शान्ति मिसनको संख्या घट्दै गएको अवस्थामा पनि यस्तो अवसर पाउनु गौरवको विषय : सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)को रूपमा कार्य गर्न जाने १३औँ डफ्फालाई बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाइ गरेका छन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिसन वान जुबामा कार्यरत १२आंँ डफ्फालाई बदली गर्न जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरूको एक वर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरे । उनले हाल विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद र साइबर सुरक्षा जस्ता चुनौतीहरू थपिएको तथा शान्ति मिसनहरूको संख्या घट्दै गएको अवस्थामा यो अवसर पाउनु गौरवको विषय भएको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकाले सशस्त्र प्रहरी कर्मचारीहरूले मिसनमा गरिने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गरे । उनले सशस्त्र प्रहरीले शान्ति मिसनमा कायम गरेका व्यावसायिक पहिचानलाई उचाइमा पु¥याउन अझ जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सीमित स्रोतसाधनका बीच कार्यसम्पादन गर्नुपर्ने चुनौतीका बीच व्यावसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामूहिक भावनाकासाथ कार्य गर्नुपर्नेमा जोड दिँदै यौन शोषण तथा दुव्र्यवहार, शून्य सहनशीलता र मानवअधिकारका विषयमा पूर्ण सजग रहन कडा निर्देशन दिए ।

अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्नेलाई तुरुन्त फिर्ता गर्नुपर्ने बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने, ‘कुनै एक जनाको गल्ती, लापरबाही तथा अनुशासनहीनताको कारणले मिसनमाथि प्रश्न चिन्ह उठ्यो भने त्यसको परिणाम घातक हुनेछ ।’

उनले आर्थिक पारदर्शिता कायम गर्दै प्राप्त बजेटको सही सदुपयोग गरी मर्मत सम्भार तथा सामाग्री व्यवस्थापनमा इमानदार हुनसमेत निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरू मिसनमा कार्यरत रहँदा उनीहरूको परिवारमा आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि संगठन सधैँ तयार रहेको बताउदै मिसनको म्यान्डेट पूरा गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरू थप गौरवका साथ स्वदेश फिर्ता हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल, गणेशबहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले समेत सो टोलीलाई बिदाइ गरेका थिए ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिसनअन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तसहित १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरू बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने