काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका हेलो सरकार र राष्ट्रिय सतर्कता केन्द्रको संयुक्त टोलीले काठमाडौं उपत्यकाका चार यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ ।
संयुक्त टोलीले शुक्रबार कलंकी, चाबहिल, राधेराधे र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेर सेवा प्रवाहको अवस्था, सेवाग्राहीका समस्या तथा सूचना प्रविधि प्रणालीमा देखिएका अवरोध’bout जानकारी लिएको हो ।
हेलो सरकार कार्यालयका उपसचिव कृष्ण सापकोटाका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका सेवासम्बन्धी गुनासा बढेपछि अनुगमन तथा समन्वय गरिएको हो ।
“विशेषगरी लाइसेन्ससहितका सेवासम्बन्धी हेलो सरकारमा गुनासो बढेपछि संयुक्त रूपमा अनुगमन तथा समन्वय गरिएको हो,” उनले भने ।
टोलीले सेवाग्राहीको आवेदन स्वीकृत भए–नभएको, राष्ट्रिय परिचयपत्र ९एनआईडी० प्रमाणीकरण नभएका सेवाग्राहीका लागि म्यानुअल प्रक्रियाबाट लाइसेन्स छपाइको व्यवस्था कार्यान्वयन भए–नभएको तथा विभागबाट जारी परिपत्रअनुसार सेवा प्रवाह भए–नभएको निरीक्षण गरेको थियो ।
त्यस्तै, ‘ड्राइभिङ रजिस्ट्रेसन’मा सेवाग्राही आबद्ध भए–नभएको तथा लिखित र ट्रायल परीक्षाको कम्तीमा १५ दिनअघिको कार्यतालिका तयार गरी सार्वजनिक तथा प्रणालीमा प्रविष्ट गरिएको छ कि छैन भन्ने विषयमा पनि अनुगमन गरिएको थियो ।
सापकोटाका अनुसार केही कार्यालयमा लिखित तथा ट्रायल परीक्षाको अग्रिम १५ दिनको कार्यतालिका सार्वजनिक गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको पाइएको छ । अबदेखि अनिवार्य रूपमा अग्रिम कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइने उनले बताए ।
यसैगरी, सूचना प्रविधिमा अभ्यस्त नभएका, अशक्त तथा असहाय सेवाग्राहीलाई कार्यालयबाहिर निजी व्यक्तिमार्फत फाराम भराउने नाममा ठूलो रकम असुल्ने गरेको गुनासो पनि अनुगमनको विषय बनाइएको थियो ।
यस्ता सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन कार्यालय परिसरभित्रै सहायता केन्द्र वा हेल्पडेस्क स्थापना गर्न निर्देशन दिइएको छ । सम्बन्धित कार्यालयले सात दिनभित्र सहायता केन्द्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने सापकोटाले जानकारी दिए ।
सूचना प्रविधि प्रणालीमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा प्राविधिक समस्या देखिएमा कार्यक्षेत्रमा खटिएको टोली र सूचना प्रविधि समूहबीच समन्वय गरी समाधानको पहल गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
राष्ट्रपतिबाट खोसिँदै कैद माफीको अधिकार
गंगालाल हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य नियुक्त
नेपालमा कति छन् शरणार्थी ?
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्याउँछौं : सभापति लामिछाने
गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो






