काठमाडौं । नेपाल लुडो लिगद्वारा आयोजित इन्टर-स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जगत मन्दिर स्कुलकी छात्रा रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन स्कुलका आभाष साह तृतीय भएका छन्।
साउन ९ गतेदेखि सञ्चालन भएको चारदिने लिगमा करिब ४० विद्यालयका ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगिताका उत्कृष्ट ८ प्रतियोगीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
ग्रान्ड फिनालेमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐर, राष्ट्रिय क्रिकेट खेलाडी तिलकराज भण्डारी, विभिन्न क्षेत्रका अतिथि, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल लुडो लिगका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले परम्परागत लुडो खेललाई आधुनिक, व्यवस्थित र व्यावसायिक रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए। विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयहरूको उत्साहजनक सहभागिताले पहिलो संस्करणलाई ऐतिहासिक सफलता दिलाएको उनको भनाइ थियो।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्याब्सन काठमाडौं महानगरसँग साझेदारी गरिएको थियो। साथै डिजिटल पार्टनरका रूपमा साथी सोलुसन्स, सेलिब्रेशन पार्टनरका रूपमा काठमाडौं अनलाइन केक शप तथा रिफ्रेसमेन्ट पार्टनरका रूपमा श्री घः कुल्फी सहकार्यमा रहेका थिए।
यस अवसरमा प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐरले लुडोजस्तो लोकप्रिय खेललाई व्यावसायिक ढंगले आयोजना गरिएको यो पहल उदाहरणीय रहेको उल्लेख गर्दै आगामी संस्करणहरू अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
नेपाल लुडो लिगले निकट भविष्यमै राष्ट्रियस्तरको लुडो प्रतियोगिता देशव्यापी रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको तथा Ludo League मोबाइल एपसमेत सार्वजनिक भइसकेको जानकारी अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक सुरज भट्टराईले दिएका छन्।
सम्बन्धित समाचार
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
हारले हाम्रो यात्रा रोक्दैन, हामी अझ बलियो बनेर फर्किनेछौं : एम्बाप्पे
फिफा विश्वकप विजेताले पाउने छ करिब ६ अर्ब ९० करोड रुपैयाँ
जुन फ्रेममा भविष्य र वर्तमान एकसाथ कैद हुँदै थिए
हामीलाई कसैले जिताइरहेको छैन, हाम्रो प्रदर्शनले नै यहाँसम्म ल्याएको हो : मेस्सी
जहाँ कोरिँदै छ, विश्वकप भाग्य
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो






