सुरक्षा निकायलाई १० करोडका उपकरण

काठमाडौं । बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला सञ्चार सञ्जाल अवरुद्ध हुँदा खोज तथा उद्धारमा हुने समस्या घटाउन नेपालका सुरक्षा निकायलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका सञ्चार उपकरण हस्तान्तरण गरिएको छ ।

हाइटेरा र नेपाली साझेदार अडिडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई बडी–वर्न क्यामेरा, पुश–टु–टक ओभर सेलुलर (पीओसी) रेडियो, ई–प्याक पोर्टेबल रिपिटर तथा तिनसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उपलब्ध गराएका हुन् ।

नियमित सञ्चार सञ्जाल नभएको वा विपद्का कारण नेटवर्क अवरुद्ध भएको क्षेत्रमा ई–प्याक रिपिटरबाट अस्थायी रेडियो सञ्चार स्थापना गर्न वा सञ्चारको पहुँच विस्तार गर्न सकिनेछ । यसले उद्धार तथा सुरक्षा टोलीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न सहयोग गर्नेछ ।

पीओसी रेडियोले सेलुलर नेटवर्कमार्फत ठूलो क्षेत्रमा समूहगत सञ्चार गर्न तथा प्रयोगकर्ताको स्थानसम्बन्धी जानकारी लिन सकिने व्यवस्था गर्छ । बडी–वर्न क्यामेराले फिल्डमा खटिएका सुरक्षाकर्मीको अडियो तथा भिडियो रेकर्ड गर्नेछ । प्रणालीअनुसार त्यस्तो विवरण नियन्त्रण कक्षमा प्रत्यक्ष पठाउनसमेत सकिने जनाइएको छ ।

उपकरणमार्फत विभिन्न सञ्चार प्रणालीलाई जोडेर केन्द्रीय कमाण्ड तथा नियन्त्रण कक्ष सञ्चालन गर्न सकिने बताइएको छ । विशेषगरी बाढी, पहिरो, भूकम्प र हिमाली क्षेत्रमा उद्धारका क्रममा नियमित सञ्चार माध्यम प्रभावित हुँदा यसको उपयोग हुने जनाइएको छ ।

सहयोगस्वरूप उपलब्ध गराइएकाले उपकरणको वास्तविक मूल्य तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई छुट्टाछुट्टै वितरण गरिएको परिमाण सार्वजनिक गरिएको छैन । अनुमानित मूल्य भने १० करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

दक्षिण कोरियाको सियोलस्थित हाइटेराका एसिया क्षेत्रीय प्रमुख निङ मा र अडिडेलका अध्यक्ष सञ्जय प्रधानसहितका प्रतिनिधिले संयुक्त रूपमा उपकरण हस्तान्तरण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालय समयमै वडासचिव निदाएको तस्वीर भाइरल