चिपुर–भद्रपुर जोड्ने ठूलीगाडमा पक्की मोटरेबल पुल निर्माण भएपछि वर्षौदेखि स्थानीयले भोग्दै आएको जोखिमपूर्ण यात्रा अन्त्य भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए ।
पहिले वर्षातको समयमा खोला बढ्दा घण्टौ वा दिनौसम्म आवतजावत रोकिन्थ्यो । उनले भने, अहिले ती पुलहरूले गाउँलाई वर्षैभरि सडक सञ्जालसँग जोडिदिएका छन । यसले विद्यालय जाने विद्यार्थी, स्वास्थ्य संस्था पुग्ने बिरामी, कृषि उपज बजारसम्म लैजाने किसान र दैनिक आवतजावत गर्ने सर्वसाधारण सबैलाई प्रत्यक्ष लाभ पुगेको छ ।
बगरकोट–सिराड–रूपाल सडकको बिरादे–बगरकोट–सिराड खण्ड कालोपत्रे गर्न महादेव खिम्तीरशनिदेव जेभीसँग २०७६ साल असार ३० गते २० करोड ७२ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको थियो । २०७९ साल पुस ३० गते काम पूरा गर्नुपर्ने भए पनि हाल आएर सम्पन्नताको चरणमा पुगेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख नवराज रावलले जानकारी दिए । बागबजार–बिरादे सडक खण्डभने यस अधि नै कालोपत्रे भएको थियो । हाल यो खण्डमा खाल्टा खुल्टि परेका छन । यसको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अधि बढेको उनले बताए ।
भागेश्वरको लाकम, बगरकोट क्षेत्र कृषि उत्पादनका हिसाबले उर्वर मानिन्छ । यहाँ तरकारी, धान, गहुँ, मकैलगायत विभिन्न खाद्यान्न बाली उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा निर्माण भएका सिचाइ योजनाले खेती प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।
पहिले आकासे पानीमा निर्भर किसान अहिले सिचाइको सुविधा पाएपछि वर्षभरि खेती गर्न सक्षम भएका छन । व्यावसायिक तरकारी खेती विस्तार हुदै गएको छ । यहाँ उत्पादित तरकारी स्थानीय बजारसँगै जिल्ला बाहिरसमेत बिक्री हुदै आएको छ ।
भागेश्वरको बगरकोटमा रहेको भागेश्वर ताल यस क्षेत्रको प्राकृतिक पहिचान हो । वर्षायाममा कमलका फूलले ढाकिने यो ताल स्थानीयका लागि धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको सम्पदा पनि हो । गाउँपालिकाले ताल संरक्षणका लागि तटबन्ध, सरसफाइ तथा अन्य संरक्षणका कार्यक्रम सञ्चालन गरेको छ । संरक्षणपछि तालको सौन्दर्य थप आकर्षक बनेको स्थानीय गणेश केसीको भनाइ छ । उचित प्रचारप्रसार र आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्न सके भागेश्वर ताल पश्चिमी डडेल्धुराको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ ।
पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रको विस्तार पनि भइरहेको छ । बगरकोटमा आधुनिक भवनसहितको स्वास्थ्य चौकी सञ्चालनमा छ । यसले गाउँपालिकाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराइरहेको छ ।
चुनौती अझै बाँकी
परिवर्तनको गति उत्साहजनक भए पनि भागेश्वरमा अझै धेरै काम गर्न बाँकी छन । केही ग्रामीण बस्तीमा सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, पर्यटन पूर्वाधार, खानेपानी, सूचना प्रविधि तथा युवाका लागि रोजगारी सिर्जना गर्ने विषय चुनौतीकै रूपमा रहेका छन ।
विकासका संरचना निर्माणसँगै तिनको दिगो व्यवस्थापन र नियमित मर्मतसम्भारमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।
भागेश्वर गाउँपालिकाको पछिल्लो विकास यात्राले ग्रामीण नेपाल परिवर्तन हुन सक्ने सम्भावना देखाएको छ । सडक पुगेपछि पुल बने, पुल बनेपछि बजारसँग सम्बन्ध जोडियो, सिचाइ विस्तार भएपछि कृषि उत्पादन बढ्न थाल्यो, शिक्षा र स्वास्थ्यका पूर्वाधार विस्तार भए, प्राकृतिक सम्पदाको संरक्षण सुरु भएको छ । यी परिवर्तनले भागेश्वरलाई भौतिक पूर्वाधारमा सीमित नराखी आर्थिक र सामाजिक रूपान्तरणको दिशामा अघि बढाइरहेका छन ।
सम्बन्धित समाचार
धनगढीमा एकीकृत भान्साघर, ४ हजार विद्यार्थीले पोषणयुक्त दिवा खाजा पाउने
ब्राजिलले नर्वेलाई कहिल्यै हराउन सकेको छैन्, आज के हाेला ?
हिसाब मिलाउने वकिल र सीए ‘मालामाल’
सामुदायिक विद्यालय समिति: पुनर्विचार खाँचो
खुटिया–दिपायल द्रुतमार्गका लागि हस्ताक्षर अभियानमा धनगढी उपमहानगरको साथ
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते
फिफा विश्वकप खेलेका दक्षिण अफ्रिकी फुटबलर जेडेन एडम्सको निधन






