…अनि चोभार हुँदै थाइल्यान्डतिर मोडियो बाटो

कीर्तिपुर चोभार डाँडाबाट काठमाडौं उपत्यका नियाल्दा खुला किताबजस्तो लाग्छ, सहर । कतै पुराना बस्तीका बाक्ला घर । कतै गुजुमुज्ज कंक्रिटका भवन । आधुनिक संरचनाले आकाश छुन खोजिरहेका परिवेशबीच कतै मन्दिरका घण्टी पनि सुनिन्छन्, तर सुस्त । बाक्लो गाडीका कोलाहल । बद्लिँदै गरेको सहर । अनेकाथरी जीवनशैली । प्रकृति र मानिसबीचको यही दोबाटोमा अक्षर कुँदिरहेका भेटिन्छन्, विक्रमभक्त जोशी ।

एउटा पुस्तकले तय गरेको विक्रमभक्त जोशीको अनन्त यात्रा

चोभार उनका लागि काठमाडौंको भौगोलिक बिन्दुमात्र पनि होइन । विकासको चमकभित्र हराउँदै गएको मानवीय संवेदना र यात्राक्रममा भेटिएका मानिसका कथा उनका अक्षरमा प्रवेश गर्छन्– समयकालको साक्षीजसरी । पुराना र नयाँबीचको दूरी उनले साहित्यिक कोणबाट बिस्कुन पारेका छन् । परम्परा र आधुनिकताबीचको द्वन्द्व उनका अक्षरमा दौडिरहेका हुन्छन् । अनि, उभिन्छन्, ‘चोभार ब्लुज’का पात्र पाठकमाझ एउटा फरक संसार लिएर । उनका वाङ्मयी शब्द कहिलेकाहीँ प्रश्न प्रतीकसमेत बनिदिन्छन् ।

चोभारमा बसेर लेखिएको अनुभूति समुद्रपारि थाइल्यान्डसम्म छछल्किरहेको छ । कथा स्थानीय हुन सक्ला, त्यसको अनुभूति भने सार्वभौमतामा फैलिन पुग्छ । यही कारण एउटा नेपाली पात्रको पीडा अर्को देशमा बसेका नेपालीले आफ्नैजस्तो महसुस गर्न पुग्छन् । काठमाडौंका कुनै गल्लीको सम्झना बैंककमा बसेका नेपालीका लागि पनि आफ्नै घरको सम्झना बन्न सक्छ । त्यसैले भनिन्छ नि– साहित्य र संगीतले भूगोलको सीमासमेत तोडिदिन्छ ।

विक्रमभक्त जोशी कथा लेख्नुअघि जीवन नियाल्छन् । बाटोमा भेटिएका मानिस, अपरिचित ठाउँका दृश्य, पुराना बस्तीको मौनता, सहरको भागदौड वा समाजको कुनै पनि साना विसंगतिले उनलाई छोइहाल्छन् । ‘चोभार ब्लुज’का यी सर्जक मानिस र समय जोड्ने सेतु पनि हुन् । उनको यही प्रसिद्ध पुस्तकमा समेटिएका निकथा एउटै विषयको मात्र पछि लागेका छैनन् । यात्रा, प्रेम, विरह, सामाजिक यथार्थ अक्षरमा कुँद्न माहिर लाग्छन्, विक्रमभक्त जोशी । राजनीतिक व्यंग्य त छ नै, सामान्य मानिसका असामान्य जीवन भोगाइले उनलाई अझ बढी छुन्छ । उनको बुझाईमा विविध विषय जोड्ने एउटै धागा हुन्, मानिस र समय ।

थाइल्यान्डमा हालै सम्मानित हुँदा त्यहाँ उनीमात्रै थिएनन्, सिंगो नेपाली भाषा थियो । नेपालीका कथा थिए । विदेशमा रहेका नेपालीका लागि भाषा संवाद गर्ने माध्यम त हो नै, त्यससँगै देशप्रेम पनि हो । घरबाट टाढा बसेकाका लागि ‘नेपाली’ शब्दप्रति अपूरणीय माया हुन्छ । यस्तो माया, जुन बिझे पनि मिठो लाग्छ । छाडेर आएको आँगन, गल्ली, पहाड, सहर, परिवारका सम्झना मिठा लाग्छन् । विदेशमा नेपाली साहित्य पुग्नु सांस्कृतिक सम्बन्ध विस्तारको महइभ्वपूर्ण पाटोसमेत हो । सायद, विक्रमभक्तको उपस्थितिले त्यहाँका नेपालीलाई यस्तै न्यानो अनुभूति बाँडेर आएको छ ।

000
उसो त, विक्रमभक्त जोशीका लागि यात्रा गन्तव्यसम्म पुग्ने प्रक्रियामात्रै पनि हुनै सक्दैन । उनको कुटुहलता कथा चुम्ने हुटहुटी पनि हो । त्यसैले उनका रचनामा यात्रा गर्दा पाठक नयाँ ठाउँमात्रै देख्दैनन्, त्यहाँको जीवनशैलीभित्र डुब्नसमेत हिचकिचाउँदैनन् । ‘चोभार ब्लुज’ शीर्षक आफैंमा विम्ब हो । काठमाडौं उपत्यकाको लोभलाग्दो भूगोल चोभारले ‘ब्लुज’को मनोवैज्ञानिक भाव समेटेको छ । भूगोलसँग जोडिएको स्मृति । सहरसँग जोडिएको उदासी । परिवर्तनसँग जोडिएको बेचैनी । अनि, मानिसका मनभित्र गुट्मुटिएका अनगिन्ती अनुभूति । पुस्तकको शीर्षक अर्थपूर्ण यसकारण पनि लाग्छ– चोभार समयको बहावसँगै समाजको प्रतीक बन्दै छ ।

विक्रमभक्तको लेखनमा व्यंग्यात्मक स्वाद पनि उत्तिकै चाख्न पाइन्छ । राजनीतिक तथा सामाजिक विसंगति उनको कलममार्फत समाजका तहतप्कासम्म पुगिरहेका छन् । सामाजिक सञ्जालमा लेखिने व्यंग्यात्मक ‘स्टाटसले पनि उनको व्यंग्य चेतनास्तर कतिसम्म छ ?’ भन्ने अनुभूत गर्न सकिन्छ । सामाजिक समस्या र राजनीतिक व्यंग्यमै पनि उनी सीमित छैनन् । प्रेमरस, विरह, मानवीय सम्बन्धका अनेक रङ उनीभित्र घुलिरहेका हुन्छन् । उनका कथामा व्यक्ति र समाज छुट्टाछुट्टै संसार भएर आउँदैनन् । व्यक्तिगत पीडामा समय उसको छाया हुन्छ र प्रेममा पनि समाजको प्रभाव बढी देखिन्छ । यस्तो लाग्छ– उनका रचनाले उपदेश बन्न दिँदैनन् । पाठकले नै निष्कर्षविन्दू खोज्नुपर्छ ।

000
तीव्र गतिमा परिवर्तित काठमाडौं । हरिया खे तमा अग्ला घरका साम्राज्य । चौडा भएका साँघुरा बाटा । पुराना बस्तीवरिपरि नयाँ संरचना । विकासले मानिसको जीवन सहज बनाए पनि त्यससँगै अनगिन्ती प्रश्नसमेत जन्मिरहेका छन् ।

विकासका नाममा के हराउँदै छ त ?
‘आधुनिक बन्नेक्रममा हामीले आफ्नै स्मृति त गुमाइरहेका छैनौं ?, पुराना घर भत्किँदा त्यससँगै हाम्रा पुर्खाका मन भत्किएका त छैनन् ?, सडक फराकिला हुँदै कसैको घरआँगन विराना भइरहेका छन् कि ?’ धेरै प्रश्न जोशीको लेखनमा अनुभूत हुन्छन् । उनका पात्र पाठकका मनमा नङमासुसरी गढ्छन् । उनी पाठकलाई उत्तर दिन हतार गर्दैनन्, प्रश्न जिम्मा लगाइदिन्छन् । कथा पढिसकेपछि पाठक आफ्नै जीवनतिर फर्कनुपर्ने बाध्यतामा पर्छन् ।

साहित्यकार जोशीका पात्र कुनै असाधारण संसारबाट आएका भने होइनन् । समाजभित्रैबाट उनका पात्र सल्बलाउन आइपुग्छन् । साना सपना, ठूलो पीडा । समाजसँग सम्झौता गरिरहेका मनहरू उनका पात्रका रूपमा जोडिन्छन् । मानवीय विविधताकै कारण उनका कथा जीवननजिक लाग्छन् ।

समाजिक मूलधारभन्दा परतिरका मानिसप्रति उनको लेखकीय क्षमता बढी चलायमान लाग्छ । सफलता, शक्ति वा असाधारण क्षमताका पात्र कथाकेन्द्रमा आए पनि जोशी समाजबाट ओझेल परेका मानिसतर्फ बढी आकर्षिक हुन्छन् । फरक क्षमताका व्यक्तिले भोग्ने व्यवहार, सामाजिक विभेद, असमान अवसर प्रवृत्तिमाथि उनको लेखनी प्रश्न बनेर उभिदिन्छ । ‘ती भुइँमान्छे इतिहासका ठूला पात्र नहोलान् । तर, उनीहरूका पनि आफ्नै इतिहास हुन्छ’ भन्ने वकालतमा उत्रन्छन्, विक्रमभक्त जोशी ।

000
‘चोभार ब्लुज’पछि जोशीले नेपाली साहित्यकासमा फरक पहिचान बनाए । एउटै पुस्तकमार्फत पाठकमाझ अमिटछाप बनाउनु अर्थपूर्ण उपलब्धि हो । साहित्यमा वास्तविक सफलता पुरस्कार वा सम्मान सूचीमात्रले मापन हुँदैन, पुस्तकका पन्ना बन्द गरेपछि पनि पाठकका मनमा जरा गाड्नुचाहिँ खास पुरस्कार हो । साहित्यिक यात्राक्रममा सम्मान र पुरस्कारले थप चर्चामा आएका जोशीको कीर्ति देशबाहिरसम्म पुगेको छ । थाइल्यान्डमा प्राप्त सम्मान त्यसै यात्राको महइभ्वपूर्ण अध्यायमध्ये हो । त्यसो त, ‘चोभार ब्लुज’बाट बनेको पाठकअपेक्षा जोशीका लागि गहन जिम्मेवारी बनेको छ । पाठक अब उनको आगामी लेखनमा अझ परिपक्व आवाज, अझ गहिरा पात्र, फराकिलो विषय पढ्न चाहन्छन् ।

000
स्वरूप बद्लिए पनि चोभार अझै त्यहीँ छ । भूमि उही हो, काठमाडौंको आवरण बदलिँदै छ । पुराना घर भत्किरहेका छन् । नयाँ संरचना बन्दै छन् । मानिस भौतारिरहेकै छन् । समाजका पुराना प्रश्न मात्र भेष बद्लेर घरआँगन डुलिरहेका छन् । यिनै छ्यासमिस दृश्यबीच विक्रमभक्त कुनै नयाँ पात्रको खोजीमा छन् । उनको खोज कुनै संवाद सुन्दै गरेको हुन सक्छ । अति सामान्य घटनाभित्र पनि असाधारण कथा केलाइरहेका पनि हुन सक्छन् । साहित्यिक सुन्दरता यही हो, उनलाई भुइँमान्छे जो मन पर्छ । चोभारवरिपरि बाँचिरहेका मानिस, समय, प्रेमपीडा, विरोधाभास उनको स्मृतिपटमा तरंगित भइरहेका छन् ।

चोभारबाट सुरु यात्रा कुनै एकबाट अर्को ठाउँसम्मको यात्रामात्रै होइन । थाइल्यान्डमा प्राप्त सम्मान त्यस यात्राको सुन्दर मोडमात्रै हो, अन्तिम गन्तव्य हुँदै होइन । साहित्यमा कहिल्यै पनि गन्तव्य हुँदैन । चोभारबाट निस्किएको अक्षरयात्रा मसी सुक्नेगरी लेखिनु पनि त भएन । त्यो त, आकाससरी अनन्त निरन्तर फैलिरहनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन