काठमाडौं । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आज बिहीबारदेखि लागू गरेको छ ।
चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन २८ हजार १२६ जनशक्ति परिचालित गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्रका चार हजार ५०० जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।
सशस्त्र प्रहरीले अन्तरराष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए ।
समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती सञ्चालन गरिएको छ भने झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठ तथा अन्य चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ ।
ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएका छन् ।
विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य वेश तथा १६ वटा स्थायी विपद् वेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल र मोबाइल तथा लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली तथा गोताखोरसहितका विपद् उद्धार टिमलाई २४सै घण्टा तैनाथ गरिएको छ ।
सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवश्यक गस्ती तथा समकक्षी सुरक्षा संगठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने सशस्त्रको योजना छ ।
संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सिसिटिभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
सम्बन्धित समाचार
मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि सशस्त्र प्रहरीको उच्च तयारी, ११ हजार बढी जनशक्ति परिचालन
सशस्त्र प्रहरीद्वारा तीन महिनामा मधेश प्रदेशबाट २७ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ
कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ
नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
सडक र विद्यालय बन्द, दर्जनौ बस्ती जोखिममा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर





