प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १ अर्ब ९२ करोड संकलन

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरिएको ३६ घण्टामै एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताहरूले उक्त रकम जम्मा गरेका हुन्।

यससँगै कोषमा रहेको रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत थियो।

बिहीबार छ घण्टाको अवधिमा मात्रै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। संकलित रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहायता समावेश नभएको मन्त्रालयले जनाएको छ।

बुधबार बिहान नेपाल-चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि कोषमा व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा हुन थालेको हो।

सरकारले कोषमा रकम जम्मा गर्ने कार्यको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागत रूपमा एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्।

व्यक्तिगत रूपमा नगद सहयोग गर्न चाहने दाताले अर्थ मन्त्रालयमै पुगेर रकम प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय