दशैँअघि सबै सडक चालु गर्न खोटाङ विपद् समितिको निर्देशन

सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित जिल्ला विपद् व्यवस्थापन समिति खोटाङकोे बैठक ।

खोटाङ । दशैँ, तिहार र छठमा घर फर्कने जिल्लावासीलाई सहज बनाउन जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका सबै सडक तत्काल मर्मत गरी यातायातयोग्य बनाउन आग्रह गरेको छ । यसका लागि स्थानीय तह र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्ने–गराउने निर्णय समितिको बैठकले गरेको हो ।

जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक सबै ग्रामीण सडक कच्ची भएकाले वर्षा सुरु हुनासाथ अवरुद्ध बन्ने गरेका छन् । वडा–वडासम्म सडक पुगे पनि कालोपत्रे नहुँदा वर्षमा करिब छ महिना मात्र यातायात चल्ने गरेको छ । “सडक निर्माण, मर्मत र सञ्चालनको जिम्मेवारी सम्बन्धित पालिकाको हो, यसमा हामी समन्वय गर्छौं,” समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले भने, “चाडपर्व मान्न गाउँ आएका कसैले पनि दुःख पाउनुभएन ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनबाट सक्दो सहयोग हुनेछ ।” पर्वको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–हलेसी–जयरामघाट सडकखण्ड २४ सै घण्टा सञ्चालनमा राख्न समेत आग्रह गरिएको छ । भोजपुरका स्थानीयले समेत प्रयोग गर्ने यो सडकको मर्मतका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना र सम्बन्धित पालिकाले समन्वय गर्ने निर्णय भएको छ ।

बैठकले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको दोस्रो किस्ता वापत दिक्तेल रुपाकोट मझुवागढी–१२ का सुबिन श्रेष्ठ र कुमार श्रेष्ठलाई वितरण गरिएको तीन लाख ४० हजार अनुमोदन गरेको छ । त्यसैगरी साउन–१५, २५ र भदौ–१ को अविरल वर्षाले सोल्मा, पाथेका र खार्मीमा सडक तथा तटबन्धमा पुगेको क्षति मर्मतका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा गरिएको सिफारिस अनुमोदन गर्दै जिल्लामा विपद् प्रतिकार्यको व्यावहारिक अभ्यास गर्ने निर्णय समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने