इलाम । २०८१ साल असोजमा परेको अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत राजदुवाली सडक लामो समय अवरुद्ध भएको थियो । राजदुवाली सडक करिब एक महिनासम्म सञ्चालन हुन नसकेपछि वैकल्पिक मार्गका रूपमा तिल्केनी–सिमलगोलाई तथा मेची करिडोरअन्तर्गत भञ्ज्याङ–बेलासे सडक सञ्चालनमा ल्याउने प्रयास गरिएको थियो ।
वैकल्पिक सडक सञ्चालनका लागि पुवा खोला र ठाडे खोलामा पुल आवश्यक थियो । सडक डिभिजनले राजदुवाली सडक मर्मतसँगै वैकल्पिक सडकमा पर्ने खोलामा पुल निर्माण अघि बढाएको थियो । पुवा खोलामा बेलीबृज जडान गरिएको थियो भने ठाडे खोलामा कल्भर्ट निर्माण गरिएको थियो ।
त्यस्तै, तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा मेची राजमार्गको पुवाखोला बजारमा प्रयोगविहीन अवस्थामा रहेको बेलीबृज निकालेर जडान गरिएको थियो । पुवाखोला बजारमा पक्की पुल निर्माण भएपछि त्यहाँको बेलीबृज जोगमाई खोलामा सारिएको थियो । २०८२ सालको वर्षायाम सुरु हुनुअघि नै यी तीन स्थानमा पुल निर्माण तथा सडक मर्मत सम्पन्न गरिएकाले राजदुवाली सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्ने आधार तयार भएको थियो ।
तर, २०८२ असोज १८ र १९ गते आएको बाढीले पुवा र जोगमाई खोलाका बेलीबृज बगाउनुका साथै मेची करिडोरअन्तर्गत बेलासेको पक्की पुलमा समेत क्षति पु¥यायो। बाढीपहिरोमा जिल्लाभर दर्जनौँ पुल तथा सडकमा क्षति पुगेको थियो । उक्त विपद्मा ३९ जनाको मृत्यु भएको र एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसपछि इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

बाढीले तहसनहस पारेको राजदुवाली सडक पुनः मर्मत गरिए पनि अन्य सडकमा पुल नहुँदा यातायात सञ्चालनमा समस्या देखिएपछि राजदुवाली सडकलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको थियो । सडक विभागले भूगर्भविद् डा. मधुसूदन आचार्य नेतृत्वको टोलीमार्फत अध्ययन गराई सडक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो । राजदुवाली सडक अवरुद्ध हुँदा जोगमाई, पुवा र बेलासेमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो । तर, खोलामा पानीको बहाव बढ्दा डाइभर्सन बगाउने र बिहानै पुनः निर्माण गर्नुपर्ने अवस्था आएपछि बेलीबृज जडानलाई प्राथमिकता दिइएको हो ।
बेलासेमा क्षतिग्रस्त पुलको एक स्पान निकालेर बेलीबृज जडान गरिएको छ । पुवा खोलामा पनि नयाँ बेलीबृज जडानको काम सुरु भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । जोगमाई खोलाका लागि आवश्यक बेलीबृजसमेत भन्सार हुँदै नेपाल भित्रिसकेको कार्यालयले जनाएको छ ।
दुई साताभित्र सञ्चालनको तयारी
वर्षायाममा मेची राजमार्गको राजदुवाली सडक पटक–पटक अवरुद्ध भएपछि इलामका मुख्य तथा वैकल्पिक सडकमा बेलीबृज निर्माण हुँदै छन । जोगमाई र पुवा खोलामा निर्माण भएका बेलीबृज गत असोजको बाढीले बगाएको र बुलासेको पक्कि पुलमा क्षति पु¥याएका कारण यातायात सञ्चालनमा समस्या भएपछि खोलामा पुनः बेलीबृज जडान गर्न थालेको हो । बेलासेमा बेलीबृज जडान भईसकेको छ भने पुवाखोलामा जोड्न सुरु भएको छ । पुवाखोलाको जोड्दै गर्दा जोगमाई खोलाका लागि सामान आईपुगे तत्काल जडान हुने छ ।
पुवा खोलामा जडान गर्न लागिएको बेलीबृज दुईसय ३० फिट लामो र १४ फिट चौडा रहेको छ । संघीय सरकारको दुई करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा पुल जडानको काम भइरहेको हो । बेलीबृज दुई साताभित्र जडान सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको सडक डिभिजन कार्यालय, इलामका सूचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए ।
इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडानका लागि भारतबाट प्राविधिक टोलीसमेत नेपाल आइपुगेको छ । पुल जडानका लागि आवश्यक सिभिल संरचना भने गत आर्थिक वर्षमै तयार भइसकेको थियो । उक्त बेलीबृज भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको हो ।
सम्बन्धित समाचार
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा–दन्त शिविर
कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
इलामको फास्ट ट्रयाक: न तोडिन्छ ठेक्का, न जोडिन्छ सडक
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
प्रेस युनियन झापाको अधिवेशनमा ३ पत्रकार सम्मानित





