मन्त्री छनोटमा कुरा नमिल्दा कर्णालीमा शपथ कार्यक्रम स्थगित

सुर्खेत । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो ।

यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् । अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएको छ ।

‘हाम्रो कुरा मिलेन हजुर, कार्यक्रम रोकिदिनुहोस् भन्नुभयो,’ प्रदेश प्रमुखको कार्यालय स्रोतले भन्यो- ‘अब ११ गतेसम्म हुन्छ कि भन्ने तरिकाले मुख्यमन्त्रीले कुरा गर्नुभयो ।’ यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । तर साबिक समाजवादी धारले नमानेको स्रोत बताएको छ ।

साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन् ।

साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ । भागबन्डा अनुसार, नेकपाको भागमा ३ मन्त्रालय परेको छ । एमालेले भने आफ्नो भागमा परेका ३ मन्त्रालयमा यसअघि मन्त्री पठाइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’