धनगढी । गत भदौमा भएको जेन्जी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाउँदै सरकारी गाडी चोरी गरेर ४ लाख रुपैयाँमा बेच्ने युवा पुर्पक्षका लागि थुनामा गएका छन् भने गाडी किन्ने व्यवसायी साढे तीन लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
गत भदौ २५ गते जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाउँदै धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका तत्कालीन डीन डा. होमनाथ जोशीको निवासबाट बा २ झ २८५९ नम्बरको सरकारी गाडी चोरी भएको थियो ।
जेनजी आन्दोलनका क्रममा चोरी भएको तत्कालीन डीनको सरकारी गाडी भारतमा लगेर स्वरूप परिवर्तन गरी ४ लाख रुपैयाँमा बिक्री गरेको आरोपमा पक्राउ परेका निराजन कुँवर पुर्पक्षका लागि थुनामा गएका छन् भने गाडी खरिद गर्ने काष्ठ व्यवसायी अर्जुन कार्की भने साढे तीन लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
प्रहरीका अनुसार गाडी चोरीको मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय निराजन कुँवर थिए । चोरी गरेपछि गाडी फिर्ता गर्नुको सट्टा उनले घोडाघोडी नगरपालिका–२ का ३१ वर्षीय काष्ठ व्यवसायी अर्जुन कार्कीसँग गाडीलाई निजी बनाउने विषयमा सल्लाह गरेका थिए ।
त्यसपछि कार्कीको लिगासैनी सःमिल तथा फर्निचर उद्योगमा गाडीको स्वरूप परिवर्तन गर्ने योजना बनाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गाडी भारतको एउटा ग्यारेजमा लगेर चेसिस नम्बर मेटाइएको थियो । त्यसमा कार्कीको पुरानो सन् २०१२ मोडलको गाडीको चेसिस राखेर सरकारी नम्बर हटाइएको थियो ।
गाडीमा सुदूरपश्चिम प्रदेशको सु.प.प्र ०१–०१ च ३६८७ नम्बरको प्लेट राखेर निजी गाडीको स्वरूप दिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार यसरी सरकारी गाडीको स्वरूप परिवर्तन गरेर ४ लाख रुपैयाँमा कार्कीलाई बिक्री गरिएको थियो । कुँवरले प्रहरीसमक्ष दिएको बयानमा आधा करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडी ४ लाख रुपैयाँमा बिक्री गरेको बताएका छन् ।
डीनको निवासबाट दिउँसै चोरी गरेर लगिएको सो गाडी कार्कीले करिब एक महिनादेखि व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए ।
प्रहरीले गत असार ८ गते कार्कीको उद्योगबाट गाडी नियन्त्रणमा लिएर काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गराएको थियो । परीक्षणपछि सो गाडी डीनको निवासबाट चोरी भएको सरकारी गाडी नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
गाडी बरामद भएपछि प्रहरीले असार १९ गते कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा असार ३० गते कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । कुँवरलाई साउन ९ गते काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीले साउन १३ गते थुनछेक बहसपछि कुँवरलाई चोरी तथा लिखतसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले कार्कीलाई भने ३ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छाड्ने आदेश दिएको छ ।
प्रहरीका अनुसार गाडी चोरीमा संलग्न थप एक जनाको पहिचान भइसकेको छ । उनको खोजी भइरहेको छ । तर, कुँवरले भने चोरीमा अरू को–को संलग्न थिए र बिक्रीबाट प्राप्त रकम कसले लिए भन्ने विषयमा खुलाएका छैनन् ।
सम्बन्धित समाचार
प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत भेटिए
माछापालनबाट मासिक २५ लाख आर्जन






