कांग्रेस महाधिवेशनः ‘विधिको कांग्रेस’मा गगनको शक्ति परीक्षण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तल्लो तहदेखि नै नेतृत्वको शक्ति परीक्षण तीव्र बनेको छ ।

पार्टी सभापति गगनकुमार थापाले विगतमा व्यक्तिकेन्द्रित राजनीति र सभापतिको देवत्वकरणको विरोध गर्दै विधि, विधान र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका थिए ।

अहिले उनकै नेतृत्वमा भइरहेको महाधिवेशनको प्रारम्भिक प्रक्रियामा भने सभापति र उनको समूहको प्रभाव बढाउन संगठन तहमा सहमतिको नाममा प्रतिनिधि व्यवस्थापन गरिएको आरोप लाग्न थालेको छ ।

वडा र पालिका तहका अधिवेशनमा थापाको तस्वीरसहितका ब्यानर तथा प्रचार सामग्री देखिन थालेका छन् । तस्वीर राख्नु आफैंमा विधानविपरीत नभए पनि व्यक्तिभन्दा पार्टी र संस्थालाई प्राथमिकता दिने राजनीतिक संस्कारको वकालत गरेका थापाकै नेतृत्वमा व्यक्तिकेन्द्रित प्रचार बढेको विषय कांग्रेसभित्र बहसको विषय बनेको छ ।

महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा विभिन्न तहमा सर्वसम्मतिको अभ्यास भएको छ । संस्थापन पक्षले यसलाई सहमति र पार्टीभित्रको एकताको संस्कारका रूपमा व्याख्या गर्दै आएको छ । संस्थापनइतर पक्षले भने आफूअनुकूल प्रतिनिधि चयन गर्ने उद्देश्यले प्रतिस्पर्धालाई सीमित गरिएको आरोप लगाएको छ ।

विशेषगरी थापा नेतृत्वको विचार समूहमा लामो समयदेखि सक्रिय रहेका व्यक्तिहरूलाई विभिन्न तहमा प्रतिस्पर्धाबाट निर्वाचित हुनुपर्ने अवस्थालाई सहमतिका नाममा व्यवस्थापन गरिएको आरोप छ । यद्यपि देशभरका निर्वाचनको पूर्ण तथ्यांक सार्वजनिक नभएकाले यस्तो आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

प्रतिनिधि चयनमै सभापतिको परीक्षा
यसपटकको विधानगत व्यवस्थाले तल्लो तहको अधिवेशनलाई अझ महत्वपूर्ण बनाएको छ । यसअघि केन्द्रीय सभापति, पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेकामा अहिले उनीहरूले पनि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि बन्नुपर्ने व्यवस्था गरिएको छ ।

सभापति थापा काठमाडौं–४ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यही क्षेत्रमा महामन्त्री विश्वप्रकाश शर्मा भने झापा–१ बाट चुनाव लडेर महाधिवेशन प्रतिनिधि बनेका छन् ।

वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्छन् । अन्ततः यही प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने भएकाले तल्लो तहमा को प्रतिनिधि बन्छ भन्ने विषय नेतृत्वको शक्ति समीकरणसँग जोडिएको छ ।

कांग्रेसको आधिकारिक तथ्यांकअनुसार असोज ८ सम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । भारी वर्षाका कारण प्रभावित क्षेत्रमा क्षेत्रीय अधिवेशन असोज १३ भित्र स्थानीय अवस्था हेरेर सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षले वर्तमान महाधिवेशन प्रक्रियालाई चुनौती दिँदै समानान्तर अधिवेशनको तयारी अघि बढाइरहेको छ । देउवा पक्षले छुट्टै संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी गरेपछि कांग्रेसको विवाद तल्लो तहको प्रतिनिधि छनोटसम्म पुगेको छ ।

यसले थापा नेतृत्वको महाधिवेशनमा प्रतिनिधि व्यवस्थापन, संस्थापन र संस्थापनइतर समूहबीचको शक्ति सन्तुलन तथा पार्टीको आगामी नेतृत्व चयनलाई थप पेचिलो बनाएको छ ।

दुई दिन सर्यो महाधिवेशन
यसैबीच कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ । यसअघि असोज १६ गते उद्घाटन गर्ने तयारी रहेकामा अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन गर्ने निर्णय भएको छ ।

महाधिवेशनको मूल निर्वाचन कार्यतालिका भने यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको थियो ।

पालिका र क्षेत्रमा देखिएन वडाको जस्तो मिलन
१५औँ महाधिवेशनका लागि तल्लो तहको अधिवेशन चलिरहँदा वडा तहमा सहमतिको अभ्यास बलियो देखिए पनि पालिका र निर्वाचन क्षेत्रको नेतृत्व चयनमा भने निर्वाचन र गुटगत प्रतिस्पर्धा बढेको छ ।

क्रियाशील सदस्यताको विवाद भएका केही स्थानमा अधिवेशन नै रोकिएको छ भने कतिपय ठाउँमा झडपसमेत भएको छ ।

रोल्पामा ७२ मध्ये ६९ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । हिमाली तथा पहाडी जिल्लाका अधिकांश वडामा पनि सहमतिमै नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएको छ ।

पालिका तहमा भने तुलनात्मकरुपमा प्रतिस्पर्धा देखिएको छ । काठमाडौं महानगरमा सुशन वैद्य, ललितपुर महानगरमा राजु महर्जन र धरान उपमहानगरमा नरेन्द्रप्रसाद राईको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको छ । तर भरतपुर, पोखरा, हेटौंडा र बुटवल महानगर तथा उपमहानगरमा मतदानबाट नेतृत्व चयन भएको छ ।

भरतपुरमा १ हजार २३२ मत खसेको निर्वाचनमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित सभापति निर्वाचित भए । पोखरामा त्रिपक्षीय प्रतिस्पर्धाबाट सुरेन्द्रमान बिजुक्छे सभापति बने । हेटौंडामा रामकृष्ण कोइराला २८४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कविन सांगामीले २७५ मत पाए । बुटवलमा पनि मतदानबाट ज्योति भण्डारी सभापति निर्वाचित भएका छन् ।

क्षेत्रीय तहमा गोरखा, मनाङ र मुस्ताङलगायतका केही जिल्लामा गुटगत भागबण्डा मिलाएर सहमति गरिएको छ भने रुपन्देही, झापा, मोरङ र काठमाडौंका अधिकांश संघीय निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय कार्यसमिति चयनका लागि मतदान भएको छ ।

कतिपय स्थानमा क्रियाशील सदस्यताको विवादले अधिवेशन प्रक्रिया प्रभावित भएको छ । विराटनगर–६ मा सदस्यता नामावलीको विषयमा दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले हस्तक्षेप गगरेको छ ।

महोत्तरीको जलेश्वर–४ मा पुरानो र नयाँ सदस्यता सूची फरक परेको भन्दै निर्वाचन प्रक्रिया रोकिएको छ । पर्साका १४ वटै पालिकामा सदस्यता विवादका कारण पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेन । रोल्पाको थबाङका दुई वडा तथा लुङ्ग्री–३ मा पनि सदस्यता र आन्तरिक विवादका कारण अधिवेशन स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

२६ सय विन्दुमा ओर्लियो नेप्से