चितवन । समस्याग्रस्त बाघको व्यवस्थापनसँगै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘टाइगर सेन्चुरी’ निर्माणको तयारी थालिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने देवनगरमा हाल दुई समस्याग्रस्त बाघ राखिएको स्थानलाई विस्तार गरी २० वटासम्म बाघ राख्न सक्ने संरचना बनाउन लागिएको हो।
चालु आर्थिक वर्षदेखि निर्माण सुरु गर्न सरकारले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा। हरिभद्र आचार्यका अनुसार हाल सञ्चालनमा रहेको होल्डिङ सेन्टरसहित तीन तहका संरचना निर्माण गरिनेछन्।
सेन्चुरीमा बाघलाई प्राकृतिक वातावरणको झल्को दिने गरी फराकिलो क्षेत्रमा राखिनेछ । पर्यटकले मचान तथा ‘क्लोज ब्रिज’बाट बाघ अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ। बाघ राख्ने क्षेत्रलाई दुई तहको घेराबारले सुरक्षित बनाइनेछ, जसले बाघ बाहिर निस्कन र अन्य जनावर भित्र प्रवेश गर्न रोक्नेछ।
करिब ५० हेक्टर वन क्षेत्रलाई समेटेर बाँकी भूभागलाई खुला खोरका रूपमा विकास गर्ने योजना रहेको प्रवक्ता आचार्यले बताए। पर्यटकले जिपबाटै बाघ अवलोकन गर्न सक्ने गरी संरचना बनाइनेछ। “मान्छे खोरभित्र र बाघ बाहिर हुने गरी संरचना निर्माण गरिनेछ,” उनले भने।
आचार्यका अनुसार सेन्चुरीमा २० वटासम्म बाघ राख्न मिल्ने गरी छुट्टाछुट्टै घेराबार निर्माण गरिनेछ। बाघलाई एकअर्काबाट अलग राख्न बीचमा बार लगाइनेछ। पूर्ण संरचना निर्माणमा ठूलो रकम आवश्यक पर्ने भए पनि चालु आर्थिक वर्षबाटै काम अघि बढाइनेछ।
समस्याग्रस्त बाघलाई उद्धार गरी प्राकृतिक वातावरणको अनुभूति हुने स्थानमा व्यवस्थापन गर्ने र त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सेन्चुरी बनाउन लागिएको हो। नेपालमा यस किसिमको संरचना पहिलोपटक निर्माण गर्न लागिएको विभागले जनाएको छ। विदेशमा यस्ता सेन्चुरीमा पर्यटकलाई अवलोकन गराई आम्दानीसमेत गर्ने अभ्यास रहेकाले नेपालमा पनि बाघ संरक्षणसँगै पर्यटनबाट आर्थिक लाभ लिन सकिने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न खोर तथा होल्डिङ सेन्टरमा हाल १९ वटा समस्याग्रस्त बाघ रहेका छन्। चितवनमा सात, बर्दिया र चिडियाखानामा पाँचरपाँच तथा पर्सा र बाँकेमा एकरएक वटा समस्याग्रस्त बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले जानकारी दिए।
चितवनमा समस्याग्रस्त बाघ राख्ने पर्याप्त संरचना नभएका कारण नियन्त्रणमा लिइएका बाघलाई अन्यत्र पठाउने गरिएको छ। पुर्जापुनका अनुसार यही महिना नियन्त्रणमा लिइएको एउटा बाघलाई पर्सा पठाइएको छ।
मानव बस्तीमा प्रवेश गरी जनधनमा क्षति पुर्याउने हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ। केहीलाई निश्चित समयपछि पुनः जंगलमा छाडिए पनि कतिपयलाई जीवनभर खोरमै राख्नुपर्ने अवस्था आउने गरेको पुर्जापुनले बताए।
बुढो, घाइते वा बिरामी भएर प्राकृतिक रूपमा सिकार गर्न नसक्ने बाघ मानव बस्तीमा पस्ने सम्भावना बढी हुने गर्छ। यस्ता बाघको दीर्घकालीन व्यवस्थापनसँगै पर्यटक आकर्षित गर्ने उद्देश्यले सेन्चुरी निर्माण गर्न लागिएको हो।
प्रस्तावित सेन्चुरीमा सीमित वन क्षेत्रलाई कम्पाउन्डले घेर्ने, त्यसको माथिल्लो भागमा विद्युतीय बार जडान गर्ने, पर्यटकका लागि ठूला मचान निर्माण गर्ने तथा पानीपोखरीलगायतका संरचना बनाउने योजना छ। विज्ञहरूका अनुसार प्राकृतिक रूपमा कुल बाघको करिब पाँच प्रतिशत समस्याग्रस्त हुने गर्छन्।
राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ। चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन्।
सन् २०२२ को राष्ट्रिय बाघ गणनामा नेपालमा ३५५ वटा बाघ रहेकोमा सन् २०१० मा यो सङ्ख्या १२१ थियो। पछिल्ला वर्षमा संरक्षणका प्रयाससँगै नेपालमा बाघको सङ्ख्या निरन्तर बढ्दै गएको छ।
सम्बन्धित समाचार
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
तादीखोलामा एक्रोब्रिज जडान तीब्र
कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह






