७ वर्षदेखि अल्झिएको राँके–गैँडे सडक : हिउँदमा धुलो, बर्खामा हिलो

इलाम । पश्चिम इलामका बासिन्दालाई तराईसँग जोड्ने राँके–गैँडे सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । २०७६ सालमा शिलान्यास गरिएको सडक निर्माणले गति लिन नसक्दा स्थानीयले वर्षौंदेखि हिउँदमा धुलो र बर्खामा हिलोमा यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन् ।

फाकफोकथुम हुँदै माङ्सेबुङ गाउँपालिका र झापासम्म जोडिने करिब ५२ किलोमिटर सडकको साढे २६ किलोमिटर खण्ड कालोपत्रे गर्ने योजनासहित काम अघि बढाइएको थियो । करिब ६८ करोड रुपैयाँ लागतमा दुई प्याकेजमा ठेक्का लगाएर निर्माण सुरु गरिए पनि एउटा खण्डमा काम सुस्त हुँदा सडक निर्माणको उद्देश्य नै अधुरो बनेको छ । दोस्रो खण्डमा कालोपत्रेको काम अघि बढे पनि पहिलो खण्डअन्तर्गत देउरालीदेखि बरालडाँडासम्मको सडकको बेस निर्माणसमेत पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थपिए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।

फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका स्थानीय खगेन्द्र अधिकारीले सडकको काम समयमा नहुँदा समस्या भएको बताए । निर्माण व्यवसायीको ढिलासुस्तीले स्थानीयलाई वर्षौंदेखि सास्ती भएको उनको भनाइ छ । ‘सडक बन्छ भनेर वर्षौं कुर्दा पनि अवस्था उस्तै छ । बर्खामा हिलो र खाल्डाखुल्डीले यात्रा गर्नै समस्या हुन्छ,’ उनले भने ।

राँके गैँडे सडक निर्माणको जिम्मा लिएका सन्तोष कटुवाल २६ किलोमिटरको ठेक्का ७० करोड रुपैयाँको हाराहारीमा लागे पनि वार्षिक रूपमा ५ देखि ७ करोड रुपैयाँ मात्र बजेट विनियोजन हुने गरेका कारण यो ठेक्का रुँगेर बस्नुपरेको बताउँछन् ।

सडक निर्माण सुस्त हुनु मात्रै होइन, सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा बर्खामा यातायात सञ्चालन थप जोखिमपूर्ण हुने गरेको छ । खोलामा पुल नहुँदा पानीको बहाव बढेका बेला सवारी आवतजावत समस्या हुने गरेको छ ।

पश्चिम इलामको कृषि उत्पादनलाई तराईका बजारसम्म पु¥याउने मुख्य माध्यमका रूपमा हेरिएको यो सडक निर्माणमा भइरहेको ढिलाइले किसानसमेत प्रभावित भएका छन् । सडक बनेमा स्थानीय कृषि उपजको बजारीकरण सहज हुने र उत्पादनको व्यावसायीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो । तर, सडक निर्माण अलपत्रजस्तै बन्दा स्थानीयको त्यो अपेक्षा अहिलेसम्म अपेक्षामै सीमित छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

धुर्कोटका सुन्तला बिक्री हुन थाले