विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श

भूकम्प, बाढी, पहिरो, हिमपहिरो वा महामारी जस्ता प्राकृतिक तथा मानवसिर्जित विपदले मानव जीवनमा अपूर्णीय क्षति पुर्‍याउँछन्। विपद आउनासाथ हाम्रो ध्यान भौतिक क्षति, जस्तै-भत्किएका घर, सडक, पुलपुलेसा र खाद्यान्नको अभावतर्फ मात्र तुरुन्तै मोडिन्छ। राहत र उद्धारका क्रममा त्रिपाल, चामल, चाउचाउ, र ओढ्ने-ढाक्ने सामान बाँड्न सरकारी तथा गैरसरकारी निकायहरूबीच होडबाजी नै चल्छ।

तर, यस भौतिक क्षतिको ओझेलमा एउटा यस्तो गहिरो घाउ छिपिरहेको हुन्छ, जुन एक्सरेमा देखिँदैन, र त्यो हो-भत्किएको मन र मानसिक आघात। विपदले मानिसको केवल घर-सम्पत्ति मात्र खोस्दैन, यसले उसको वर्षौँदेखिको पहिचान, सुरक्षाको अनुभूति, आफन्त र भविष्यको भरोसा समेत एकैछिनमा छिन्नभिन्न पारिदिन्छ।

शारीरिक चोट वा भाँचिएको हातखुट्टासमयक्रममा जोडिन सक्छ, तर मनमा लागेको अदृश्य घाउलाई समयमै सम्बोधन गरिएन भने यसले व्यक्ति, परिवार र सिङ्गो समाजलाई नै दीर्घकालीन रूपमा थलामा पार्न सक्छ। त्यसैले, विपद व्यवस्थापनमा मनोवैज्ञानिक प्राथमिक उपचार र मनोसामाजिक परामर्श कुनै थप वा ऐच्छिक विषय नभई जीवन बचाउने प्राथमिक सेवा हुन्।

विपदपछि मनोसामाजिक परामर्श किन आवश्यक छ ?
विपदको अचानक सामना गर्दा मानिसको स्नायु प्रणाली र मानसिक सन्तुलनमा तीव्र दबाब पर्छ। मानिसहरू स्तब्ध, अत्यधिक भय, शोक, र असहायताको अवस्थामा पुग्छन्। यस्तो अवस्थामा मनोसामाजिक परामर्शको आवश्यकता निम्न कारणहरूका लागि मानिन्छ:

आघात र स्तब्धता कम गर्न: विपदको लगत्तै मानिसमा देखिने अत्यधिक डर, छटपटी र शून्यपनलाई घटाएर मानसिक रूपमा स्थिर बनाउन परामर्शले मद्दत गर्छ।

गम्भीर मानसिक रोगबाट जोगाउन: भनिन्छ विपदको ४ हप्तासम्म पनि मानसिक तनाव सम्बोधन भएन भने त्यसले डिप्रेसन, एन्जाइटी, र विशेष गरी आघातपछिको तनावको रूप लिन्छ। समयमै परामर्श पाउँदा यी जटिलताहरू रोकिन्छन्।

सामाजिक सम्बन्ध र एकताको पुनर्स्थापना: विपदले समाजको परम्परागत संरचना र सहयोगको सञ्जाल तोडिदिन्छ। परामर्शले मानिसहरूमा एक-अर्कालाई सहयोग गर्ने, सहकार्य गर्ने र सामाजिक सम्बन्ध पुनर्स्थापित गर्ने वातावरण बनाउँछ।

आन्तरिक सामर्थ्यको पुनर्जागरण: मानिसभित्रै रहेको संकटसँग जुध्ने क्षमता र शक्तिलाई उजागर गरी उनीहरूलाई आफ्नै खुट्टामा उभिन र पुनरुत्थानमा लाग्न उत्प्रेरित गर्छ।

लक्षित वर्ग अनुसार मनोसामाजिक असर र विशेष रणनीति
विपदपछि डर, तनाव, शोक, असुरक्षा, एक्लोपन र भविष्यप्रतिको चिन्ता जस्ता मनोसामाजिक असर देखिन सक्छन्। त्यसैले लक्षित वर्गको आवश्यकता र अवस्थाअनुसार सुरक्षित संवाद, मनोसामाजिक प्राथमिक सहायता, परिवार तथा समुदायमा आधारित सहयोग र आवश्यकताअनुसार विशेषज्ञ सेवामा रेफरल सुनिश्चित गर्नुपर्छ। विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको आवाज, गरिमा र निर्णय प्रक्रियामा सहभागितालाई प्राथमिकता दिइनुपर्छ।

समावेशी, अधिकारमा आधारित र स्थानीय समुदायको सहभागितामा सञ्चालन हुने मनोसामाजिक सहयोगले विपद्पछिको पुनःस्थापना र सामाजिक लचकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ। विपदको प्रभाव समाजका सबै वर्गमा एकैनास हुँदैन। समाजमा विद्यमान लैङ्गिक, उमेरगत र क्षमताका असमानताका कारण बालबालिका, युवा, ज्येष्ठ नागरिक, र अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा पर्छन्। त्यसैले मनोसामाजिक परामर्श दिँदा “कोही पनि नछुटोस्” भन्ने सिद्धान्त अपनाउनु पर्छ।

बालबालिकाको सुरक्षा
विपद केवल भौतिक संरचनाको विनाश मात्र होइन, यसले बालबालिकाको कोमल मनमा गहिरो अदृश्य चोट पुर्‍याउँछ। ठूला मानिसले आफ्नो पीडा व्यक्त गर्न सक्छन्, तर बालबालिकाले कि त व्यवहारबाट देखाउँछन् कि त मनभित्रै गुम्स्याउँछन्। त्यसैले यस्तो समयमा उनीहरूलाई गरिने ‘मनोवैज्ञानिक प्राथमिक उपचार’ अत्यन्त महत्त्वपूर्ण हुन्छ।बालबालिकाहरू आफ्ना भावना र डरलाई वयस्क जस्तै शब्दमा व्यक्त गर्न सक्दैनन्। उनीहरूका आघात व्यवहार र शारीरिक लक्षणमार्फत प्रकट हुन्छन्।

विपदको डरलाग्दो घटना आँखा अगाडी देखेपछि उनीहरूमा विभिन्न असर देखिन सक्छन्। जस्तै- ओछ्यानमा पिशाब गर्नु, अभिभावकलाई छोड्नै नमान्नु, अकारण रुनु, डरलाग्दो सपना देख्नु, र एकोहोरो टोलाउनु। यस्तो अवस्थामा बालबालिकाका लागि सबैभन्दा ठूलो औषधि भनेको सुरक्षाको अनुभूति र प्रेम दर्शाउनु हो। उनीहरूलाई “अब तिमी सुरक्षित छौ” भनेर अँगालो हाल्ने, उनीहरूसँग सरल र साँचो कुरा गर्ने, र रुन वा डर व्यक्त गर्न दिने वातावरण बनाउनुपर्छ। खेलकुद, चित्रकला र कथाका माध्यमबाट उनीहरूको मनको डर बाहिर ल्याउने र अस्थायी बालमैत्री स्थान सञ्चालन गर्नु प्रभावकारी हुन्छ।

युवालाई जिम्मेवारी, नेतृत्व र भविष्यको पुनर्योजना
विपदपछि युवा वर्गमा भविष्यको अनिश्चितता, रोजगारीको क्षति र परिवार पाल्ने दबाबका कारण अत्यधिक आक्रोश, निराशा र चिन्ता देखिन्छ। अत्यधिक रिसाउनु, विद्रोही व्यवहार, टोलाउनु, र तनाव कम गर्ने बहानामा मदिरा वा लागूऔषधको कुलतमा फस्ने जोखिम पनि हुन सक्छ। त्यसैले युवाहरूलाई दया वा सहानुभूति होइन, जिम्मेवारी र नेतृत्व चाहिन्छ। उनीहरूलाई राहत वितरण, शिविर व्यवस्थापन र बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाहमा स्वयंसेवकका रूपमा परिचालन गर्नुपर्छ। यसले उनीहरूलाई “हामी प्रभावित व्यक्ति हौँ” भन्ने हीनभावनाबाट निकालेर “हामी समाज पुनर्निर्माणका संवाहक हौँ” भन्ने आत्मबल दिन्छ। साथै, उनीहरूलाई सकारात्मक साथीभाइको सञ्जाल मा जोड्नुपर्छ।

ज्येष्ठ नागरिकलाई सम्मान, आदर र जीवन-अनुभवको कदर
ज्येष्ठ नागरिकहरूले जीवनभरको कमाइ, घर-सम्पत्ति, स्मृति र सामाजिक पहिचान गुमाउँदा अथाहा निराशा र एक्लोपन महसुस गर्छन्। यस्तो अवस्थामा उनीहरूमा आउने परिवर्तन भनेको मौन बस्नु, खाना खान छाड्नु, “अब मेरो जीवन सकियो” भन्ने निराशाजनक सोच आउनु, र पुराना कुरा मात्र सम्झिएर बस्नु। त्यसैले मनोपरामर्श मार्फत ज्येष्ठ नागरिकहरूसँग व्यवहार गर्दा उनीहरूको सम्मान र आदर मुख्य आधार हुनुपर्छ। उनीहरूले नियमित रूपमा खाइरहेका औषधि र सहयोगी सामग्री पाएका छन् कि छैनन् सुनिश्चित गर्नु नै पहिलो परामर्श हो। उनीहरूका कुरालाई आदरपूर्वक सुन्ने, उनीहरूले विगतमा सामना गरेका संकट र सफलताको प्रशंसा गर्ने, र उनीहरूको ज्ञान तथा अनुभवलाई समुदायको मार्गदर्शनका रूपमा प्रयोग गर्दा उनीहरूमा आत्मबल फर्कन्छ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समान सहभागिता
विपदको समयमा अपाङ्गता भएका व्यक्तिहरू प्रायः राहत शिविर र परामर्श सेवा दुवैबाट छुट्ने वा उपेक्षामा पर्ने ठूलो जोखिम हुन्छ। त्यसले गर्दा उनीहरूमा अत्यधिक असुरक्षाको भावना, सहयोगी गुमाउँदाको त्रास, र आफूलाई बोझ महसुस हुन सक्दछ। त्यसैले मनोपरामर्श मार्फत दया र सहानुभूति होइन, समान अधिकार र पहुँचलाई ध्यानमा राख्दै, राहत र परामर्श केन्द्रहरू भौतिक रूपमा ह्विलचेयर जान सक्ने बनाइनुपर्छ। भत्किएका वा हराएका साहायक सामग्री (ह्विलचेयर, सेतो लट्ठी, कान सुन्ने यन्त्र) तुरुन्त उपलब्ध गराउनु नै उनीहरूका लागि पहिलो मनोसामाजिक सहयोग हो। अवस्था हेरी विभिन्न कार्यमा सहजीकरण गरिदिनुपर्ने हुन्छ।

एकीकृत र चरणबद्ध मनोसामाजिक परामर्श प्रक्रिया
विपदबाट प्रभावित जुनसुकै वर्गका व्यक्ति हुन्, उनीहरूलाई परामर्श दिँदा वैज्ञानिक, समावेशी र चरणबद्ध प्रक्रिया अपनाउनुपर्छ। यसलाई मुख्य रूपमा निम्न चरणमा व्यवस्थित गर्न सकिन्छ:

पहिलो चरण: सुरक्षित वातावरण र प्राथमिक आवश्यकता पहिचान
प्रभावित व्यक्तिलाई सुरक्षित, सम्मानजनक र विश्वासिलो वातावरण प्रदान गर्दै तत्काल आवश्यकताहरू तथा मनोसामाजिक अवस्थाको पहिचान गर्ने।

दोस्रो चरण: मनोसामाजिक प्राथमिक सहायता
डर, तनाव, शोक, असुरक्षा र भावनात्मक आघात कम गर्न सक्रिय रूपमा सुन्ने, भावनात्मक सहयोग गर्ने र आवश्यक सूचना तथा सेवासँग जोड्ने।

तेस्रो चरण: निरन्तर सहयोग र पारिवारिक/सामुदायिक सहकार्य-परिवार, समुदाय तथा स्थानीय संस्थाको सहभागितामा प्रभावित व्यक्तिलाई निरन्तर भावनात्मक तथा सामाजिक सहयोग उपलब्ध गराउने।

चौथो चरण: विशेषज्ञ सेवा र रेफरल
गम्भीर मनोसामाजिक समस्या, लामो समयसम्म रहने आघात वा आत्महानिको जोखिम देखिएका व्यक्तिलाई समयमै मनोविद्, मनोपरामर्शदाता वा मानसिक स्वास्थ्य विशेषज्ञकहाँ रेफर गर्ने।

समुदायमा आधारित कार्यान्वयन र क्षमता हस्तान्तरण
नेपालजस्तो सीमित स्रोत–साधन भएको देशमा विपदको समयमा हरेक गाउँ र बस्तीमा विशेषज्ञ मनोविद् वा काउन्सिलर पुर्‍याउन कठिन हुन्छ। साथै, मानसिक स्वास्थ्य र परामर्शप्रति विद्यमान सामाजिक लाञ्छनाका कारण धेरै प्रभावित व्यक्तिहरूले समयमै सहयोग खोज्न नसक्ने अवस्था पनि देखिन्छ। यी चुनौतीलाई सम्बोधन गर्न समुदायमा आधारित क्षमता हस्तान्तरण को मोडल प्रभावकारी हुन सक्छ।

स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, आमा समूहका अगुवा तथा युवा क्लबका प्रतिनिधिहरूलाई २–३ दिनको मनोवैज्ञानिक प्राथमिक सहायता सम्बन्धी व्यावहारिक तालिम प्रदान गर्न सकिन्छ। यसबाट उनीहरूले प्रारम्भिक मनोसामाजिक सहयोग, जोखिम पहिचान र आवश्यक रेफरल गर्न सक्षम हुन्छन्। यस प्रणालीमा “स्थानीय सहयोग–समयमै पहिचान–आवश्यकताअनुसार रेफरल” को स्पष्ट संयन्त्र विकास गर्नुपर्छ। यसले सीमित विशेषज्ञ जनशक्तिको अधिकतम उपयोग गर्दै विपदपछिको मनोसामाजिक सहयोगलाई गाउँ–समुदायको तहसम्म पुर्‍याउन र दीर्घकालीन मानसिक स्वास्थ्य सेवासँग जोड्न सहयोग गर्छ।

समग्रमा भन्नुपर्दा, विपदले सिर्जना गरेको भौतिक पुनर्निर्माणको काम गारो, सिमेन्ट र बजेटले हुन सक्छ, तर समाजको मानसिक पुनर्निर्माण मानिसको मनको घाउमा पोखिने सहानुभूति, सम्मान र मनोसामाजिक परामर्शले मात्र सम्भव छ। विपदबाट प्रभावित बालबालिकालाई प्रेम र सुरक्षा, युवालाई जिम्मेवारी र अवसर, ज्येष्ठ नागरिकलाई सम्मान र आदर, तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समान अधिकार र पहुँच दिन सकियो भने मात्र हाम्रो पुनरुत्थान समावेशी र दिगो हुन सक्छ। तसर्थ, आगामी दिनमा बन्ने विपद व्यवस्थापनका नीति, योजना र बजेटमा भौतिक राहतजत्तिकै मनोसामाजिक परामर्शलाई पनि अभिन्न र अनिवार्य अङ्गका रूपमा एकीकृत गरिनु आजको मुख्य आवश्यकता हो।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श