सांसदको ‘अभिव्यक्ति अराजकता’ले सुरक्षा संयन्त्र र कर्मचारीतन्त्र आतंकित

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रस्तुत गरेको आक्रामक शैलीले निजामती तथा सुरक्षा संयन्त्रभित्रको असन्तुष्टि सतहमा ल्याएको छ ।

निर्वाचनका लागि म्यादी प्रहरी परिचालन तथा प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप लगाउँदै सुनुवारले दुवै अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका थिए ।

बैठकमा सुनुवारले खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै टेबल ठोकेर आक्रोश व्यक्त गरेका थिए । ‘सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरू त अरू लठ्ठी (भाटा) खरिदमा भ्रष्टाचार गर्ने,’ भन्दै उनले खरिद गरिएको भाटाले जनतालाई हान्न नपाइने टिप्पणी गरेका थिए ।

बैठकमा करिब आधा घण्टा ढिलो उपस्थित भएको भन्दै सुनारले गृहसचिव श्रेष्ठमाथि समेत प्रश्न उठाए । श्रेष्ठले भने शालीन रूपमा जवाफ दिँदै आफू, आफ्नो परिवार र नातेदारसमेतको छानबिन गर्न सकिने बताएका थिए । उनले छानबिनमा आफूले सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

गृहसचिव श्रेष्ठले निर्वाचन प्रहरीका लागि आवश्यक सामग्री खरिद गर्न मन्त्रालयले प्रक्रिया अघि बढाउँदा समय अभाव हुने भएकाले प्रहरीलाई नै रकम उपलब्ध गराइएको स्पष्ट पारे । मन्त्रालयको तर्फबाट खरिदमा कुनै अनियमितता नभएको उनको दाबी थियो ।

सुनारको प्रस्तुतिपछि समिति बैठकमै सांसदको मर्यादा र प्रस्तुतीकरणको शैली’bout प्रश्न उठेको थियो । तर उनी आक्रोशित रूपमा प्रस्तुत भइरहे । गृहसचिव र प्रहरी महानिरीक्षकले जवाफ दिएपछि उनी बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ ।

कर्मचारीमाथि निरन्तर प्रश्न
लेखा समिति बैठकको यो घटना पछिल्लो समय सरकार र सत्तारूढ दलका सांसदबाट निजामती तथा सुरक्षा संयन्त्रमाथि हुने सार्वजनिक टिप्पणी र व्यवहारप्रतिको असन्तुष्टिको पछिल्लो उदाहरण भएको कर्मचारीहरू बताउँछन् ।

रास्वपाका सांसदहरूले नेपाली कांग्रेस, नेकपा एमालेलगायत पुराना दललाई ‘३५ वर्ष देश लुटेको’ आरोप लगाउँदै आएका छन् । त्यसपछि कर्मचारी संयन्त्रलाई समेत पुरानो राजनीतिक व्यवस्थाका ‘मतियार’का रूपमा चित्रित गर्ने अभिव्यक्ति आउने गरेको भन्दै उच्च तहका कर्मचारी असन्तुष्ट छन् ।

ग्यास अभाव, सुकुम्वासी समस्या तथा सरकारका अन्य निर्णय कार्यान्वयनमा देखिएका कमजोरी’bout प्रश्न उठ्दा राजनीतिक नेतृत्वले ‘३५ वर्ष देश लुट्ने नेता’पछि ‘ब्युरोक्रेसी पुरानै छ’ भन्ने जवाफ दिने गरेको कर्मचारीहरूको गुनासो छ ।

रास्वपाका सांसद आशिका तामाङ, राजीव खत्रीलगायतले कर्मचारी संयन्त्र पुरानै भएकाले सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिएका छन् । पूर्वउपसभामुख इन्दिरा रानामगरले समेत यस्तै आशयका अभिव्यक्ति दिएकी थिइन् ।

कर्मचारी संयन्त्रलाई निरन्तर सार्वजनिक रूपमा दोषी देखाउने तथा प्रश्न उठाउने प्रवृत्तिले उच्च तहका कर्मचारीमा असुरक्षा बढाएको उनीहरूको भनाइ छ ।

मुख्यसचिव नियुक्तिदेखि कर्मचारी पक्राउसम्म
निजामती प्रशासनभित्र पछिल्लो समय मुख्यसचिव नियुक्ति, कर्मचारीमाथिको कारबाही र पक्राउका घटनाले समेत असन्तुष्टि बढाएको बताइन्छ ।

बरियतामा कनिष्ठ सचिवलाई मुख्यसचिव नियुक्त गरिएको विषयले वरिष्ठ सचिव तथा सहसचिवमा असन्तुष्टि पैदा गरेको कर्मचारीहरूको भनाइ छ । तत्कालीन मुख्यसचिव सुमनराज अर्यालको अवकाशपछिको बिदाइको शैलीलाई समेत निजामती वृत्तमा असहज रूपमा लिइएको छ ।

प्रधानमन्त्रीसँग पुरानो चिनजानका आधारमा सन्देश पठाएको विषयमा तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गरी दिनभर प्रहरी परिसरमा राखिएको घटनाले समेत प्रशासन संयन्त्रमा त्रास बढाएको स्रोतहरूको भनाइ छ ।

पासपोर्ट छपाइसम्बन्धी विवादमा कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिइएको र परराष्ट्र विभागका महानिर्देशक तीर्थराज अर्याल तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सुनील केसी पक्राउ परेको घटनाले पनि कर्मचारी वृत्तमा प्रश्न उठाएको छ ।

पूर्वसचिव तथा प्रशासन सुधार आयोगका पूर्वअध्यक्ष काशीराज दाहालले विधिको शासनमा छलफल, संवाद र कानुनी प्रक्रियाबाट दोषीमाथि कारबाही हुनुपर्ने बताए । ‘विधिको शासनमा विधिसम्मत छलफल गर्ने, संवाद गर्ने र त्यसमा दोषी देखिएमा कारबाही गर्ने व्यवस्था हुँदाहुँदै व्यक्ति हावी भएपछि समस्या हुन्छ,’ उनले राजधानीसँग भने ।

भ्रष्टाचार तथा अनियमिततामाथि छानबिन र कारबाहीका लागि अख्तियारप्राप्त निकायले प्रक्रिया अघि बढाउनुपर्नेमा ‘जहाँ पायो त्यहीँ, जसले पायो त्यसैले कारबाही गर्नुपर्छ’ भन्ने प्रवृत्ति देखिन थालेको उनको टिप्पणी छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले पनि प्रशासनलाई आतंकित बनाएर मुलुकको विकास सम्भव नहुने बताए । ‘सरकार सफल हुनलाई ब्युरोक्रेसीलाई विश्वासका साथ सहकार्य गर्ने वातावरण बनाउने हो, आतंकित बनाएर विकास गर्न सकिन्न,’ उनले भने ।

सरकारको काम प्रभावकारी बनाउन कर्मचारी संयन्त्रसँग सहकार्य र विश्वासको वातावरण आवश्यक पर्ने भए पनि पछिल्ला अभिव्यक्ति र व्यवहारले त्यसको ठीक उल्टो अवस्था सिर्जना गरिरहेको कर्मचारीहरूको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै