काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी, पहिरो तथा हिमपातको जोखिम औँल्याएपछि राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) ले सम्भावित विपद्बाट जोगिन पूर्वतयारीलाई प्राथमिकता दिन आग्रह गरेको छ।
बङ्गालको खाडीको पूर्वी भागमा विकसित न्यून चापीय मौसमी प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा प्रतिकूल मौसमको अवस्था सिर्जना हुन सक्ने भन्दै डिमानले सर्वसाधारण, स्थानीय तह तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई उच्च सतर्कता अपनाउन अपिल गरेको हो। डिमानका अध्यक्ष सूर्यबहादुर थापा र महासचिव विष्णुप्रसाद तिमिल्सिनाद्वारा जारी अपिलमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै समयमै आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।
केही समयअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदाय अझै कठिन परिस्थितिमा रहेका बेला पुनः वर्षा र बाढीको जोखिम बढेकाले थप संवेदनशील हुनुपर्ने डिमानले जनाएको छ। विपद्को जोखिम रहेका क्षेत्रमा समयमै पूर्वसूचना, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक उद्धार सामग्रीको तयारीलाई प्राथमिकता दिनुपर्नेमा सञ्जालले जोड दिएको छ।
डिमानले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न र मौसमको अवस्था प्रतिकूल भएका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। नदी तथा खोलानाला आसपासका क्षेत्र, पहाडी भिराला भूभाग तथा उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र आवश्यक परे समयमै सुरक्षित स्थानमा जान अपिल गरिएको छ।
सम्भावित जोखिमबाट बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलाजस्ता संवेदनशील समूह बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको सुरक्षामा विशेष ध्यान दिनसमेत डिमानले आग्रह गरेको छ।
यसैगरी, डिमानले आफ्ना सदस्य संस्था, नागरिक संघसंस्था तथा स्वयंसेवकहरूलाई स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ। सम्भावित विपद्को अवस्थामा सरकारी संयन्त्रसँग सहकार्य गर्दै समुदायस्तरमा आवश्यक सहयोग परिचालन गर्नुपर्ने सञ्जालको भनाइ छ।
विपद्को समयमा सूचना पनि जोखिम व्यवस्थापनको महत्वपूर्ण पक्ष भएकाले अफवाह तथा अपुष्ट सूचनाको पछि नलाग्न डिमानले सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी सूचना मात्र आधार बनाउन सञ्जालले अनुरोध गरेको छ।
आपतकालीन सम्पर्क नम्बर
जल तथा मौसम विज्ञान विभाग : ११५५
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी बल : १११४
राष्ट्रिय विपद् प्रतिकार्य समन्वय केन्द्र : ११४९
गृह मन्त्रालयको विपद् हेल्पलाइन : १२३४
सम्बन्धित समाचार
रोलिङ नेक्सस २३औँ वर्षमा प्रवेश, मानव संसाधन क्षेत्रमा सेवा विस्तार
माथिल्लो त्रिशूली–१ को सुरूङमा थप ७ शव फेला
नेवा: भोजमा जलवायु परिवर्तनको असर : स्वादसँगै संस्कृति र खाद्य सुरक्षाको सवाल
सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी
इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
भोटेकोशी बाढीमा सिन्धुलीका वेपत्ताको सामुहिक दाहसंस्कार
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ११ शव निकालियो, थप खोजी जारी






