विज्ञ ल्याउने नाममा ‘सहकारी बद्मास’लाई मन्त्रालयको साँचो

हेटौँडा । प्रदेश सरकारलाई ‘मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना’ बनाएको अभियोग खेप्दै आएको बागमती प्रदेश सरकार विस्तारमा विज्ञ ल्याउने नाममा ‘बद्नाम’ व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सरकार गठन र सत्ता जोगाउन दलहरूले सिद्धान्त, नीति र पार्टी निर्णयसमेत बेवास्ता गरेको आरोप लागिरहेका बेला विवादित पृष्ठभूमिका व्यक्तिलाई ‘विज्ञता’का नाममा मन्त्री बनाउने तयारीले प्रदेश सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।

बागमती प्रदेशमा मन्त्री छनोटलाई लिएर विवादसमेत देखिएको छ । विज्ञता र क्षमता भएको व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिने दाबी गरिए पनि विवादित सहकारी प्रकरणमा मुछिएका प्रदेश सांसद ज्ञानबहादुर तामाङलाई मन्त्री बनाउने तयारी भएपछि सरकारको नियतमाथि प्रश्न उठेको हो ।

स्रोतका अनुसार मुख्यमन्त्री थापाको विरोधमा रहेका एमालेभित्रका समूहसमेत तामाङलाई मन्त्री बनाउने विषयमा सहमत भएका छन् । तामाङलाई सहकारी मन्त्रालय दिने गरी सहमति भएको स्रोतको दाबी छ । तर, उनले रोजेको मन्त्रालय नपाएपछि बिहीबार विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।

एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित तामाङ बागमती प्रदेश सरकारले नै समस्याग्रस्त घोषणा गरेको नेसनल नमोबुद्ध सहकारीका पूर्वअध्यक्ष हुन् । उनी सांसद निर्वाचित भएपछि औपचारिक रूपमा अध्यक्ष पदबाट अलग भए पनि उनको नेतृत्वकालमा भएका कारोबार र ऋण असुली हुन नसक्दा बचतकर्ताको रकम फिर्ता हुन नसकेको आरोप छ ।

सहकारीमा समस्या देखिएपछि बागमती प्रदेश सरकारले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । काठमाडौंको सामाखुसीमा रहेको नेसनल नमोबुद्ध सहकारीका तत्कालीन अध्यक्ष तामाङसहितका पदाधिकारीविरुद्ध करिब ११ हजार बचतकर्ताको झन्डै दुई अर्ब रुपैयाँ अपचलन गरेको आरोपसहित प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो ।

उजुरीअनुसार तामाङ अध्यक्ष रहेका बेला महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम संकलन गरिएको थियो । त्यसबाट नुवाकोटको लिखु गाउँपालिका–९, थानसिङमा ४४ रोपनी जग्गा खरिद गरी उक्त जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा १४ करोड रुपैयाँ ऋण लिइएको दाबी गरिएको छ ।

तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका पदाधिकारीले पनि उक्त कारोबारलाई निरन्तरता दिएको उजुरीमा उल्लेख छ ।

तामाङ २०७२ देखि २०७८ सम्म सहकारीको अध्यक्ष थिए । उनी सहकारीबाट अलग भएपछि बचतकर्ताले बचत फिर्ता माग्दा सहकारीले आनाकानी गरेको आरोपसमेत लगाइएको छ । २०७९ पुस २९ गते सम्पन्न २२औँ अधिवेशनपछि राजकुमार लामा सहकारीको अध्यक्ष छन् ।

पाँच मन्त्रालयको जिम्मेवारी बाँडफाँट
नयाँ गठबन्धन सरकारमा नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन् । भारतबहादुर केसी र ज्ञानबहादुर तामाङ पनि मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्री भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरल सहयात्रीले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्ने भएका छन् ।

राप्रपाबाट मन्त्री बनेका गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री थापाले भने दुई महत्वपूर्ण मन्त्रालय आफैँसँग राखेका छन् । कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्ने भएका छन् ।

सरकार एमालेको, विवाद राप्रपामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव थापाले पार्टीको निर्णयविपरीत एमालेका मुख्यमन्त्री उम्मेदवारलाई समर्थन गरेपछि उनीमाथि पार्टीले कारबाही प्रक्रिया अघि बढाएको छ । राप्रपाले थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न, पार्टी सदस्यता निलम्बन गर्न तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णय र पटक–पटकको निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन गरेको भन्दै थापाको गतिविधिलाई गम्भीर अनुशासन उल्लंघन भनेको छ । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले अन्य सांसदलाई सरकारमा सहभागी नहुन निर्देशन दिइएको र थापालाई पार्टी सदस्यबाटै निष्कासन गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको अनुशाषन समितिको बैठक बस्दै, देउवा पक्षधरलाई होला त कारबाही ?