पेरिस । विश्व तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना बढिरहेका बेला संयुक्त राष्ट्रसंघले तापक्रम वृद्धिलाई नियन्त्रण गर्दै केही समयपछि पुनः १.५ डिग्रीमा फर्काउने रणनीति बनाउन विश्वलाई आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सम्भावित ‘ओभरसुट’ लाई छोटो र सीमित राख्दै तापक्रम घटाउने मार्ग तय गर्नुपर्नेमा जोड दिइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष नै १.५ डिग्रीको सीमा केही समयका लागि पार हुने सम्भावना स्वीकार गरेका थिए । सन् २०१५ को पेरिस सम्झौतामार्फत करिब २०० मुलुकले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । तर बढ्दो तापक्रमका कारण अब जलवायु नीतिले ओभरसुटपछिको अवस्थालाई समेत सम्बोधन गर्नुपर्ने युएनईपीको निष्कर्ष छ ।
प्रतिवेदनका सहलेखक तथा एक्सेटर विश्वविद्यालयका रिचर्ड बेट्सले विश्वले तातो हुँदै गएको परिस्थितिसँग जुध्नुपर्ने भए पनि तापक्रम वृद्धिलाई सीमित गर्न अझै धेरै गर्न सकिने बताएका छन् । अर्की सहलेखक डेब्रा रोबट्र्सले जलवायु शासन प्रणालीलाई सम्भावित ओभरसुटअनुकूल पुनःव्यवस्थित गर्नुपर्ने बताएकी छिन् ।
वैज्ञानिकहरूका अनुसार १.५ डिग्रीभन्दा माथिको तापक्रमले चरम मौसमका घटना बढाउनुका साथै हिमक्षेत्र पग्लिने र कोरल चट्टानमा क्षति पुग्नेजस्ता जोखिम बढाउँछ । सन् १८५०–१९०० को औसतको तुलनामा विश्व तापक्रम वृद्धि करिब १.४ डिग्री सेल्सियस पुगिसकेको छ र पछिल्ला तीन वर्ष रेकर्डकै सबैभन्दा तातो वर्ष बनेका छन् ।
युएनईपीकी कार्यकारी निर्देशक इन्गर एन्डरसनले १.५ डिग्री लक्ष्य अझै कायम रहेको बताउँदै तापक्रम सीमा पार भए पनि त्यसलाई पुनः घटाउने प्रयास जारी राख्नुपर्ने बताएकी छिन् । महासचिव गुटेरेसले पनि यस शताब्दीको अन्त्यसम्ममा तापक्रमलाई पुनः १.५ डिग्रीभन्दा कममा ल्याउन सकिने बताएका छन् ।
युएनईपीले उत्सर्जनमा तीव्र कटौतीसँगै वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाएर भण्डारण गर्ने प्रविधि आवश्यक हुने जनाएको छ । तर जलवायु अभियानकर्ताले प्रविधिमाथिको अत्यधिक निर्भरताको विरोध गर्दै तत्काल कोइला, तेल र ग्यासको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन् । ग्रीनपिस इन्टरनेसनलका जास्पर इन्भेन्टरले ओभरसुटको सम्भावना १.५ डिग्री लक्ष्य त्याग्ने कारण बन्न नहुने बताएका छन् ।
सम्बन्धित समाचार
सात वर्षीय छोरालाई बाटोमा एक्लै छाडेर बाबु आरोहणका लागि हिँडेपछि…
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
यी हुन्- विश्वका सबैभन्दा ५ मोटा नेता
नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय
अमेरिकी आक्रमणपछि इरान रणनीति : ‘कुचल्ने र चकनाचुर पार्ने’
दुध बिक्रीबाटै मनग्य आम्दानी गर्दै सत्यवतीका किसान
विज्ञ ल्याउने नाममा ‘सहकारी बद्मास’लाई मन्त्रालयको साँचो






