गुलिया स्याउ फलाउनेका तीता दुःख

बाजुरा । वर्षेनी स्याउ उत्पादन बढ्दै गए पनि बजार, सडक र ढुवानीको समस्याले किसानमा स्याउ खेतीप्रति निराशा बढ्न थालेको छ । बारीमा स्याउ लटरम्म पाकेको छ । टिपेर राख्दा कुहिने र बोटमै छाड्दा पाकेर झर्ने जोखिम छ । तर बजारसम्म पु¥याउने भरपर्दो सडक र ढुवानीको व्यवस्था नहुँदा किसान वर्षभरको मेहनत खेर जाने चिन्तामा छन् ।

ढुवानी अनुदान कटौती, सधै सडक र बजारकै सास्ती

बाजुरामा मात्र वार्षिक ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । त्यसबाट १ हजार १ सय ३७ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ । पाँच वर्षयता बाजुराको स्याउ आफ्नै ब्रान्डसहित बजारमा जान थाले पनि किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

यस वर्ष पनि व्यापारी किसानका बारीमै पुगेर स्याउ खरिद गरिरहेका छन् । तर वर्षाका कारण मार्तडी–कोल्टी सडकखण्ड ठाउँठाउँमा बिग्रिएपछि बगैँचाबाट सडकसम्म स्याउ ढुवानी गर्न समस्या छ । सुदूरपश्चिम प्रदेश सरकारले विगतमा बगैँचाबाट सडकसम्म स्याउ ढुवानीका लागि दिँदै आएको रकम यस वर्ष बजेट नआएका कारण उपलब्ध हुन नसक्दा किसान थप मारमा परेका छन् ।

बाजुरामा रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, फुजी र गाला हाइडेन्सिटी गरी पाँच प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । स्याउ खेतीबाट राम्रो आम्दानी हुने देखेपछि अन्य पेसा र जागिरको मोह छाडेर खेतीमा लागेका किसानसमेत बजार र सरकारी सहयोगको समस्याले निराश हुन थालेका छन् ।

‘बीबीएस पढेर घर आउँदा दाइ र परिवारले लगाएको स्याउबारीमा फलेको फल देख्दा मलाई जागिर खाने र विदेश जाने मोह हराएको हो । घरपरिवारले दुःख गरेर काम गरिरहँदा म पनि कहिले उम्केर स्याउबारीमा काम गरौँ भन्ने लाग्थ्यो,’ बुढीनन्दा नगरपालिका–९ का उज्जल रावत भन्छन् ।

रावतले पाण्डुसैन गाउँको लेकाली भागमा साहारा कृषि फार्म सञ्चालन गरेका छन् । तीन वर्षदेखि उनी र परिवारका सदस्य स्याउबारीको गोडमेल, मलखाद र काँटछाँटमा व्यस्त छन् । उनका अनुसार फार्मबाट वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ ।

‘मसँगैका साथीहरू जागिर खाने तयारीमा लागे । यति ठूलो बगैँचाको स्याउलाई माया गर्दा गर्दै यहाँ बगैँचामा काम गर्ने कोही गाउँमा नभेटिएपछि आफैँ यसमा खटिएको हुँ । खानलाउन र घरखर्च चलाउन अरूलाई हात थाप्नुपरेको छैन,’ उनले भने । तर उत्पादन गरेपछि बजारसम्म पु¥याउने समस्या बढ्दै गए स्याउ खेतीबाटै भविष्य खोज्ने किसान निराश हुने उनको भनाइ छ ।

ढुवानी खर्चले चिन्ता
बुढीनन्दा नगरपालिका–१० मा दिनेश बहुउद्देश्यीय पशुपन्छी कृषि फार्म सञ्चालन गरेका नैनबहादुर बोहरा स्याउको उत्पादनभन्दा अहिले बजार व्यवस्थापन मुख्य समस्या भएको बताउँछन् ।

‘बाजुराको स्याउ व्यवस्थापन मात्र गर्ने हो भने सुदूरपश्चिमको बजारमा अन्य स्याउ ल्याउनुपर्ने थिएन । हाम्रो बारीमा स्याउ फल्छ, पाक्छ तर त्यही बेला यहाँको बाटो हुँदैन,’ उनले भने, ‘किसानको आवश्यकताअनुसार सरकारका कार्यक्रम हुँदैनन् । उत्पादन गरेको स्याउ समयमा बजारमा पु¥याउन सकिएन भने किसानको लगानी बालुवामा पानी हालेजस्तै हुन्छ ।’

बोहराले पाँच–दस वर्षदेखि अन्य काम छाडेर स्याउबारीमा लगानी गर्दै आएका छन् । उनको बारीमा परम्परागत रैथाने स्याउसँगै आधुनिक जातका स्याउले पनि उत्पादन दिन थालेका छन् । तर सडकको समस्याका कारण उत्पादित स्याउ बारीमै रहने गरेको उनले बताए ।

बुढीनन्दा–९ का रावतका अनुसार अब किसानलाई स्याउ उत्पादनसम्बन्धी सामान्य ज्ञानभन्दा भण्डारण र बजारसम्म पु¥याउने पूर्वाधार आवश्यक छ ।

‘१० वर्षअघि आफ्ना बारीमा लगाएका स्याउका बोट अहिले लटरम्म फलेका छन् । अब स्याउ कसरी उत्पादन गर्ने भनेर सिकाउन किसानलाई जरुरी छैन । बरु स्याउ भण्डारण गर्ने ठूला स्टोर आवश्यक छन् । बारीमा भएको स्याउ बजारमा जाने बाटोको समस्या समाधान गर्नुपर्छ । यसमा कसैको ध्यान गएको छैन,’ उनले भने ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ओमजंग शाहीले ढुवानी खर्चकै कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । ‘हामीले फलाएको स्याउ बजारसम्म ल्याउँदा यातायात छैन । मान्छेसँग बोकाउँदा बजारमा पाइने स्याउको मूल्यभन्दा बढी ढुवानीमै जान्छ,’ उनले भने, ‘गत वर्ष हामीले बोटबाटै प्रतिकेजी १५ देखि २० रुपैयाँमा बेचेका थियौँ । यसबाट वर्षभरि गरेको कामको प्रतिफल शून्यजस्तै भयो ।’

हिमाली गाउँपालिका–६ मा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेका मोहनबहादुर रावत पनि समयमा स्याउ बजारमा पुग्न नसके किसानको मेहनत खेर जाने बताउँछन् । ‘समयमा स्याउ बजारमा गएन भने हामीले वर्षभरि गरेको मेहनत खेर जाने भयो । यहाँ स्टोर गर्ने कुनै ठाउँ छैन । बजारसम्म पठाउँदा यातायातको व्यवस्था छैन । बाटो बनाउनमा कसैको ध्यान छैन,’ उनले भने ।

सरकारी कार्यक्रमप्रति किसान असन्तुष्ट
किसानले कृषि क्षेत्रमा सरकारले लगानी गरे पनि वास्तविक किसानले त्यसको लाभ लिन नसकेको गुनासो गरेका छन् । ढुवानीमा दिइँदै आएको अनुदान निरन्तर नहुनु, अनुदान प्रक्रियामा कागजी झन्झट र पहुँचका आधारमा योजना छनोट हुने गरेको उनीहरूको आरोप छ ।

‘सरकारले हरेक वर्ष कृषि क्षेत्रमा लगानी गरेको भन्छ । चारो छरेझैँ गरेको लगानीको परिणाम आउँदैन । काम कम, कागज धेरै बनाउनुपर्ने बाध्यता छ । सामान्य नपढेका किसानका लागि यो साह्रै कठिन छ । त्यस कारण पनि साँच्चिकै किसानले सरकारबाट पाउने अनुदान पाउन सकेका हुँदैनन्,’ रावतले भने ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका पदमबहादुर शाहीले पहुँच हुनेले मात्र सरकारी योजना र अनुदान पाउने गरेको गुनासो गर्छन् । ‘हरेक वर्ष सरकारले लगानी गर्ने रकम भागबन्डामा विनियोजन हुने गर्छ । प्रदेशबाट आउने योजना तोकेर आउँछन् । जसको पहुँच भयो, जसको मान्ने ठाउँमा भयो उसले मात्र योजना पाउँछ र हरेक वर्ष अनुदान पाउँछ । दुःख गर्ने हामीजस्ता किसानलाई थाहै हुँदैन,’ उनी भन्छन् ।

बुढीनन्दा नगरपालिकाका वीरेन्द्र बोहराले स्थानीय तहदेखि प्रदेश र केन्द्रबाट आउने योजनामा राजनीतिक पहुँच हाबी हुने गरेको आरोप लगाए । ‘स्थानीय तहबाट जाने योजना त्यहाँ कसले जितेको छ, त्यसका कार्यकर्तालाई भोट दिएको आधारमा लगानी हुने गरेको हुन्छ । प्रदेश र केन्द्रबाट समेत त्यसरी नै योजना आउने गरेका छन्,’ उनले भने, ‘योजना हालिदिनेलाई यातायात खर्च र योजना छनोट गर्ने कर्मचारीलाई दारु र कुखुरा खुवाउन सक्नेले मात्र योजनाको रकम पाउने गरेका छन् । नत्र अरूले योजना कहाँ पाउने हुन् ?’

उत्पादनमा जलवायुको असर
किसानका अनुसार केही वर्षयता तापक्रम बढेका कारण पुराना स्याउ फल्ने बगैँचामा उत्पादन घट्न थालेको छ । जलवायु परिवर्तनको असरसमेत स्याउ खेतीमा देखिन थालेको उनीहरूको भनाइ छ ।

स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाका विभिन्न क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ । स्वामीकार्तिक खापर–३ जुकोट, वडा नम्बर १ र २ को साप्पाटा, हिमालीको धिम र पाडी, जगन्नाथको साविक जगन्नाथ गाविस क्षेत्र तथा बुढीनन्दाको साविक पाण्डुसैनमा प्रशस्त स्याउ फल्ने गरेको छ ।

स्याउ खेती विस्तारका लागि विश्व खाद्य कार्यक्रमलगायत गैरसरकारी संस्था तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयले समेत काम गरेका थिए । त्यसबाट किसानलाई स्याउ खेतीमार्फत आम्दानी गर्न सक्ने आधार बनेको स्थानीय किसान बताउँछन् ।

तर उत्पादनको आधार बनेपछि त्यसलाई बजारसँग जोड्ने सडक, ढुवानी, भण्डारण र मूल्य सुनिश्चित गर्ने व्यवस्था नहुँदा किसानमा निराशा बढ्दै गएको छ । किसानका अनुसार राज्यले अब नयाँ बगैँचा विस्तारमा मात्र होइन, उत्पादन भइसकेको स्याउ बजारसम्म पु¥याउने सडक, ढुवानी अनुदान, भण्डारण केन्द्र र बजार व्यवस्थापनमा प्राथमिकता दिन आवश्यक छ । उत्पादन बढाएर मात्र किसानको आय नबढ्ने भएकाले उत्पादित स्याउको उचित मूल्य सुनिश्चित गर्ने नीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

च्याम्पियन्स लिग : लिभरपुलको उत्कृष्ट पुनरागमन