सङ्खुवासभा । सङ्खुवासभामा खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन अधिकृत बिक्रेतामार्फत मात्रै ग्यास बिक्री गर्नुपर्ने निर्णय गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ,ग्यास विक्रेतासँग बसेको बैठकले जिल्लामा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो ।
बैठकले ग्यास बिक्री गर्न आधिकारिक अनुमति पत्र प्राप्त गरेका अधिकृत बिक्रेताले मात्र खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ । यसबाट अनधिकृत रूपमा ग्यास बिक्री गर्ने तथा आपूर्ति प्रणालीमा देखिन सक्ने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसै गरी ग्यास विक्रेताले ग्राहकलाई तोकिएको मूल्यभन्दा बढी नहुने गरी ग्यास बिक्री गर्ने र ग्यास विक्री गर्दा बिक्री गर्दा ग्राहकको नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजातको प्रतिलिपिसहित कसलाई, कति ग्यास बिक्री गरिएको हो भन्ने विवरण खुल्ने गरी अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
बैठकले एलपी ग्यासको बिक्री वितरणमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिन समेत विक्रेतालाई निर्देशन दिएको छ । बिक्री वितरण गर्दा सर्वसाधारण उपभोक्तालाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरिएको छ । ग्यासको आपूर्ति र बिक्री वितरणमा देखिन सक्ने अनियमितता नियन्त्रण गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले बैठकबाट यी निर्णय गरिएको जनाइएको छ ।
सदरमुकाम खाँदबारीमा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । सहज रूपमा ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने र रित्तो सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । खाँदबारी बजारमा एलपी ग्यासका सात वटा डिलर रहेका छन् । तर पछिल्लो समय ती डिलरमा ग्यास लिन पुग्ने अधिकांश उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।
सरकारले बजारमा ग्यासको आपूर्ति सहज रहेको दाबी गरे पनि खाँदबारीका उपभोक्ताले भने त्यसको ठिक विपरीत समस्या भोगिरहेका छन् । सरकारले निर्धारण गरेको मूल्यअनुसार एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार १५० रुपैयाँ रहेको छ । तर खाँदबारीका उपभोक्ताले भने ग्यास पाउनकै लागि प्रतिसिलिन्डर २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् ।
ग्यास अभावका कारण दैनिक खाना पकाउनेदेखि होटेल तथा चिया पसल सञ्चालनसम्म प्रभावित हुन थालेको स्थानीय व्यवसायीहरू बताउँछन् । नियमित रूपमा ग्यास प्रयोग गर्ने परिवार तथा व्यवसायीहरूलाई सबैभन्दा बढी समस्या परेको छ । अभावकै बिच ग्यासको मूल्यमा मनपरी भएको गुनासोसमेत बढेको छ ।
उपभोक्ताबाट लगातार गुनासो आउन थालेपछि प्रहरीले एक व्यापारीविरुद्ध महँगो मूल्यमा ग्यास बिक्री गरेको आरोपमा कालोबजारीसम्बन्धी मुद्दा चलाएको जनाएको छ । प्रहरीको कारबाहीपछि बजारमा ग्यासको आपूर्ति झन् प्रभावित भएको स्थानीय उपभोक्ताको भनाइ छ ।
सम्बन्धित समाचार
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
उद्योग विभागका अधिकांश सेवा अब पूर्णरूपमा ‘अनलाइन’ मार्फत, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
आयोजनाद्वारा जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै
कति पुग्यो डलरको मूल्य ? यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
देवेनरा ग्रुपको आवासमा प्रहरीको छापा
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक






