दुध बिक्रीबाटै मनग्य आम्दानी गर्दै सत्यवतीका किसान

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–२ लिम्घाका बसन्त तरामुलाई बिहानदेखि बेलुकीसम्म गाईको स्याहार सुसार गर्न भ्याइनभ्याई छ । चारवटा गाई पालेका उनीसँग दुईवटा लैना र दुईवटा बकेर्ना छन् ।

एक बर्षमा झण्डै पाँच करोडको दुध उत्पादन

गाईको लागि भकारो सुधार र संगीतसमेतको व्यवस्था गरेपछि दुध उत्पादन पनि बढेको छ । दुईवटा गाईबाट मात्रै दिनमा ३५ देखि ४० लिटरसम्म दुध बिक्री हुन्छ । अहिले बजारमा गाईको दुध प्रतिलिटर ८० रुपैयाँमा बिक्री भइरहेको छ । ‘मासिक ७० देखि ७५ हजार आम्दानी हुन्छ ।’ उनले भने, ‘बजारीकरणको कुनै समस्या छैन ।’

सोही ठाउँकै कृष्ण कुमारी तरामु मगरले दुइवटा गाई पालेकी छिन् । उनले दैनिक १८ लिटरसम्म दुध बिक्री गर्छिन् । मासिक ४२ हजारको दुध बिक्री गर्ने तरामुले गाइपालनबाट घरखर्च राम्रोसँग चलाएकी छिन् । ‘दुइवटा गाई खरिदको लागि गाउँपालिकाले ५० हजार अनुदान दिएको थियो ।’ उनले भनिन्, ‘घाँस, औषधी लगायतका बिषयमा पनि पालिकाले सहयोग गरेपछि गाइपालनतर्फ आकर्षित भएका हौँ ।’ उनले लैनो हुदाँ एउटै गाईको दैनिक १९ लिटरसम्म दुध बिक्री गरेको बताइन् ।

बसन्त र कृष्ण मात्रै होइन, सोही ठाउँकै टोपकी राना पनि आजकाल पशुपालनमै व्यस्त छिन् । गाई र भैसीँको दुध बेच्ने उनले त्यसैबाट घरखर्च चलाएकी छिन् । घरमा उत्पादन भएको दुध सहकारीमाफर्त बिक्री हुदैँ आएको छ । पहिले–पहिले उत्पादन भएको दुध घरायसी प्रयोजनार्थ बिक्री गर्ने गरेकी रानाले आजकाल संस्थागत रुपमा सहकारीमार्फत बिक्री गर्छिन् ।

माथि उल्लेख गरिएका किसान त दुध बेचेर आम्दानी गर्ने प्रतिनिधिमुलक पात्र मात्रै हुन् । अहिले सत्यवतीका झण्डै दुई सय किसान व्यवसायीक दुध उत्पादनमा सक्रिय छन् । उनीहरुले दुध बिक्रीबाटै मनग्य आम्दानी गर्दै आएका छन् । सहकारी वा उद्योगमार्फत दुध बिक्री गर्ने किसानलाई पालिकाले अनुदानको समेत व्यवस्था गरेको छ ।

पाँच करोडको दुध उत्पादन
सत्यवती गाउँपालिकामा गत आर्थिक बर्षमा साढे करोडभन्दा बढीको दुध उत्पादन भएको छ । गाउँपालिकामा गत बर्षमा पाँच लाख १७ हजार ६१४ लिटर दुध चार करोड ६५ लाख ८५ हजार २६० रुपँैयामा बिक्री भएको हो । पालिकाका कुल एक सय ८७ कृषकले दुध सातवटा उद्योग तथा कृषि समुहमा दुध बिक्री गरेका हुन् ।

किसानले गाईको प्रतिलिटर ८० र भैसीँको प्रतिलिटर ९० रुपँैयामा दुध बिक्री गर्दै आएको सत्यवती गाउँपालिकाका पशु शाखा प्रमुख नारायण खनालले जानकारी दिए । सत्यवतीमा उत्पादन भएको दुध स्थानीय बजारका साथै रिडी, बुटबल लगायतका स्थानमा पुग्ने गरेको छ ।

दुधमा गाउँपालिकाको अनुदान
गाउँपालिकाले दुध उत्पादन बढाउनको लागि गाई खरिद एवं उत्पादन भएको दुधमा अनुदान दिदैँ आएको छ । गाई खरिदमा प्रति गाई २५ हजार, दुधमा प्रतिलिटर तीन रुपँैया र दुध खरिद गर्ने संस्थालाई प्रति लिटर २५ पैसाका दरले अनुदान उपलब्ध गराउदैँ आएको खनालले बताए ।

यसरी पालिकाले गत बर्ष गाई खरिदमा २० वटा गाईको पाँच लाख, दुधमा १३ लाख आठ हजार चार सय ९६ एवं सम्बन्धित संस्थालाई तीन लाख ४७ हजार दुई सय ८३ गरी कुल २१ लाख ५५ हजार सात सय ७९ रुपैँया अनुदान वितरण गरेको छ ।

गाउँपालिकाले मासिक कम्तिमा दुई सय लिटर दुध बिक्री गर्नेलाई मात्र अनुदान दिदैँ आएको छ । ‘दुध उत्पादनमार्फत किसानको आम्दानी बढाउने प्रमुख लक्ष्य हो ।’ पशु शाखा प्रमुख खनालले भने, ‘लक्ष्यअनुसार प्रगती भएको छ, दुधमा हामी आत्मनिर्भर छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

ट्रम्पले किम जोङ उनसँग भेट्ने बताएलगत्तै प्योङयाङद्वारा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण