पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि ३ दिन म्याद थप

काठमाडौं । जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनसँग सम्बन्धित वैयक्तिक गोपनीयता ऐनको कसुरमा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पक्राउप्रति महासंघ, प्रेस काउन्सिल, मिडिया सोसाइटीलगायतको आपत्ति

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । ललितपुरको बागडोलस्थित निवासबाट बुधबार पक्राउ परेका श्रेष्ठलाई प्रहरीले बिहीबार म्याद थपका लागि अदालतमा पेस गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले पक्राउ गरिएको हो ।

साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, नेपाल मिडिया सोसाइटीसहित पत्रकारका विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् । काउन्सिलले श्रेष्ठ पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रहरी प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले समाचारप्रति चित्त नबुझे स्थापित प्रक्रियाबाट समाधान खोज्न आग्रह गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथिको कारबाही प्रेस तथा पत्रकारितासम्बन्धी कानुनी प्रक्रिया र पत्रकार आचारसंहिताअनुसार हुनुपर्नेमा जोड दिएको छ ।

नेपाल मिडिया सोसाइटीले भने समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको जनाएको छ । सोसाइटीका महासचिव बोधराज त्रिपाठीले श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेका छन् ।

समाचारमा कुनै कानुनी प्रश्न वा आपत्ति भए प्रचलित कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्ने सोसाइटीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी