एन्फा अध्यक्षसहित चार जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतोको मुद्दा

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले बिहीबार ललितपुर जिल्ला अदालतमा एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

प्रतिवादीमध्ये कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । एन्फामा भएको आर्थिक अनियमितता, म्याच फिक्सिङ (खेल मिलेमतो) र फिफा विश्वकपका टिकटको अपचलनसम्बन्धी आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट रु. ९३ लाख ९०० बिगो तथा क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । एन्फामा भएको आर्थिक अनियमिततालगायत विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो ।

अभियोगपत्रअनुसार फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोटअन्तर्गत सन् २०२४ मार्च २१ मा काठमाडौँको दशरथ रङ्गशालामा हुनुपर्ने नेपाल र बहराइनबीचको खेल नियतवश बहराइनमा सारिएको आरोप छ । उक्त खेल बहराइनमा आयोजना गरेबापत त्यहाँको फुटबल सङ्घबाट एन्फाले टिकट बिक्रीको राजस्वस्वरूप पाउनुपर्ने २० हजार अमेरिकी डलर संस्थाको बैंक खातामा दाखिला नगरी अपचलन गरिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै, रु. १० लाखभन्दा बढीको खरिदमा अनिवार्य रूपमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था भए पनि एउटै स्वामित्वका तीनवटा नक्कली फर्म खडा गरी कोटेसनमार्फत खेल सामग्री खरिद गरिएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख छ । एन्फाको आर्थिक कार्यविधि, २०७५ अनुसार रु. १० लाखभन्दा बढीको खरिदमा टेन्डर प्रक्रिया अपनाउनुपर्ने व्यवस्था छ ।

फिफाले सन् २०२६ को विश्वकपका लागि एन्फालाई उपलब्ध गराएका ३३० थान अनलाइन टिकट पारदर्शी रूपमा वितरण नगरी कालोबजारी तथा व्यक्तिगत किनबेच गरिएको आरोप पनि लगाइएको छ । यसैगरी, शेर्पा आउटडोरसँग भएको प्रायोजन सम्झौताबमोजिम एन्फाको खातामा जम्मा हुनुपर्ने रकममध्ये रु. २५ लाख महासचिव राईले व्यक्तिगत रूपमा बुझेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईका हकमा अदालतबाट म्याद जारी गर्न सरकारी वकिलको कार्यालयले अनुरोध गरेको छ । चारै जनाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा परिभाषित खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर गरेको भन्दै ऐनको दफा ३२ (ग) बमोजिम सजाय माग गरिएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा उपदफा (३) (क) बमोजिम सजायको मागदाबीसमेत गरिएको छ ।

अभियोगपत्रमा एन्फालाई अमेरिकी डलर ५० हजारको नेपाली रुपैयाँ बराबर रु. ६६ लाख ५३ हजार ९०० र अमेरिकी डलर २० हजारको नेपाली रुपैयाँ बराबर रु. २६ लाख ४७ हजार क्षतिपूर्ति भराउन माग गरिएको छ । सन् २०२४ मार्च ४ को विनिमय दरअनुसार प्रतिअमेरिकी डलर रु. १३२.३५ कायम गरी कुल रु. ९३ लाख ९०० क्षतिपूर्ति माग गरिएको हो ।

त्यसैगरी, अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गराउन पनि माग गरिएको छ ।

अन्य पदाधिकारी, कर्मचारी वा व्यक्तिको संलग्नता रहेको तथ्य प्रमाणसहित खुलेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी लिइने अभियोगपत्रमा उल्लेख छ । प्रतिवादीहरूले कसुरबाट आर्जित सम्पत्ति अन्यत्र प्रयोग गरेको तथ्य प्रमाणबाट पुष्टि हुने अवस्था देखिएमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत थप अनुसन्धान गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचाबाट २४ जना कोरियाली नागरिक पक्राउ, धार्मिक गतिविधिवारे अनुसन्धान हुँदै