बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिनका लागि निरन्तरता दिने भएको छ।

एनसेलका अनुसार निःशुल्क सेवा भदौ २० गतेदेखि थप ७ दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध हुनेछ। बाढी प्रभावित नागरिकलाई सहज सञ्चार सुविधा उपलब्ध गराउनुका साथै खोज, उद्धार तथा राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले सेवा निःशुल्क गरिएको कम्पनीले जनाएको छ।

यसअघि एनसेलले बाढी आएको भदौ १० गतेदेखि प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा दिने घोषणा गरेको थियो। त्यसपछि सेवा अवधि थप ७ दिन बढाएर भदौ १९ गतेसम्म पुर्‍याइएको थियो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्को समयमा प्रभावित नागरिक र उद्धार तथा राहतमा खटिएका टोलीलाई सञ्चारमा सहजता होस् भनेर निःशुल्क सेवा थप गरिएको बताए।

उनका अनुसार बाढीका कारण अवरुद्ध भएका एनसेलका ९२ प्रतिशत टावर पुनः सञ्चालनमा आइसकेका छन्। यसले प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्क गर्न र उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय गर्न सहज हुने कम्पनीको विश्वास छ।

९२ प्रतिशत टावर सञ्चालनमा
भोटेकोशी बाढीका कारण एनसेलका २७ वटा मोबाइल टावर अवरुद्ध भएका थिए। तीमध्ये २५ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ।

रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर भने बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। त्यस्तै, रसुवाकै उत्तरगया–तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पु¥याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको एनसेलले जनाएको छ।

एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै खोज, उद्धार, राहत तथा जनचेतनामूलक सूचना प्रवाहमा पनि सहयोग गर्दै आएको जनाएको छ। सम्बन्धित निकायका सूचनाहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत नागरिकसम्म पुर्‍याउँदै आएको कम्पनीले बताएको छ।

यसैबीच, बाढी गएको भोलिपल्टै एनसेल फाउन्डेसनले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन