भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालवीर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।

“जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,” अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका लालवीरले भने, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन ।”

हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन् ।

बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालवीरले संयुक्त गोठ बनाएका छन् । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्धारका तीन वटा भेडागोठ छन् । त्यहाँ करिब दुई हजार भेडा बाख्रा छन् । जेठमा लेक उक्लिएका गोठालाहरुलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरुले खाद्यान्न पुर्याइदिन्छन् ।

“घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोतनै भेडापालन हो,” लालवीरले भने “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए ।” सहरबजारको विलाशी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ । दौतरीहरु भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले बताए ।

विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालवीरले सुनाए । “छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरी बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,” उनले भने, “शरिर र स्वास्थ्यले साथ दिदाँसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ ।”

उनीसँगै कुनै समय पाँच सयभन्दा भेडाबाख्रा थिए । बार्षिक ५० वटासम्म भेडाका साँड, खसी र बोका बिक्री हुन्छ । जनै पूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बली चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन् । एक वटा साडको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ । दसैँतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ ।

सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनाँैसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन । मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल बजाउने गर्छन् । उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन् । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन् । एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन् ।

लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालविरले बताए । तापक्रम वृद्धिका कारण बिषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ । वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ