बझाङ । गजमाईलमा अहिले पानीसँगै चिन्ता पनि बग्छ । उज्यालो भएदेखि साँझसम्म यहाँ पानीधार निरन्तर झरिरहेको हुन्छ । पानीसँगै माटो बग्छ अनि माटोसँगै जमिनको आकार फेरिन्छ । जमिन चिरिएको र कतै भासिएको छ । केही ठाउँमा त ठूलो भूभाग नै तल धसिएको छ । माथिबाट हेर्दा पहिरोको घाउजस्तो देखिने यो भूभाग हरेक दिन केही न केही फेरिँदै गएको स्थानीय बताउँछन् ।
बझाङ सदरमुकाम चैनपुर बजारपारिपट्टि जयपृथ्वी नगरपालिका–३ पणेश गाउँको मुनिपट्टि रहेको गजमाईलमा दुई–तीन वर्षअघि देखिएको सामान्य पहिरो अहिले ठूलो बन्दै गएको छ । पहिले बाटो थियो । मानिस यही बाटो भएर चैनपुरसम्म आउजाउ गर्थे । अहिले बाटो छैन । पहिरोले बाटोको भाग बगाइसकेको छ । पानी बग्ने धार पहिलेभन्दा फराकिलो भएको छ । जमिनको सतह फेरिएको छ । र, पहिरोसँगै स्थानीयका मनमा बसेको डर पनि विस्तार हुँदै गएको छ ।
000
गजमाईलका लागि सबैभन्दा ठूलो चिन्ता पहिरोको आकारमात्रै होइन, यसको दिशा हो । पहिरो झरेतिर सेती नदी बगिरहेको छ । बीचमा खेतीयोग्य जमिन र बस्ती छन् । पहिरो यही गतिमा फैलिँदै जाने हो भने यसको असर पणेशको जिउलोदेखि सेती नदीसम्म पुग्न सक्ने स्थानीय चिन्ता छ । त्यसको असर सदरमुकाम चैनपुर र नदी किनारका बस्तीमा समेत पर्न सक्ने उनीहरू बताउँछन् ।
गजमाईलको भूगोल हेर्दा यहाँ पहिरोमात्रै खसिरहेको छैन, जमिन पनि बिस्तारै आफ्नो ठाउँ छाडिरहेको प्रस्ट देखिन्छ । स्थानीयका अनुसार पहिरो लागेको ठाउँनजिकै करिब ३० मिटर जमिन भासिएको छ । माटो फुस्रो र रेलो छ । त्यसमाथि निरन्तर पानी बगिरहेको छ । पानीको धारले माटो काट्दै जाँदा भूभाग कमजोर बन्दै गएको छ ।
– दुई–तीन वर्षदेखि निरन्तर बगिरहेको सिँचाइको पानीले बढायो पहिरो
– जमिन भासिँदै जाँदा खेती, विद्यालय, बस्ती हुँदै सेती नदीसम्म जोखिम
स्थानीयका आँखाअघि केही वर्षमै आफ्ना’roundको भूगोल बदलिएको छ । जुन ठाउँबाट मानिस हिँड्थे, त्यहाँ अहिले पहिरो छ । जुन ठाउँमा जमिन स्थिर देखिन्थ्यो, त्यहाँ चिरा परेको छ । जुन पानीलाई खेतका लागि वरदान मानिएको थियो, त्यही पानी अहिले पहाडको घाउ गहिरो बनाउने कारण बनेको छ । पणेशका खेतमा सिँचाइ पु¥याउन करिब १० किलोमिटर टाढा खुड्डुउनबाट पानी ल्याइएको हो । पहाडको लामो दूरी पार गरेर ल्याइएको पानीले पणेशको जिउलोमा खेती गर्न सहज बनाएको छ । खेतमा पानी पुग्नु किसानका लागि राहत हो । पानीकै कारण खेत हराभरा हुने आशा हुन्छ । अन्न फल्छ । परिवारको गुजारा चल्छ । खेतसम्म आइपुगेको पानी व्यवस्थापनमा समस्या थपिँदा त्यसको असर गजमाईलमा देखिन थालेको छ ।
सिँचाइका लागि आवश्यकभन्दा बढी भएको पानी कहाँ लैजाने भन्ने स्थायी व्यवस्था छैन । नाली छैन तर सुरक्षित पाइपलाइन छैन । पानी निकासका लागि पर्याप्त संरचना छैन । बढी भएको पानी गजमाईलतर्फ छोडिँदै आएको स्थानीय बताउँछन् । उनीहरूका अनुसार वर्षौंदेखि एउटै भूभाग हुँदै पानी बगिरहँदा माटो कटान हुँदै गयो । जमिन कमजोर बन्दै गयो । त्यही कमजोर जमिनमा पहिरोको घाउ विस्तार हुँदै गयो ।
000
नेपाल प्रेसयु नियन बझाङका जिल्ला अध्यक्ष तथा स्थानीय अशो कखड्का यसलाई पानी व्यवस्थापनसँग जोडिएको समस्या मान्छन् । उनका अनुसार सिँचाइबाट बढी भएको पानी गोलाईगाडतर्फ लैजाँदा गोलाई जिउलो र त्यहाँ बसोबास गर्ने परिवारसमेत जोखिममा पर्न सक्ने भएकाले गजमाईलतर्फ पानी छोड्ने गरिएको हो । एउटा ठाउँलाई जोखिमबाट जोगाउनेक्रममा अर्को ठाउँलाई जोखिममा पारिएको छ ।
‘पानीको सुरक्षित व्यवस्थापन गर्नुपर्छ,’ खड्का भन्छन्, ‘मुहानमै पानी नियन्त्रण गर्ने वा व्यवस्थित पाइपलाइनमार्फत सुरक्षित स्थानमा पानी निकास गर्ने व्यवस्था गर्नसके समस्या घटाउन सकिन्छ ।’ पानी बढी हुँदा फाल्ने ठाउँका रूपमा गजमाईललाई प्रयोग गर्दै जाने हो भने त्यो तत्कालको समस्या टार्ने उपायमात्रै हुने उनी बताउँछन् । दीर्घकालमा भने त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने उनले औंल्याए ।
गजमाईलको पहिरोको अर्को डर खेतीसँग जोडिएको छ । पणेशको जिउलो स्थानीयका लागि खेतमात्रै होइन, परिवारको जीवन धान्ने आधारसमेत हो । पुस्तौंदेखि खेती हुँदै यही जमिनबाट अन्न निस्कन्छ । यही जमिनमा परिवारको भविष्य जोडिएको छ । पहिरो विस्तार हुँदै गएमा खेत गुम्ने जोखिमसँगै त्यसमा निर्भर परिवारको जीवनयापनमा असर पर्ने स्थानीय चिन्ता छ ।
पहिरोको सिरानीमा रहेको खेतीयोग्य जमिन र आसपासका बस्तीमाथि जोखिम थपिँदै जाँदा पणेशको पाण्डु माध्यमिक विद्यालयसमेत स्थानीयको चिन्तामा परेको छ । विद्यालय, खेत र बस्ती एउटै भूगोलमा जोखिममा पर्न थालेपछि गजमाईलको पहिरो अब एउटा खाली डाँडाको समस्या रहेन । यसको प्रभाव मानिसको दैनिक जीवनसम्म जोडिन थालेको छ । यही पहिरोले केही वर्षअघि मानिस हिँड्ने बाटो पनि खायो । सदरमुकाम चैनपुरसम्म पुग्ने पुरानो बाटो अहिले पहिरोले बगाइसकेको छ । बाटो बन्द भएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ । पहिरो बढ्दै जाँदा बाटो हराएको दृश्यले स्थानीयलाई भौतिक क्षतिभन्दा अगाडिको जोखिमको संकेत पनि देखाएको छ ।
000
जयपृथ्वी नगरपालिका–३ का वडाध्यक्ष गंगा खड्का गजमाईलको पहिरो पछिल्लो समय तीव्ररूपमा बढिरहेको बताउँछन् । ‘पहिले यो बाटो भएर सदरमुकाम चैनपुरसम्म आउजाउ हुन्थ्यो । अहिले लगातार पानी बग्दा पहिरो बढेर बाटो नै बन्द भएको छ,’ उनी भन्छन्, ‘गजमाईलको समस्या अब सामान्य भू–क्षयको सीमामा छैन । समयमै नियन्त्रणका लागि काम गर्न नसके भविष्यमा ठूलो विपद्को अवस्था आउन सक्छ ।’

गजमाईल तल सेती नदी बगिरहेको छ । यही अवस्थाले स्थानीयको चिन्ता अझ गहिरो बनाएको छ । पहिरो तलतिर विस्तार हुँदै गएर ठूलो भूभाग नदीमा खस्यो भने नदीको बहाव प्रभावित हुन सक्ने उनीहरूको आशंका छ । नदीको बहाव अवरुद्ध भएर पानी जम्मा हुने र कुनै बेला एक्कासि बहाव बढ्ने अवस्था आएमा सेती नदी किनारका बस्तीमा असर पर्नसक्ने उनीहरू बताउँछन् ।
वडाध्यक्ष खड्का पनि समयमै पहिरो नियन्त्रण गर्न नसके सेती नदी थुनिन सक्ने जोखिम रहेको बताउँछन् । त्यसैले गजमाईललाई जयपृथ्वी नगरपालिका–३ को सीमाभित्रको सामान्य पहिरोका रूपमा मात्र हेर्न नहुने स्थानीय बताउँछन् । यसको सम्भावित असर सदरमुकाम चैनपुरदेखि सेती नदी किनारका अन्य बस्तीसम्म पुग्न सक्ने देखिएको छ ।
प्रश्न उठ्छ, ‘अब के गर्ने ?’
स्थानीय भन्छन्, ‘सबैभन्दा पहिले पानी रोक्नुपर्छ । पानीको सुरक्षित निकास गर्नुपर्छ । त्यसपछि मात्रै पहिरो नियन्त्रणका अन्य उपाय प्रभावकारी हुन सक्छन् ।’ गजमाईलको पहिरो नियन्त्रणका लागि करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष गंगा खड्का बताउँछन् । उनका अनुसार अहिलेको प्राथमिकता पानीको सुरक्षित निकास हो । सिँचाइका लागि ल्याइएको पानी आवश्यकताभन्दा बढी हुँदा जथाभावी बगाउने अवस्था अन्त्य गरी पाइपमार्फत सुरक्षितरूपमा सेती नदीमा पानी निकास गर्न सके पहिरोको मुख्य कारण नियन्त्रण गर्न सकिने उनको विश्वास छ । यस विषयमा संघीय सरकार, प्रदेश सरकार तथा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिलाई पटकपटक जानकारी गराइए पनि आवश्यक बजेट र ठोस योजना आउन नसकेको उनको गुनासो छ ।
अहिले करिब एक करोड रुपैयाँ खर्च गरेर जोखिम नियन्त्रण गर्न सकिने अवस्था छ । पहिरो अझ ठूलो भएर बस्ती, सडक, खेतीयोग्य जमिन वा नदीसम्म असर पुगेपछि यही कामका लागि धेरै गुणा बढी रकम आवश्यक पर्न सक्ने वडाध्यक्ष खड्का बताउँछन् । त्यसैले अहिले नै जोखिम न्यूनीकरणमा लगानी गर्नुपर्ने उनको जोड छ ।
000
हुन त, गजमाईलमा पहिरो रोक्न प्रयास नभएका भने होइनन् । विभिन्न सरकारी तथा गै रसरकारी सं स्थाल े पटकपटक वृ क्षारो पण गरे का छन् । बिरुवा रोपिए पनि पहिरो रोकिएको छैन । चैनपुरका स्थानीय राजेश बोहराका अनुसार यसको कारण पहिरोको जरोसम्म नपुग्नु हो । ‘माथिबाट पानी बगिरहने र तल वृक्षारोपणमात्र गर्ने हो भने पहिरो रोकिँदैन,’ उनले भने, ‘पहिले पानीको निकास व्यवस्थित गर्नुपर्छ । त्यसपछि वृक्षारोपण र भू–संरक्षणका काम गर्नुपर्छ ।’ उनका अनुसार वृक्षारोपण आवश्यक भए पनि त्यसलाई मात्र पहिरो नियन्त्रणको उपाय मान्न सकिँदैन । पानीको बहाव नियन्त्रण, सुरक्षित निकास, जमिन संरक्षण र आवश्यक प्राविधिक संरचनासँगै वृक्षारोपण अघि बढाउनुपर्ने उनको माग छ ।
यस्तो जोखिम एकै दिनमा ठूलो बनेको होइन । दुई–तीन वर्षअघि देखिएको सानो पहिरो विस्तार हुँदै अहिले बाटो बगाउने अवस्थामा पुगेको छ । जमिन भासिएसँगै पानीको धार फराकिलो भएको छ । खेतीयोग्य जमिन जोखिममा परेको छ । विद्यालय र बस्तीको चिन्ता थपिएको छ ।
स्थानीयका अनुसार गजमाईलको समस्या स्थानीय तहको प्रयासले मात्र समाधान हुनेखाले छैन । पहिरोको सम्भावित असर सदरमुकाम र सेती नदीसँग जोडिएकाले प्रदेश र संघीय सरकारबाट प्राविधिक तथा आर्थिक सहयोग आवश्यक छ । गजमाईलको पहिरो हेर्दा लाग्छ—पहाड बोल्न थालेको छ । यहाँका मानिसले दुई–तीन वर्षदेखि पहिरो बढिरहेको देखेका छन् । बाटो बगेको देखेका छन् । जमिन भासिएको देखेका छन् । खेत जोखिममा परेको देखेका छन् । पानी अझै रोकिएको छैन । पहिरो अझै रोकिएको छैन ।
अहिले गजमाईललाई चाहिएको राहत होइन, जोखिम घटाउने काम हो । चाहिएको उद्धारको तयारीमात्रै होइन, उद्धार गर्नुपर्ने अवस्था नै नआउनेगरी गरिने हस्तक्षेप हो । चाहिएको बिरुवामात्रै होइन, पानीको सुरक्षित निकास हो । चाहिएको आश्वासनमात्रै होइन, प्राविधिक अध्ययन र बजेटसहितको काम हो ।
गजमाईलको पहिरो अहिले जयपृथ्वी नगरपालिका–३ को एउटा भूभागमा देखिएको छ । यसको सम्भावित असर भूगोलको सीमाभन्दा परसम्म पुग्न सक्छ । चैनपुरको सुरक्षासँग जोडिएको यो पहिरो तल सेती नदीसँग जोडिएको छ । बीचमा खेत छन्, बस्ती छन्, विद्यालय छ र मानिसहरूको दैनिक जीवन छ ।
स्थानीयको डर यही हो, आज सानो देखिएको घाउ भोलि ठूलो नबनो स् । उनीहरू विपद् आएपछि करोडौं खर्च गरे रराहत र पु नस्र्था पनामा जुट्नुभन्दा अहिले नै जोखिम रोक्न लगानी होस् भन्ने चाहन्छन् । चैनपुरमाथिको पहाडमा गजमाईल चुपचाप भासिँदै छ ।
सम्बन्धित समाचार
जुन पर्खालमा आमाका सपना प्रतीक्षारत छन्
गुलिया स्याउ फलाउनेका तीता दुःख
को हुन् २ सय ९० केजी तौल उचाल्ने अनातोली ?
भेडागोठमा लालबिरका सात दशक
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई छैन : रास्वपा सभापति लामिछाने
रिपब्लिकनलाई जिताए प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर: ट्रम्प
भोटेकोशी बाढी : एक हजार ३८५ शव फेला, अझै चार हजार ८९ जना सम्पर्कविहीन






