पाँच वर्षको सेवा–सुविधा जनहितमा लगाउने नगरप्रमुख भामको घोषणा

मुगु । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगाउने घोषणा गरेका छन्।

सोमबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख भामले पारिश्रमिक, दशैँ सुविधा तथा बैठक, कार्यक्रम, तालिम र गोष्ठीबाट प्राप्त हुने भत्तालगायत सेवा–सुविधाको रकम शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपद् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधारमा खर्च गर्ने बताए।

उनका अनुसार पाँच वर्षमा प्राप्त हुने सेवा–सुविधाबापत करिब २८ लाख १४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, दलित तथा विपन्न बालबालिकालाई न्यानो कपडा, विपद् प्रभावितलाई राहत, सार्वजनिक स्थलमा पाटी–पौवा तथा खानेपानी संरचना निर्माण र मर्मत, ईसीडी कक्षाका बालबालिकालाई सामग्री तथा सरसफाइका कार्यक्रम सञ्चालन गरिनेछ।

निर्वाचनका बेला सेवा–सुविधाको रकमबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै भामले अहिले उक्त योजना पुनरावलोकन गरिएको बताए। मुगुका विभिन्न स्थानीय तह, जिल्ला अस्पताल, सहकारी र रेडक्रसलगायतसँग गरी आठ वटा एम्बुलेन्स सञ्चालनमा रहेकाले नयाँ एम्बुलेन्स खरिदभन्दा तत्काल प्रभाव पार्ने क्षेत्रमा रकम खर्च गर्नु उपयुक्त हुने उनको भनाइ छ।

शैक्षिक सामग्री वितरणका लागि मात्रै ८ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ। त्यस्तै दलित तथा विपन्न बालबालिकाका लागि न्यानो कपडा वितरणमा ४ लाख ६० हजार, विपद् राहतमा ४ लाख, सार्वजनिक स्थलमा पाटी–पौवा तथा खानेपानी संरचनामा ४ लाख, ईसीडी सामग्रीमा २ लाख, सरसफाइमा २ लाख र बिरामी भेटघाट तथा सहयोगमा ३ लाख रुपैयाँ खर्च गर्ने योजना सार्वजनिक गरिएको छ।

नगरप्रमुख भामले सहयोग वितरण गर्दा राजनीतिक आस्था, दल वा व्यक्तिगत सम्बन्धलाई आधार नबनाइने बताए। वास्तविक आवश्यकता पहिचान गरी सम्बन्धित वडा, विद्यालय र स्थानीय समुदायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

उनले विकास भनेको ठूला भवन र सडक निर्माण मात्र नभएको बताए। सार्वजनिक धारा, चौतारो, विद्यार्थीका लागि शैक्षिक सामग्री र विपन्न परिवारलाई दिइने राहतले पनि नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ।

भामले जनप्रतिनिधिको पद सुविधा भोग्ने नभई जनताको सेवा र जिम्मेवारी पूरा गर्ने माध्यम भएको बताए। ‘राजनीति व्यवसाय होइन, सेवा हो। जनताको स्रोत व्यक्तिगत सम्पत्ति होइन, सार्वजनिक सम्पत्ति हो,’ उनले भने।

उनले जनप्रतिनिधिले कानुनबमोजिम पाउने सेवा–सुविधा लिनु गलत नभए पनि त्यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न नहुने बताए। आफ्नो प्राथमिकता पद र सुविधा नभई परिणाम र जनताको हित भएको उनको भनाइ छ।

नगरप्रमुख भामले यी कार्यक्रम आगामी २०८४ जेठ २० गतेदेखि सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै