पूर्वी पहाडी जिल्लामा सोमबारदेखि लाखे जात्रा मनाउन सुरु

सङ्खुवासभा । नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व लाखे जात्रा मनाउन सुरु भएको छ । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा मंगलबारबाट लाखे नाच सुरु भएको छ ।

सोमबार सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत रूपमा लाखे जात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नाग पञ्चमीबाट लाखे निकालिन्छ ।

नेवाः देय दवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ ।

नेवार समुदायको कुलदेवता भिमसेनको पुजा सँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारी लगायतका बजारहरूमा लाखे नाच सुरु गरिएको नेवाः देय दवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए । पूर्वमा हेर्दा धनकुटा बजार, भोजपुरको टक्सार बजार र संखुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरुमा नेवार समुदायहरुको बसोबास छ ।

लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभुषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङग प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे जात्राले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र कला संरक्षणसँगै पुस्तान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच निकाल्ने चलन छ । नेवार समुदायको बसोबास रहेको खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, तुम्लिङ्टारमा लाखे नाच सुरु भएको छ ।

विधिवत् रूपमा लाखे सुरु भएपछि विभिन्न क्लब तथा समूहहरूले समेत लाखे नाच निकाल्ने गरेका छन् । नेवा देय दबुले सूचीकृत गरेरमात्रै लाखे नाच्न दिने व्यवस्था मिलाइएको छ । नेवा देय दबुले विशेष परिस्थितिबाहेक समय अवसर वा अन्य कार्यमा लाखेनाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरेको छ ।

लाखे नाचका बेला कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाईंका प्रतिकका रूपमा विभिन्न काला, सेता र अन्य रगंका मुखुण्डो लगाएका ढटुवारे र अन्य हाँस्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ ।

लाखे जात्राका अवसरमा बजार क्षेत्रमा स्थानीयको सहभागिता बढ्नुका साथै जिल्लाको सांस्कृतिक पहिचान र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभामा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने