बिहानको करिब करिब १० बजेको हाराहारी केही विद्यार्थीहरू नर्सिङ तथा परामर्श कक्ष अगाडि उभिएका हुन्छन् । के भयो नानीबाबु ? स्वभाविक प्रश्न आउँछ । कतिपय टाउको दुखेको, पेट दुखेको ,रिंगटा लागेको, घाउचोट लागेको, महिनावारी भएर प्याड चाहिएकोजस्ता गुनासाहरु लिएर विद्यार्थी नर्सिङ कक्षा अगाडि हुन्छन् । विद्यालय नर्सले परामर्श प्रदान गर्दै मिलेसम्मको औषधि सेवा दिएको देखिन्छ । यसबाट कतिपय छात्राहरुमा महिनावारीको बेलामा देखिने समस्याहरु समाधान गर्नुहोस् या प्याड प्रयोगको लागि होस्, अत्यन्तै राम्रो भएको देखिन्छ । सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरू नजिकैको क्लिनिक वा अस्पतालमा गएर जचाउन नसक्ने खालका पनि हुन्छन् । त्यस्तो अवस्थामा विद्यार्थी बिरामी भएमा घरमा बस्दैनन् ।
विद्यालय आउन रहर गर्छन । यसबाट सकारात्मक सन्देश के गएको छ भने नियमित कक्षाकोठामा अन्य विषयको पढाइ भएजस्तै प्राथमिकताका साथ विद्यालय नर्स सम्बन्धी व्यवस्था गर्नुपर्छ । बागमती प्रदेश सरकारले जुन अभ्यास सुरु गर्यो, त्यो सकारात्मक अभ्यास अहिले धेरैतिर फैलिरहेको छ । संघीय सरकारले पनि विद्यालय कार्यविधि बनाएको छ । बागमती प्रदेश सरकारले यस आर्थिक वर्षका लागि पनि यो कार्यक्रमलाई निरन्तरता दिएको छ र क्रमश स्थानीय तहमा हस्तान्तरण गर्ने नीति बनाएको छ ।
अब दीर्घकालीन व्यवस्थापन खोज्न जरुरी छ । नर्सहरुलाई निश्चित प्रक्रिया पूरा गरी स्थायी सेवातर्फ लैजानुपर्दछ । उमेर छन्जेल करारमा राख्ने र उमेर सकिएपछि घर पठाउन सामाजिक न्यायका सिद्धान्तले राम्रो मानिँदैन । तसर्थ अब निश्चित प्रक्रियाहरु अगाडि बढाएर विद्यालयमा शिक्षकको व्यवस्थापन गरेजस्तै विद्यालय नर्सको पनि उचित दीर्घकालीन व्यवस्थापन गर्ने बेला आएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ बाट यो कार्यक्रम पाइलट प्रोजेक्टको रूपमा सुरु गरेको हो । हाल यसलाई विस्तार गर्दै प्रदेशका सयौँ सामुदायिक माध्यमिक विद्यालयहरूमा लागू गरिएको छ ।
उदाहरणका लागि ललितपुरमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । गत असार महिनामा मात्र हजारौँ विद्यार्थीले स्वास्थ्य सेवा पाएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा लागू यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको असार मसान्तसम्म ३९ जना विद्यालय नर्सहरू कार्यरत छन् । स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी असार २०८३ को मासिक प्रगति विवरण अनुसार यस अवधिमा जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी तथा शिक्षकहरूले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गरेका छन् । असार महिनामा मात्रै शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययनरत जम्मा २,९८७ जना विद्यार्थीहरूले विद्यालय क्लिनिकमार्फत स्वास्थ्य सेवा लिएका छन्, जसमध्ये १,५०७ छात्रा र १,३८० छात्र रहेका छन् ।क्लिनिकबाट विद्यार्थीका अतिरिक्त ५८९ जना शिक्षक, अन्य कर्मचारी र अभिभावकहरूले समेत स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाको उचाइ र तौलका आधारमा पोषणको स्थिति लेखाजोखा गर्नुका साथै आँखा र दाँतको विशेष स्वास्थ्य परीक्षण गरिएको छ । वातावरणीय सरसफाइका लागि विद्यार्थी परिचालन (जम्मा १२९९), स्वास्थ्य शिक्षा कक्षा, अभिभावक तथा शिक्षकहरूसँग अन्तरक्रिया र स्वास्थ्यसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ । विद्यालयको स्वास्थ्य क्लिनिकमार्फत सिटामोल ओ.आर.एस. , रानिटिदिन, एन्टासिड तथा स्यानिटरी प्याडहरू नियमित रूपमा वितरण हुने गरेको स्पष्ट छ ।
विद्यालयमै नर्सको उपस्थिति भएपछि सामान्य बिरामी पर्दा वा महिनावारीको समयमा विद्यार्थीहरूलाई अन्यत्र जान नपर्ने र उनीहरूको नियमित पठनपाठनमा समेत सकारात्मक सहयोग पुगेको विद्यालयहरूले जनाएका छन् ।
यस कार्यक्रम अन्तर्गत योग्य स्टाफ नर्सहरूलाई सामुदायिक विद्यालयमा करार सेवामार्फत खटाउने गरिएको छ । विद्यालय नर्सले विद्यार्थीहरूलाई सामान्य स्वास्थ्य परीक्षण, प्राथमिक उपचार स्वास्थ्य शिक्षा, सरसफाइ प्रवद्र्धन, पोषण र मानसिक स्वास्थ्य परामर्शसम्बन्धी सेवा प्रदान गर्दछन् ।
विद्यालयमा कतिपय अवस्थामा खेलकुद कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरु घाइते हुने गरेका छन् । त्यस्ता विद्यार्थीहरुलाई तत्काल उपचारका लागि नर्सिङ सेवा सही विकल्प हुन सक्छ । विद्यालयमा नर्सिङ सेवा यस्तो अवस्थामा पुगेको छ कि अब सरकारले वा कसैले चाहेर पनि यो फिर्ता गर्न वा रोक्न सक्दैन । र हुँदैन पनि किनकि यो विद्यालयको एक अभिन्न अङ्ग बनिसकेको छ । यसलाई त थप व्यवस्थित, समयनुकुल र अझ प्रविधिमैत्री बनाउन जरुरी छ । खेलकुद वा अन्य क्रियाकलापका क्रममा विद्यालयमै हुने सानातिना चोटपटक, बेहोस हुने समस्या, टाउको वा पेट दुख्ने समस्याहरूमा तत्काल उपचार गर्न, किशोरीहरूका लागि महिनावारी स्वच्छता व्यवस्थापन व्यक्तिगत सरसफाइ र स्वस्थ खानपानसम्बन्धी जनचेतना फैलाउन यो सफल कार्यक्रम हो ।
किशोर अवस्था एक जटिल अवस्था हो ।यस्तो अवस्थामा विद्यालयमा एक परामर्शकर्ता आवश्यक पर्छ ।सक्षम विद्यालय नर्सले दुवै सेवा प्रदान गर्ने भएकाले यो सामुदायिक विद्यालयका लागि महत्वपूर्ण अवसर पनि हो । किशोर अवस्थाका मानसिक संवेगलाई नियन्त्रण गर्न नर्सहरूको भूमिका प्रशंसा योग्य छ । किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तनका कारण उत्पन्न हुने अन्योल, तनाव र मानसिक स्वास्थ्य समस्या पहिचान गरी मनोसामाजिक परामर्श दिन सफल विद्यालय नर्सलाई उचित अवसर दिनुपर्छ । कुपोषित बालबालिकाको पहिचान, लागुपदार्थ दुव्र्यसन तथा धूमपान÷मदिरापान जस्ता कुलतविरुद्ध विद्यार्थीहरूलाई सचेत गराएर नवीनतम समाज विद्यालय नर्सले बनाएका छन् ।
यस सेवाले बागमती प्रदेशका सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अनुपस्थिति दर घटाउन, स्वास्थ्यसम्बन्धी ज्ञानमा वृद्धि गर्न र उनीहरूको पठनपाठनमा सकारात्मक योगदान पु¥याएको छ । दुर्गम तथा ग्रामीण भेगका विद्यालयहरूमा समेत स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न यो कार्यक्रम अत्यन्त प्रभावकारी साबित भएको छ । यो कार्यक्रम सुरुवाती आर्थिक वर्षमा थोरै विद्यालयबाट पहिलो वर्ष १२१ वटा विद्यालयबाट थालिएको थियो ।
यसलाई चरणबद्ध रूपमा विस्तार गर्दै बागमती प्रदेशका लगभग ८४८ वटाभन्दा बढी सामुदायिक विद्यालयहरूमा पु¥याइएको छ । प्रदेशका १३ वटै जिल्लाका सामुदायिक विद्यालयहरू (विशेष गरी काठमाडौं, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, मकवानपुर ,ललितपुरलगायतका जिल्लाहरूमा बढी संख्यामा) यो सेवा प्रभावकारी रूपमा सञ्चालनमा छ । आवश्यकताअनुसार थप विद्यालयहरूमा नर्सहरूको विज्ञापन तथा पदपूर्तिको प्रक्रिया निरन्तर अघि बढाएर अब स्थायी गर्नुपर्छ । प्रदेश सरकारले यस कार्यक्रमको महत्वलाई मध्यनजर गर्दै करोडौँ रुपैयाँ बजेट विनियोजन गरेर विद्यालय नर्सहरूको तलब, औषधि तथा प्राथमिक उपचार सामग्रीको प्रबन्ध गर्दै आएको छ ।
निष्कर्षमा यो बागमती प्रदेश सरकारको अत्यन्तै सफल अभ्यास हो ।यसलाई सबै प्रदेश ,सबै जिल्लामा पुर्याउनुपर्छ । देशभित्र नै नर्सहरूको वा स्वास्थ्यकर्मीहरूको उचित सेवा र पारिश्रमिक दिएर व्यवस्थापन गर्न सकिन्छ । कतिबेला ,कुनबेला जागिर जान्छ भन्ने मानसिक डरमा होइन ,पूर्णतया ढुक्कका साथ आफ्नो सेवा दिन सक्ने वातावरण बनाउन जरुरी छ ।सबै स्थानीय तहहरू विद्यालय नर्स सेवालाई जिम्मा लिन सक्षम हुन्छन् भन्ने छैन । बरु यसलाई संघीय सरकारले आफ्नो जिम्मामा लिएर देशैभरका सामुदायिक विद्यालयमा पुर्याउनु पर्दछ । सामुदायिक विद्यालयमा दिनानुदिन घट्दो विद्यार्थी संख्या वृद्धि गर्न ,शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्न र देशभित्रै जनशक्तिको व्यवस्थापन गर्न यो कार्यक्रम वरदान साबित हुनेछ ।







