वीरगन्ज । वीरगन्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकहरुले विद्यार्थीलाई नपढाई हाजिरी गरेर आफ्ना नीजि शैक्षिक संस्थामा खटी शैक्षिक भ्रष्टाचार गरेको तथ्य प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ । सो समिति अन्तर्गतको उपसमितिले वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको उक्त विषयमा ७ दिन भित्र आवश्यक विवरण माग गरी छानविन गरी कार्वाही गर्न समेत निर्णयार्थ पत्राचार गरेको पाइएको हो ।
समितिको निर्णय कार्यान्वयनका लागि त्रिभुवन विश्व विद्यालय, किर्तिपुर काठमाण्डौका उपकुलपतिलाई जिम्मेवारी तोकिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पत्र संख्या २०८३÷८४ च.नं. २२ बाट प्रष्ट भएको छ । पत्रमा स्पष्ट लेखिएको छ, वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका स्थायी प्राध्यापकहरूले क्याम्पसमा हाजिरी मात्र गरेर आफ्ना निजी विद्यालय तथा कलेजहरू सञ्चालन गरी राज्यको सेवा सुविधा दुरुपयोग गरेको विषयमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दर्ता भई समितिको उपसमितिको बैठकले आवश्यक छलफल गरी निर्णय गरिएको भनिएको छ । सो निर्णयमा क्याम्पससँग सम्बन्धित विभिन्न विषयगत विवरण तथा कागजातहरू सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिने निर्णय गरेको भन्दै कार्यान्वयनको लागि त्रिभुवन युनिभर्सिटीलाई जिम्मेवारी तोकेको पनि पत्रमा उल्लेख गरिएको छ ।
विवरण पठाइयोः क्याम्पस प्रशासन प्रमुख
समितिको निर्णय अनुसार त्रिविले माग गरेको पत्रको जवाफ ठाकुरराम बहुमुखी क्याम्पसले पनि पठाइसकिएको ठाकुरराम बुहुमुखी क्याम्पसका प्रशासन प्रमुख उमेश साहले बताए । हाजिरीको विवरण त पठाउन सकिन्न । तर अन्य माग भएको विवरण पठाइसकिएको उनको दावी छ ।
ठाकुरराम क्याम्पसको वेथितिका ’bout स्थानीय शम्भु प्रसाद यादवले समिति उपर उजुरी पेश गरेको समितिको पत्रबाट खुलासा भएको छ । प्राध्यापकहरूले बिहान बायोमेट्रिक हाजिरी गरेर सीधै निजी स्कुल, कलेज वा व्यक्तिगत काममा जाने र बेलुका फर्किने बेलामा मात्र पुनः हाजिरी गर्ने गरेको उजुरीमा उल्लेख भएको पाइएको हो । क्याम्पसको तलब खाने र काम अन्यत्रै गर्ने ठाकुररामका कतिपय आंशिक, पार्टटाइमर र करारका प्राध्यापकहरू मात्र नभई स्थायीको पनि चरित्र सही नभएको तथ्य समितिमा पुगेको पनि जनाइएको छ ।
स्थायी प्राध्यापकहरु नै नीजिमा मस्त
धरातलीय यथार्थ पनि त्यस्तै रहेको क्याम्पसका कर्मचारीहरुले पनि पुष्टि गरे । यसरी स्थायी रुपमा प्राध्यापक रहेर पनि आफ्नै नीजि शैक्षिक संस्थाहरुमा दत्तचित्त रहने प्राध्यापकहरुमा पूर्वक्याम्पस प्रमुख उमेश चौरसिया (गोल्डेन फ्यूचर मावि सञ्चालन), ललन द्विवेदी (वीरगन्ज स्कुल सञ्चालन), प्रदीप कुशवाहा (मालिनी एकेडेमी संचालन) राजेन्द्र चौधरी (बीपीएस प्लस २ कलेज संचालन) गरेको भनी उजुरीमा पनि उल्लेख गरिएको पाइएको हो । साथै उमेश चौरसियाको कार्यकालमा भएका नियुक्तिहरू र विश्वविद्यालय अनुदान आयोगबाट आएको रकमको समेत छानबिन गर्नु पर्ने कुरा समेत समिति उपर पुगेको खुलासा भएको छ ।
समितिको निर्णय अनुसार त्रिवीका उपकुलपतिलाई कार्यान्वयन गर्न भनिएको पत्रको मितिे भदौ ३ गते उल्लेख गरिएको छ । सो पत्रमा ७ दिनभित्र आवश्यक विवरण पेस गर्न र अनियमितता माथि छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न पनि भनिएको छ ।

सम्बन्धित समाचार
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
पूर्व कृषि मन्त्री साहले गरिन् विद्यालय भवनको शिलान्यास
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा ४ जनाको मृत्यु
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना दम्पतीसहित ३ को मृत्यु
महिलाविरुद्ध निर्दयी अपराध
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान






