काठमाडौं । यही १० भदौमा रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन् ।
बाढी गएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएका हुन् । आज पशुपतिस्थित आर्यघाटमा दर्जनौँ कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा एकैपटक दर्जनौँ संख्यामा बेपत्ताका परिवारजन भेला भएपछि दिनभरजसो बाक्लो भीड लागेको थियो । बाढीमा आफन्त गुमाएका परिवारजनका लागि पछिल्ला दिनहरू पीडादायी भएका छन् । पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश संगतका अनुसार आज मात्रै आर्यघाटमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ ।
‘कुशका शवको हामीले छुट्टै रेकर्ड राख्ने गरेका छैनौँ, तर आज कम्तीमा पनि एक सयभन्दा बढी प्रतीकको शव जलाइएको थियो,’ उनले भने ।
बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि परिवारजनले अन्तिम संस्कार गर्न बाध्य भएको बताएका छन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन् ।
नुवाकोटका बबिन रिजालका अनुसार भोटेकोशी बाढीमा उनका आमा र बुवा बेपत्ता छन् । बाढीमा बगेको लामो समय बितिसक्दा पनि बुवा, आमाको अवस्था पत्ता लाग्न नसकेपछि आज पशुपति आर्यघाटमा कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको उनको भनाइ छ ।
‘बाढीमा परी मेरा आमा र बुवा बेपत्ता हुनुभएको छ । अब जीवितै भेटिने आशा मरिसकेकाले आज कुशका शव बनाएर पशुपतिमा अन्त्येष्टि गरेका छौँ,’ उनले भने ।
बेपत्ताको शव फेला नपरेपछि परिवारजनले धार्मिक संस्कारअनुसार अन्तिम कर्म गर्नुलाई पीडाका बीचमा आफन्तप्रतिको अन्तिम श्रद्धाञ्जलीका रूपमा लिएका छन् । आर्यघाटमा कुशबाट तयार पारिएका प्रतीकात्मक शव जलाउँदा आफन्तजन भावविह्वल बनेका थिए ।
भोटेकोशी नदीमा गएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि ठूलो सङ्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
बेपत्ताको खोजी भइरहे पनि लामो समयसम्म कुनै सम्पर्क वा अवस्था पत्ता नलागेपछि केही परिवारले आफन्तको जीवित उद्धार हुने आशा त्याग्न थालेका छन् । त्यसपछि उनीहरूले हिन्दू परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कारमा सामेल हुन थालेका हुन् ।
आर्यघाटमा आज भएको सामूहिक अन्त्येष्टिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडाको गहिराइसमेत झल्काएको छ । आफ्ना आफन्तको वास्तविक शवसमेत देख्न नपाएका परिवारजनले प्रतीकात्मक शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै धार्मिक संस्कार पूरा गरेका छन् ।
बेपत्ता आफन्तको सम्झनामा गरिएको यस अन्तिम संस्कारका क्रममा आर्यघाटमा उपस्थित परिवारजन र आफन्तहरू भावुक देखिन्थे । कसैले कुशबाट तयार गरिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए ।
बाढीले आफन्त गुमाएका परिवारका लागि शव नपाउनुको पीडा अझ गहिरो छ । मृत्यु पुष्टि गर्न शवसमेत प्राप्त नभएका अवस्थामा लामो समयसम्म अनिश्चिततामा बस्नुपरेका परिवारजनले आज प्रतीकात्मक अन्त्येष्टिमार्फत आफन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । यसरी कुशबाट शवको प्रतीक बनाएर गरिएको सामूहिक अन्त्येष्टि भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले भोगिरहेको पीडा, अनिश्चितता र भावनात्मक संघर्षको मार्मिक चित्र देखिएको छ ।
सम्बन्धित समाचार
ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त
काठमाडौं महानगरले सोध्यो ९२ निजी विद्यालयलाई स्पष्टीकरण
टिमुरेस्थित सशस्त्रको बीओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन
भोटेकोशी बाढी : उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
बाढीबाट यातायात क्षेत्रमा भएको क्षति सम्बन्धमा अध्ययन गर्न समिति गठन
‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन
पोखरामा ७६ शव गाडेर व्यवस्थापन






