मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा, नाघ्यो ४०० खर्ब डलर

वासिङ्टन । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ ।

अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार कारोबार समाप्त हुँदा संघीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो । बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो ।

यो रकम कंग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म कुल ऋण ३९४ खर्ब डलर पुग्ने गरेको पूर्वानुमानभन्दा समेत बढी हो । ऋण तीव्र रूपमा बढेपछि मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता थपिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाएका थिए । तर सामाजिक सुरक्षा र स्वास्थ्य सेवासम्बन्धी दीर्घकालीन दायित्व, ब्याज भुक्तानी तथा रक्षा खर्च उच्च रहेकाले सरकारी ऋण घट्न सकेको छैन । मध्यपूर्वमा जारी युद्धले समेत सरकारमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ । युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब तीन खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको जनाइएको छ ।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाले जुलाईमा पेन्टागनका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो । सरकारी खर्च घटाउने उद्देश्यले ट्रम्प प्रशासनले गठन गरेको सरकारी दक्षता विभागले दुई खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरेको छ । तर स्वतन्त्र पर्यवेक्षकहरूले उक्त तथ्यांकमाथि प्रश्न उठाएका छन् ।

ऋण ४०० खर्ब डलर नाघेपछि दुवै प्रमुख राजनीतिक दलका सांसदले सरकारको बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरेका छन् । रिपब्लिकन सिनेटर रिक स्कटले खर्च नियन्त्रण गरी बजेट सन्तुलित बनाउन कंग्रेसलाई आग्रह गरेका छन् भने डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गरेका छन् ।

बढ्दो ऋण र युद्ध खर्चका कारण दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ । १० वर्षभन्दा लामो अवधिका ट्रेजरी बन्डको प्रतिफल मंगलबार सन् २००७ यताकै उच्च तहमा पुगेको थियो । यसले अमेरिकी सरकारले विगतको तुलनामा महँगो दरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलले अमेरिकी सरकार केही वर्षयता आर्थिक समृद्धिको अवस्थामा समेत करिब २० खर्ब डलर वार्षिक घाटामा रहेको बताएका छन् । उनका अनुसार कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले छदेखि सात प्रतिशतको नजिक पुगेकाले वित्तीय बजारमा चिन्ता बढेको छ ।

विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा आर्थिक संकटको निश्चित सूचक नभए पनि यो वित्तीय बजारका लागि महत्वपूर्ण मनोवैज्ञानिक सीमा हो । अत्यधिक ऋणले भविष्यमा अमेरिकी सरकारसँगै उपभोक्ता र व्यवसायका लागि समेत ऋणको लागत बढाउन सक्ने तथा आर्थिक वृद्धिमा दबाब पार्न सक्ने उनीहरूको भनाइ छ ।

अमेरिकी अर्थ मन्त्रालयले सघंीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ । तर बढ्दो रक्षा खर्च, सामाजिक दायित्व र ऋणको ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

नारेश्वर तालमा पानी जम्मा हुन सुरु