प्रधानमन्त्री बालेनले प्रदेश र स्थानीय सरकारलाई बेवास्ता गरेपछि रास्वपा सभापति रवि सक्रिय

काठमाडौं । भोटेकोशी बाढीको विपत्ति आएको पाँच दिन बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको र संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगरेको गुनासो बढेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवाद थालेका छन् ।

मुख्यमन्त्री र १५ स्थानीय तहका प्रमुखसँग छलफल

विपद्को उद्धार, राहत, अस्थायी बसोबास हुँदै दीर्घकालीन पुनःस्थापना र प्रभावितको जीविकोपार्जनसम्मको योजना बनाउनुपर्ने समयमा संघीय सरकार एकलौटी ढंगले अघि बढेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेपछि लामिछानेले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा संघीय सांसदहरूले उद्धार संयन्त्र आफ्नै निर्देशनमा सञ्चालन गरेको र स्थानीय तहका जनप्रतिनिधिले समन्वय गर्न खोज्दा अपेक्षित सहयोग नपाएको गुनासो आएपछि लामिछानेले संवाद अघि बढाएको रास्वपा नेताहरूले बताएका छन् ।

लामिछानेले आइतबार भोटेकोशी बाढी प्रभावित क्षेत्रका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन् । त्यसअघि उनले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापासँग पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता गरेका थिए ।

रास्वपाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा सहजीकरण गर्न गठन गरेको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले पालिका प्रमुखसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा स्थानीय तहका प्रमुखहरूले प्रभावित क्षेत्रमा देखिएका तत्कालीन समस्या’bout लामिछानेलाई जानकारी गराएका थिए ।

पालिका प्रमुखहरूले विशेषगरी बाढीमा फसेकाको जीवित उद्धार, शव व्यवस्थापन, राहत सामग्रीको वितरण, सडक तथा पुल पुनःस्थापना, विद्युत् र सञ्चारलगायत कनेक्टिभिटीका विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

स्थानीय तहका प्रमुखले संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसक्दा राहत तथा उद्धारमा समस्या भइरहेको बताएका थिए । सडक र पुल बगेपछि कतिपय प्रभावित बस्तीमा राहत सामग्री पु¥याउनसमेत कठिन भएको उनीहरूको भनाइ थियो ।

स्थानीय तहबाट आएका गुनासो तथा सुझावलाई सम्बन्धित सरकारी निकायसम्म पु¥याएर तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता लामिछानेले व्यक्त गरेको रास्वपा नेताहरूले बताएका छन् ।

लामिछानेले आइतबार नै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापासँग पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता गरे । भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच पर्याप्त समन्वय हुन नसकेको बताए । प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पु-याउन कठिनाइ भएको उनले जानकारी गराए ।

प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा प्रदेश सरकारलाई समेत पर्याप्त जानकारी नदिइएको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका थिए ।

विपद्का बेला संघ, प्रदेश र स्थानीय सरकारले गर्ने काम स्पष्ट रूपमा छुट्याउनुपर्ने बताउँदै उनले जलवायु परिवर्तनका कारण नदी तथा खोला किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टी संयन्त्रलाई समन्वयको जिम्मेवारी
पालिका प्रमुखसँगको छलफलपछि लामिछानेले पार्टीले गठन गरेको उद्धार तथा राहत परिचालन संयन्त्रलाई सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

रास्वपाका नेताहरूका अनुसार स्थानीय तहबाट प्राप्त समस्या तत्काल प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीसम्म पु¥याउने र समाधानका लागि पहल गर्ने तयारी गरिएको छ ।

भोटेकोशी बाढीपछि सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा ठूलो क्षति पुगेको अवस्थामा उद्धारसँगै राहत, अस्थायी बसोबास र दीर्घकालीन पुनःस्थापनाको काम अघि बढाउनुपर्ने दबाब सरकारमाथि बढेको छ । यही बेला संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको प्रश्नसमेत राजनीतिक रूपमा उठ्न थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक