गुल्मी । लगातारको बर्षाले गुल्मीको जनजिवन प्रभावित बनेको छ । बुधबारदेखि परेको लगातार बर्षाका कारण जिल्लाका विभिन्न सडकहरु अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । त्यसैगरी खोलाहरु बढेका छन् भने विभिन्न बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।
बर्षाले प्रभावित जनजीवन
बर्षाको कारणले रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध भएको छ । सडक खण्डको चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभीर खण्डमा माथिबाट लेदोसहितको माटो खसेपछि सडक शुक्रबार दिउँसो ३ः३० बजेबाट अवरुद्ध भएको हो । बर्षाको कारणले कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ । कालिगण्डकी गाउँपालिकाको वडा नम्बर २ राक्सेमा पहिरो गएपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी विरेन्द्र विर विश्वकर्माले जानकारी दिए ।
उक्त सडक खण्डअन्तरगत पूर्तिघाट नजिकैको खोलाको बहाव बढेको कारण पनि यातायात ठप्प भएको छ । मदाने गाउँपालिका अन्तरगत रहेको ढोरपाटनसम्म जोड्ने सडक पनि एक घण्टाका लागि अवरुद्ध भएको थियो । शुक्रबार बिहान ८ बजे छेपारेपानीमा माथिबाट आएको पहिरोको कारण सडक अवरुद्ध भएको थियो । तर एक घण्टापछि स्कावेटरले पहिरो पन्छाएर सडक सुचारु गराइएको हो ।

बर्षाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पनि अत्यावश्यक बाहेकका सवारी आवत–जावतमा रोक लगाएको छ । प्रशासकीय अधिकृत कमल सेन ओलीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा असौज ९ गतेदेखि १२ गते बेलुकी ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन संचालनमा रोक लगाइएको जनाइएको छ । साथै अत्यावश्यक काम बाहेक घर बाहिर डिड्डुल नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
अत्याधिक बर्षा भएपछि पालिकाहरुले विद्यालय पनि बन्द गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, कालिगण्डकी गाउँपालिका, रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका लगायतका पालिकाले बिहीबार र शुक्रबार विद्यालयमा बिदा दिएका छन् ।
बर्षाकै कारण नेपाली काँग्रेसको अधिवेशन ११ गते सम्मका लागि स्थगित भएको छ । काँग्रेस गुल्मीले एक सूचना जारी गर्दै अधिवेशन गर्न बाँकी रहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन असौज १२ गते गर्ने जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए । काँग्रेसले ९३ वटै वडा र १२ पालिकाको अधिवेशन सम्पन्न गरेको छ । बर्षाकै कारण असौज ६ गतेदेखि चलिरहेको जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगिता पुल्चोक कप पनि १५ गतेसम्मका लागि स्थगित गरिएको क्लवका महासचिव उमेश पाण्डेले बताए ।
दर्जनौ बस्ती जोखिममा
बर्षाका कारण गुल्मीमा दर्जनौ बस्ती जोखिममा परेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित आवासको समेत स्थान तोकेको छ । धुर्कोट गाउँपालिकाका नयाँगाउँ, गोपे, रातामाटा र अजिमिरकोट उच्च जोखिममा रहेका छन् । रेसुङ्गा नगपालिकाको वडा नम्बर ३ भाडगाउँ, वडा नम्बर ६, १० र १४ को रातामाटा क्षेत्र जोखिममा परेका छन् । मुसिकोट नगरपालिकाको सिम्ले, जवाङ्ग, रङ्गनाम, मुरले, दरबारटोल, तोलादी, दजाकोट, अमलाबोट, आटियार, माझगाउँ, गुर्जाङ्ग, कल्लेनी, पौसियार, बसेरी, रुक्से, डासिकोटलाई जोखिमयुक्त क्षेत्र पहिचान गरिएको छ ।

सत्यवती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेक, वडा नम्बर २ को चेहेमी, वडा नम्बर ४ को लिम्घा, वडा नम्बर को हँसरा र वडा नम्बर ६ को अश्लेवा पहिरोको जोखिममा रहेका छन् । मदाने गाउँपालिकाको अग्लुङ्ग, निपाने, ओख्लेदह, रघुवाफेदी, पैयापाटा, झ्यानपानी, बाँझकटेरी, थाप्ताकोचौर, होल्वाङ्ग, पञ्चमीपोखरी, रोटपानी, बसुन्धरा, काउले, सिर्सेनीको लम्पुन, तोरेटा, म्यालपोखरीको घरीथाना, झाँक्रिसल्ला, विरौटा, पुर, खाक्सिपाटा, पातलकटेरी, मूलपानी, पुर्कोट दहको न्वारभुल्के, रानीवन, दिप, भनभनेको तिम्ले, भीरकाटेरी र टिमुरखर्क क्षेत्रलाई पहिरोको जोखिमयुक्त क्षेत्रको रुपमा उल्लेख गरिएको छ ।
छत्रकोट गाउँपालिकाको फुत्तुङ्ग, सत्यवती, कोटाग्दी, टुनिखर्क क्षेत्र, चुरचुरे रातो डाँडा, बुटिल सेल्फुक, अर्गल अवलाटोल सडक क्षेत्र, मथुरे, काभ्रे, दुम्सिकोट, हर्दिनेटा चौपारी सडक क्षेत्र, कालिकानगरदेखि म्यालपोखरी, देवलडाँडा, घलाम, बासखर्क, अमराई, लम्सेक, बिसौना सडक क्षेत्र, गैरीखुट्टा, आमपोखरी, गल्फाकोट सडक क्षेत्र, गैरी खुट्टा चासीगैरा, चुँदरी थुम, ढकान सडक क्षेत्र जोखिमयुक्त क्षेत्र रहेका छन् । त्यसैगरी रुरुक्षेत्र गाउँपालिकाको १ रिडी बजार र वडा नम्बर ६ रिमुवा क्षेत्र, कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ४ पूर्तिघाट क्षेत्र, गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ५ देविस्थान क्षेत्र र वडा नम्बर १ बलिथुम पहिरोको जोखिममा रहेका छन् ।
इस्मा गाउँपालिकाको बहुवा, अंगारे, भ्यूटारी, कडेनी, हस्तिचौर, मल्दी, जुकेपानी, रातडाँडा, दोवाटा, सिर्सेपानी, बोरापानी आसपासका क्षेत्रहरु पहिरोको जोखिममा रहेका छन् । मालिका गाउँपालिकाको नेटा, दर्लिङ्ग, मिहाल, जुकेना, परिछारे, काभ्रावाङ्ग, घोरपानी, आठमिरे, गडेरा, सिग्रेठाँटी, काफलपाटा, राकोचौर, भेडाखोर, पुरनपानी, कुसेपानी, सिर्कना, तातापानी, इजरा र कमिरेडाँडा जोखिममा रहेका छन् ।
त्यसैगरी चन्द्रकोट गाउँपालिकाको सराङ्ग, सोता, दह, करौदीप बस्ती, पैयाँ डाँडा, पदमखानी, सुनारटोल, बजेनी, काप्राबोट, गैरीढाव, धुवाखर्क, काउले, पेक्सर पाटा, मसरा, सोमरा, कुडापानी, क्वाङ्गदी, एक्लेपिपल, कालिपोखरा, बोटेगाउँ, राब, तुथुङ्ग बस्ती, ढाव, रेमी, डाँडाबन, खादीकोट, नेटाकापोखरा, रैकर र रुपाकोटलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रको रुपमा पहिचान गरिएको छ ।
सम्बन्धित समाचार
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम १ असोजमा घोषणा हुने
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
सडक निर्माणमा ठेकेदारको मनपरी, बाँस र प्लाइले छोपियो ह्युम पाइप
काठमाडौंको दुई ठाउँमा छापा, २ हजार ७७० थान भेपसहित चार जना पक्राउ
आजको विदेशी मुद्राको विनिमयदर : चिनियाँ युआन मजबुत, जापानी येन कमजोर
जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ






