धनगढी । कैलालीका ११ वटा सामुदायिक वनबाट अवैध रूपमा हरिया साल र खयरका रुख काटेर मिलेमतोमा लिलाम बिक्री गर्न खोजिएको भन्ने उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले मंगलवार छापा हानेको छ ।
अख्तियारको टोलीले डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा एकसाथ छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको हो। अख्तियार कञ्चनपुरका सूचना अधिकारी चेतराज भट्टले अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
सूचना अधिकारी भट्टका अनुसार दुवै डिभिजन वन कार्यालयबाट आवश्यक कागजातसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । उजुरीमा डिभिजन वन कार्यालय धनगढीअन्तर्गत रहेको बाह्रवन साझेदारी वन उपभोक्ता समितिको १ लाख ८६ हजार क्युफिट, केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिको ३६ हजार क्युफिट गरेर जम्मा दुई लाख २२ हजार क्युफिट काठ बिक्री गर्न खोजिएको उल्लेख छ । उजुरीमा नियम विपरीत काठ कटान गरी मिलेमतोमा ठेक्ठा दिन खोजेको उल्लेख गरिएको भट्टले बताए ।
अख्तियारका अनुसार डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत छतिवन सामुदायिक वनको १८ हजार, मोहन्याल सामुदायिक वनको १२ हजार, जगतपुर सामुदायिक वनको ७ हजार, साडेपानी सामुदायिक वनको ७ हजार, मैनापोखरी सामुदयिक वन समूहको २३ हजार, शिवशक्ति सामुदायिक वन समूहको ८७ हजार, गतिशिल सामुदायिक वन समूहको १२ हजार, जनता सामुदायिक वन समूहको १८ हजार, घोडाघोडी सामुदायिक वन समूहको १९ हजार क्युफिट गरेर जम्मा १ लाख २३ हजार क्युफिट काठ बिक्री गर्न खोजिएको उजुरी परेको छ ।
कैलालीका ११ सामुदायिक वनबाट तीन लाख ४५ हजार क्युफिट काठ अवधै तरिकाले संकलन गरी बिक्री÷वितरण गर्न अनुमति दिएको उजुरीपछि अख्तियारको टोलीले डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिएर अनु्सन्धान थालेको हो ।
यसअघि यी वनहरूबाट अवैध रुपमा काठ संकलन गरेको भन्दै संसदीय समितिमा उजुरी परेको थियो । उक्त उजुरीपछि संसदको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले सबै वनहरुको स्थलगत अनुगमनपछि लिलामको प्रक्रिया अगाडि नबढाउन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई गत असार ८ गते निर्देशन दिएको थियो ।
संसदीय समितिले वार्षिक रूपमा २२ हजार क्युफिट काठ मात्रै कटान गर्न पाउने अनुमति रहेको बाह्रवनमा एकै वर्षमा एक लाख ८५ हजार क्युफिट काठ काटिएको तथ्य फेला पारेको थियो । बाह्रवनबाट साल, खयरलगायतका बहुमूल्य रुखहरू कटान गरिएको संसदीय छानबिन समितिले जनाइएको छ ।
संसदीय समितिले नेकपाका संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनहरूबाट काचो खयरको रुख संकलन गरिएको तथ्य फेला परेको सार्वजनिक गरेको थियो । संसदीय समितिले काठ लिलाम प्रक्रिया अगाडि नबढाउन निर्देशन दिए पनि प्रदेशको वन मन्त्रालयले लिलाम प्रक्रिया नरोकेपछि सरोकारवालाहरूले अख्तियार गुहार्नु परेको बताएका छन् ।
अख्तियारले मंगलवार डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरबाट कागजपत्र नियन्त्रणका लिएसँगै छानविन र अनुसन्धान अगाडि बढ्ने भएको हो ।
सम्बन्धित समाचार
बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
कञ्चनपुरमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने
सम्पत्ति छानबिन आयोगलाई कुनै पनि काम अघि नबढाउन सर्वोच्चको आदेश
बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई ‘आकर्षक स्किम’






